लक्ष्यभन्दा बढी राजस्व संकलन, बेरुजु फछ्र्यौटतर्फ अवस्था निकै कमजोर



काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती चरणबाटै उच्च आयात निर्यात हुँदा सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार विभागको अर्धवार्षिक प्रतिवेदनले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको देखाएको छ ।

सरकारले चालु आर्थिक वर्षको अर्ध वार्षिकमा २ खर्ब ६२ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, उच्च रुपमा आयात निर्यात हुँदा सो लक्ष्यलाई उछिन्दै सरकारले २ खर्ब ७१ अर्ब १५ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । विभागका अनुसार ६ महिनाको अवधिमा १०३.१५ प्रतिशतले प्रगति भएको हो ।

विभागले राजस्व संकलनतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन गरेपनि वेरुजु फछ्र्यौटतर्फ निकै कमजोर अवस्था देखिन्छ । विभागले वेरुजु फछ्र्यौटतर्फ चालु आवको अर्ध वार्षिकसम्ममा १ अर्ब ५ करोड २१ लाख रुपैयाँको लक्ष्य राखेको थियो । तर, सो अवधिमा विभागले ३३ करोड ९४ लाख रुपैयाँको मात्रै वेरुजु फछ्र्यौट गर्न सफल भएको छ । जुन लक्ष्यको ३२.२५ प्रतिशत मात्रै हो ।

विभागले ६ महिनाको अवधिमा १ अर्ब ४९ करोड २३ लाख रुपैयाँको प्रतिवेदन मूल्यसहित ९ हजार ५७ मुद्दा दर्ता भएको जनाएको छ । उक्त दर्ता भएको मुद्दामध्ये विभागले ५३ करोड २५ लाख रुपैयाँको प्रतिवेदन मूल्यसहित ५ हजार १ सय ३७ मुद्दा फछर्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, विभागले १८ करोड ४१ लाख रुपैयाँ बराबरको ४ हजार ५ सय ८९ वस्तुको लिलाम गरेको जनाएको छ । ६ महिनाको अवधिमा विभागले १०७ वटा कन्टेनरको जाँचपासपछिको परीक्षण गर्दा थप १ करोड ८९ लाख रुपैयाँ राजस्व निर्धारण भएको छ ।

६ महिनाको अवधिमा ६९ वटा भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गरेको प्रतिवेदनमा उल्लेख छ । विभागले वण्डेड वेयर हाउसको ९६ वटा इजाजतपत्र नविकरण गरेको थियो भने २४ वटा वण्डेड वेयर हाउसको नयाँ इजाजतपत्र वितरण गरेको जनाएको छ । साथै, विभागले डब्लूएएन अनुगमनबाट १० करोड २४ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ ।


क्लिकमान्डु