विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने



काठमाडौं । सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । यसका सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

साथै, सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने समेत निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ ।

साथै। नेपाल खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।

उनले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णय समेत भएको जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले कच्चा दुधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय समेत गरेको उनले बताए ।

प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।


क्लिकमान्डु