राजस्व चुहावट रोक्न प्रहरी प्रशासनलाई अर्थमन्त्री शर्माको आग्रह



काठमाडौं । राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । उनले राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिए । ‘राजस्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रणको कार्य आजको आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि बताए ।

राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उनले बताए । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ । यद्यपि हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताए ।

मन्त्री शर्माले कतिपय राजस्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औँल्याए । त्यसैले सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उनले बताए । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

उनले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने बताए । पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजस्व चुहावटका घटनाहरू बढेको बताए ।

क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेको भन्दै यससँगै खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएको बताए । भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको उनको तर्क छ ।


क्लिकमान्डु