मन्त्री आलेले अश्लिल बोल्दै गाली गरेको भिडियो भाइरल भएपछि सचिवालयले भन्यो- एडिट गरियो !




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले एक जनालाई पटक-पटक अश्लिल बोल्दै गाली गरेको भिडियो सामाजिक सञ्चाल फेसबुकमा भाइरल भएपछि उनको सचिवालयले स्पष्टिकरण दिएको छ ।

आलेलाई उत्तेजित पारेर एक वर्षअघि गरेको कुराकानीलाई अहिले आएर एडिट गरेर भिडियो सार्वजनिक गरेको सचिवालयको आरोप छ । ओलीले हुदो राति आफ्नो फेसबुकमा भिडियो अपलोड गरेका छन् ।

भिडियोमा शुरुमा राम्रो बोलेपनि केही समयपछि मन्त्री आलेले अश्लिल बोल्दै तलाई जहाँबाट भए पनि उठाइदिनु भनेका छन् । उक्त व्यक्तिले आफू मुम्बईको अन्धेरी भएको र सके उठाउन समेत भनेको सुन्न सकिन्छ ।

‘भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रुपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले निरन्तर रुपमा ब्ल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उहाँलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको हो, मन्त्री आलेको सचिवालयले दाबी गरेको छ ।

सचिवालयका अनुसार उक्त कुराकानी एक वर्ष अघि गरिएको थियो ।

एक वर्षअघि आलेसँग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैयाँ माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीको जिकिर छ ।

‘निरन्तर रुपमा मन्त्री आलेलगायतका नेताविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक-पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उनलाई हप्काएको सचिवालयको भनाइ छ ।

मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र उक्त कार्यका विरुद्ध कानूनी उपचार खोज्ने रेग्मीले बताए ।

‘मन्त्रीज्युलाई षडयन्त्रपूर्वक भिडियो बनाएर बद्नाम गर्ने/गराउने काम भएको छ, कानूनी उपचार खोज्छौँ,’ उनले भने ।

ओलीले ब्ल्याकमेल गर्दै आएको र उनलाई पटक-पटक सम्झाउदा बुझाउँदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको प्रमुख स्वकीय सचिव रेग्मीको आरोप छ ।

भारतमा बसेर मन्त्री आलेलाई सामाजिक सञ्जालमा गाली गलौच गर्नुका साथै पटक-पटक मानसिक तनाव दिनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले मन्त्री आले समाजवादी पार्टीमा प्रवेश गरेपछि एक वर्षअघि भएको संवाद हाल सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ ।

निरन्तर रुपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको सचिवालयको आरोप छ ।

जगत ओलीको फेसबुकमा नेपाली कांग्रेस, नेकपमा समाजवादी एकीकृत, माओबादी केन्द्रका नेताहरुलाई गाली तथा अश्लिल कमेन्ट गरेका पोस्टहरु देख्न सकिन्छ ।


क्लिकमान्डु