कालोसूचीमा पर्नेको संख्या बढ्दा कर्जा सूचना केन्द्रको नाफा ३‍.३६ गुणाले बढ्यो



काठमाडौं । विभिन्न कम्पनी तथा व्यक्तिहरूले समयमा कर्जा नतिर्दा कालोसूचीमा परेपछि कर्जा सूचना केन्द्रको आम्दानी ह्वात्तै बढेको छ । विगत ५ वर्ष यताको तथ्याङ्क हेर्दा केन्द्रको नाफा ३.३६ गुणाले बढेको छ ।

कालोसूचीमा पर्नेको सङ्ख्या बढेसँगै केन्द्रको चुक्ता पुँजी भन्दा नाफा निकै बढेको छ । गत आवको असार मसान्तसम्म केन्द्रको चुक्ता पुँजी ४३ करोड ६२ लाख ५३ हजार रुपैयाँ रहेको थियो भने नाफा बढेर ४८ करोड ४७ लाख ७७ हजार ७७ रुपैयाँ पुगेको छ ।

विगत ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने प्रत्येक वर्ष केन्द्रको नाफा निकै बढ्दै गएको छ ।

विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७३/७४ मा केन्द्रको नाफा १४ करोड ४१ लाख ७५ हजार ५०५ रुपैयाँ रहेको थियो । आव २०७४/७५ मा आइपुग्दा नाफा बढेर २० करोड १ लाख २९ हजार ९८८ रुपैयाँ पुगेको थियो ।

केन्द्रका अनुसार आव २०७५/७६ मा २७ करोड ७५ लाख ७८ हजार २०५ रुपैयाँ रहेको थियो भने आव २०७६र०७७ मा ३३ करोड १० लाख २ हजार ४५८ रुपैयाँ रहेको छ ।

केन्द्रका अनुसार गत आवको अन्तिमसम्म आइपुग्दा सञ्चालन मुनाफा ६० करोड २ लाख ३० हजार ३७२ रुपैयाँ रहेको छ । केन्द्रको सम्पत्ति १ अर्ब ७१ करोड ९७ लाख २२ हजार ७९३ रुपैयाँ रहेको छ ।

केन्द्रले गत असार मसान्तसम्म १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ रहेको छ । केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा १६ हजार ९८७ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने गरेको छ ।

बैङ्कले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।

बैङ्कले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा सूचना लिनुपर्ने छ ।

यसरी कर्जा सूचना माग भएको खण्डमा कर्जा सूचना केन्द्रले बढीमा ३ कार्य दिनमा कर्जा सूचना उपलब्ध गराउनु पर्नेछ । कर्जा सूचना केन्द्रमा २५ वटा वाणिज्य बैङ्क, लुम्बिनी र महालक्ष्मी विकास बैङ्क तथा १५ वटा फाइनान्स कम्पनी आबद्ध छन् ।


क्लिकमान्डु