देउराली जनता फार्माको बाउन्स ब्याक, पौने ३४ करोडले बढ्यो व्यापार



काठमाडौं । देउराली जनता फार्मेसीको व्यापार एक वर्षमा करिब ३४ करोड रुपैयाँले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनता फार्मेसीले सन् २०२१ मा ३३ करोड ८० लाख रुपैयाँले बढेको हो ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ५३ करोड ४० लाख ५० हजार रुपैयाँको व्यापार गरे पनि सन् २०२० मा कोरोना महामारीका कारण व्यापार करिब ३४ करोडले कमी आएर १ अर्ब १९ करोड ६० लाख ४० हजार रुपैयाँमा सीमित भएको थियो ।

कम्पनी सन् २०२१ मा व्यापारमा बाउन्स ब्याक गर्दै १ अर्ब ४६ करोड ९० लाख १० हजार रुपैयाँको व्यापार गर्न सफल भएको छ । कम्पनीले सन् २०२१ मा आफ्नो कारोबारमा राम्रो प्रदर्शन गर्दै २२.७९ प्रतिशतले वृद्धि गरेको छ । सन् २०२० मा कोभिडका कारण उत्पादन क्षमतामा कमी आएकाले ओरालो लागेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न प्रकारका उत्पादनमा जोड दिएकाले भविष्यमा व्यापार बढाउने र दिगो पनि कायम गर्ने उल्लेख गरेको छ ।

कम्पनी स्थापना भएको तीन दशक भएको छ । कम्पनीले यसअघि २०१६ देखि २०१९ सम्म १३ प्रतिशतले आफ्नो व्यापार बढाउँदै गएको थियो । यद्यपि सन् २०२० को शुरुवातमा शुरु भएको कोरोना भाइरस महामारीका कारण सप्लाई चेन नमिल्दा व्यापार घटेको थियो ।

कम्पनीसँग हाल मुलुकभर २०० भन्दाबढी वितरक छन् भने अन्य आन्तरिक बजारमा धेरै स्टेकहोलडरहरू छन् । सन् २०२१ मा कम्पनीले आफ्नो ग्राहकलाई सेवा दिँदै टपटेन वितरकको रुपमा स्थापना गर्न सफल भएको छ । जसमा कम्पनीले २५ प्रतिशत व्यापार मात्रै ग्राहकद्वारा गरेको जनाएको छ ।

आन्तरिक बजारमा फार्मेसीको ठूलो प्रतिस्पर्धा रहेको छ । साथै, ५० भन्दाबढी उद्योग सञ्चालनमा छन् । जसले गर्दा बजारमा कम मूल्यमा आयात गरेर सस्तो मूल्यमा बिक्री गर्नुपर्ने निकै चुनौती रहेको छ ।

कम्पनीले पछिल्लो १२ देखि १८ महिनाको अवधिमा सुधार ल्याई विगतको अनुपात कायम गर्न सफल पुगेको जनाएको छ । जसमा २०१९ मा ०.८ अनुपात कायम गरेको थियो भने २०२१ मा १.१ कायम गर्न सफल भएको छ ।

त्यसैगरी कम्पनीले २ अर्ब ७७ करोड २० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । त्यस्तै, कोषको आधारमा अल्पकालीन कर्जा ३ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र कोषमा आधारित नभई अर्थात् बैंक ग्यारेन्टीको आधारमा र अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड रुपैयाँ रेटिङ दिएको छ । जसमा कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी ८ अर्ब १९ करोड ७० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।


क्लिकमान्डु