चोभार सुक्खा बन्दरगाह सञ्चालनमा पूर्णता पाउँदै, २९ जना कर्मचारीको दरबन्दी स्वीकृत



काठमाडौं । करिब ६ महिनाअघि निर्माण कार्य सम्पन्न चोभार सुख्खा बन्दरगाहले अब पूर्णता पाउने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिएको बन्दरगाह सञ्चालनका लागि सरकारले तीव्ररुपमा कार्य अगाडि बढाएको छ ।

सरकारले पहिलो पटक काठमाडौंमा अत्यांधुनिक सुख्खा बन्दरगाहको रुपमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य गत साउनमै सम्पन्न गरेको थियो । समितिले यसअघि कार्यविधि कार्यान्वयनमा आएमा दशैं अगाडि नै सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, कार्यविधि जारी नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

कुनै पनि सुक्खा बन्दरगाह सञ्चालनमा लागि भन्सार विभागबाट कार्यविधि जारी गर्नुपर्छ । उक्त कार्यविधिको आधारमा बन्दरगाह सञ्चालन हुने गर्दछ । तर, निर्माण कार्य सम्पन्न भएपनि हालसम्म कार्यविधिको टुङ्गो नलाग्दा सञ्चालनमा आउन नसकेको यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले जानकारी दिए । उनकाअनुसार समितिले गर्नुपर्ने कार्यको सम्पूर्ण तयारी भइरहेको छ । सञ्चालनका लागि भन्सार विभागको निर्णय कुरिरहेका छौं ।

समितिले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षाकर्मी सेवा करारमा ३३ जना कर्मचारीको माग गरेको छ । जसमा समितिले बन्दरगाहमा सुरक्षा व्यवस्था गर्न बढीमा एक वर्षका लागि सुरक्षाकर्मीहरूको सेवा करारमा माग गरेको हो ।

त्यस्तै, समितिले बन्दरगाहमा आवश्यक कन्टेनरबाट मालबाहक लोडिङ/अनलोडिङ गर्ने कार्यका लागि दरखास्त दिन आह्वान गरिसकेको छ ।

समितिले २० फिट कन्टेनरबाट मालसामान लोडिङ÷अनलोडिङको लागि अधिकतम १८ सय ७० रुपैयाँ र ४० फिट कन्टेनरबाट मालसामान लोडिङ/अनलोडिङको लागि अधिकतम २२ सय रुपैयाँ दररेट नघट्ने गरी कार्य गर्न सरकारबाट इजाजत प्राप्त कम्पनीलाई दरखास्तको आह्वान गरिसकेको छ ।

‘समितिले बन्दरगाहका लागि आवश्यक सम्पूर्ण तयारी गरिरहेका छौं,’ गजुरेलले भने । समितिले भन्सारको निर्णय र कार्यविधिका कारण सञ्चालनमा आउन नसकेको बताउँदै आएको छ ।

तर, यता भन्सार विभागले भने विभागले गर्दा मात्रै कार्य नरोकिएको बताएको छ । विभागले सम्पूर्ण तयारी गरिसकेको छ । त्यसमा मन्त्रालयबाट स्वीकृत हुनुपर्ने भएकाले मन्त्रालयको आदेश कुरिरहेको भन्सार विभागका सुचना अधिकारी पुण्य बिक्रम खड्का बताउँछन् । उनकाअनुसार भन्सार विभागले कार्यविधि तयार गरिसकेको अवस्था छ । साथै, विभाग कार्यविधिको सुचना निकाल्ने चरणमा छ ।

‘विभागले कार्यविधि तयार गरिसकेको छ,’ उनले भने, ‘विभाग र विकास समितिबीच छलफल भइरहेको छ । जसमा मन्त्रालयबाट आदेश आएमा कार्यविधि राजपत्रमा जारी गर्नेछौं ।’ बन्दरगाह सञ्चालनका लागि माथिल्लो तहबाट टुङ्गो लाग्यो भने छिट्टै सञ्चालनमा आउन सक्ने उनको दाबी छ ।

‘सवारी साधनमा लाग्ने जीपीएस र टेक्निकल क्षेत्रमा कसरी कार्य गर्ने भन्ने विषय छ । कुन भन्सारबाट आएको मालबाहक गाडी काठमाडौंमा जाँचपास गर्ने विषयमा मन्त्रालयमा छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने ।

२९ जना कर्मचारीको दरबन्दी स्वीकृत
हाल यहि मितिबाट सञ्चालनमा ल्याउँछौं भन्ने कुनै टुङ्गो नलागे पनि भन्सार विभाग र विकास समितिबाट गठित स्टेरिङ कमिटिले सञ्चालनका लागि तयारी गरिरहेका छन् ।

त्यसैगरी, भन्सार विभागले कर्मचारीको दरबन्दी भने प्राप्त गरिसकेका छन् । जसमा विभागले २९ जना कर्मचारीको दरबन्दी स्वीकृत भई आएको विभागका सुचना अधिकारी खड्काको भनाइ छ ।

‘मन्त्रालयबाट भन्सारलाई आवश्यक २९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएर आइसकेको छ,’ उनले भने ।

हाल सरकारले नयाँ कर्मचारी आह्वान गर्नेभन्दा भएकै कर्मचारीलाई परिचालन गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु