कसले हाल्यो भिष्म ढुंगानाको बैंक खातामा शंकास्पद १ करोड रुपैयाँ ?



काठमाडौं । २१ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्ति गर्यो ।

वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकाश पाएका ढुंगानालाई सरकारले ४ वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो ।

मोरङ जिल्लाको २०१९ माघ १० गते जन्मिएका ढुंगाना २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना त्यसअघि धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए ।

यो त भयो ढुंगानाको पृष्ठभूमि ।

राष्ट्रपति विद्या भण्डारी निकट मानिने ढुंगाना तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले नचाहँदा नचाहँदै धेरै प्रतिस्पर्धीलाई पछि पार्दै धितोपत्र बोर्डको अध्यक्ष बन्न सफल भएका थिए ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले सफथ ग्रहणमा भ्रष्टाचार गर्दिन, पदको दुरुपयोग गरेर कुनै पनि अनुचित लाभ लिने छैन भनेर कसम खाएको हुन्छ । तर, त्यस्तो कसम खाएको एक वर्ष नबित्दै धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाका कर्तुतहरु सार्वजनिक हुन थाले ।

ओटीसी बजारमा सर्बोत्तम सिमेन्टको सेयरमा इन्साइडर ट्रेडिङ (भित्रि कारोबार) गरेको सामाचार २०७८ साउन १२ गते सार्वजनिक भएपछि ढुंगानाको परिचय फेरिएको छ । ढुंगाना अहिले पदको दुरुपयोग गरी अनुचित लाभ लिएको आरोप लागेका व्यक्ति हुन् ।

सरकारले ढुंगानामाथि लागेका आरोपबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा प्रा.डा. नारायणप्रसाद पौडेल र अर्जुनकुमार खड्का सदस्य रहेको ३ सदस्यीय कमिटी गठन गरेको थियो । उक्त समितिले गत असोज १ गते छानबिन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ ।

प्रतिवेदनमा ढुंगाना दोषी रहेको निष्कर्षसहित कारबाही गर्न सिफारिससमेत गरिएको छ । समितिको प्रतिवेदनले दोषी ठहर्याएपछि सरकारले ढुंगानालाई पदबाट बर्खास्त गरेको थियो ।

सरकारले आफूमाथि अन्याय गरेको भन्दै ढुंगाना न्याय माग्दै अदालतको शरणमा पुगे । पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालतको ढोका ढक्ढक्याउन पुगेका ढुंगानाको रिटमा सर्बोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्यो । यसको अर्थ बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न कुनै पनि बाधा पुगेन ।

ढुंगानामाथि आधा दर्जनजति आरोप लागेका छन् । ती आरोपहरु सत्य हुन् वा होइनन् त्यो त अदालतले नै भन्ला । किनभने, यो मुद्दा अहिले अदालतमा बिचाराधीन अवस्थामा छ । त्यसैले मिडियाले यसबारे धेरै उल्लेख गर्नु उपयुक्त नहोला । अदालतले दोषी ठहर नगरेसम्म उनी अभियुक्तमात्रै हुन् ।

ढुंगानाको बैंक खातामा कसले हाल्यो १ करोड ?

जाँचबुझ आयोगले ढुंगानाको बैंक खातामा शंकास्पद कारोबार गरेको फेला पारेको छ । आयोगले उनको खातामा अस्वभाविक रकम जम्मा भएको फेला पारेको हो ।

क्लिकमाण्डूलाई प्राप्त जाँचबुझ आयोगको प्रतिवेदनअनुसार आइसीएफसी फाइनान्समा भएको ढुंगानाको खातामा शंकास्पद कारोबार भएको देखिन्छ ।

२०७७ साल असार २६ गते आइसीएफसी फाइनान्समा भएको ढुंगानाको बैंक खातामा चेक नं. ००१११६००६४३०९०००२ बाट ७५ लाख रुपैयाँ जम्मा भएको जाँचबुझ आयोगको प्रतिवेदनको ५७ र ५८औं पृष्ठमा उल्लेख छ । सोही दिन ढुंगानाले उक्त रकम २ वर्षका लागि मुद्दति निक्षेपमा राखेका थिए ।

त्यसैगरी, २०७७ चैत १९ गते फेरि आइसीएफसीकै ढुंगानाको खातामा चेक नं. २५ लाख रुपैयाँ जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । तर, त्यो रकम कसले र किन जम्मा गर्यो भन्नेबारे प्रतिवेदनमा केही पनि उल्लेख गरिएको छैन ।

‘बोर्डका अध्यक्षको कारोबार शंकास्पद देखिएको छ, नियमित तलबबाहेक ठूलो परिमाणको बैकिंङ कारोबार देखिनुले अध्यक्ष ढुंगाना बोर्डको नियमित कामकारबाही बाहेक अन्य क्रियाकलापहरुमा संलग्न रहेको देखिन्छ,’ जाँचबुझ आयोगको प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘यस विषयमा थप अनुसन्धान तथा तहकिकात गर्नुपर्ने देखिएकाले सम्बन्धित निकायले आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा हेर्ने नै हुनाले थप केही भनिरहनु परेन ।’

जाँचबुझ आयोगले ढुंगानाको यस्तो काम धितोपत्र बोर्डको आचारसंहिता विपरीत रहेको निष्कर्ष निकाल्दै उनीमाथि थप छानबिन गर्न सिफारिस गरेको छ ।

जाँचबुझ आयोगले ढुंगानाका नाममा रहेका विभिन्न बैंक खाता अध्ययन गर्दा आइसीएफसीमा भएको खातामा अस्वाभाविक कारोबार भेटिएको हो । माछापुच्छ्रे बैंकमा ढुंगाना राष्ट्र बैंकमा हुँदा तलबी खाता थियो । उक्त खातामा भएको कारोबार स्वाभाविक नै थियो ।

त्यसैगरी, सनराइज बैंकमा ढुंगानाका डलर खाता थियो । जहाँ कामको सिलसिलामा विदेश जाँदा हुने आम्दानीको कारोबार हुन्थ्यो । उक्त खातामा भएको कारोबार पनि स्वाभाविक नै देखिएको छ ।

बढी ब्याजको लोभमा आफ्नो पैसा आफैंले जम्मा गरेको हुँ, अस्वाभाविक र शंकास्पद कारोबार गरेको छैनः ढुंगाना

तर, ढुंगाना भने आफूले कुनैपनि अस्वाभाविक कारोबार नगरेको दाबी गर्छन् । क्लिकमाण्डूसँगको कुराकानीका क्रममा ढुंगानाले आफ्नो बेइज्जत गराउनका लागि बैंकमा भएको कारोबारको विषयलाई लिएर दुष्प्रचार गरिएको दाबी गरे ।

ढुंगानाको भनाइ जस्ताको त्यस्तैः

म राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश भएको व्यक्ति हुँ । राष्ट्र बैंकबाट अवकाश हुने पियनले मात्रैपनि १ करोड रुपैयाँ पाउँछ भने म त कार्यकारी निर्देशक पदबाट अवकाश भएको व्यक्ति हुँ । त्यसैले जति पनि रकमहरु बैंकमा ट्रान्सफर भएको छ त्यसबारेमा सम्बन्धित बैंकमै गएर बुझ्दामात्रै पनि हुन्छ । मसँग पनि सोध्नु पर्दैन । तर, अहिले बैंकमा अन्तैबाट पैसा आयो भनेर भ्रम छर्ने काम भइरहेको छ

राष्ट्र बैंकबाट रिटायर्ड हुँदाको पैसा माछापुच्छ्रे बैंकमा जम्मा हुन्छ । र, अन्य खातामा जम्मा भएको पैसा सोही बैंकबाट ट्रान्सफर भएर गएको हो । यसमा कतै पनि गैरकानूनी क्रियाकलाप भएको छैन । वास्तविक रुपमा नबुझी रिपोर्ट बनाएका छन् । अहिले जे जति मेरो विरुद्धका विषयहरु सार्वजनिक भएका छन् । यी सबै मबिरुद्ध भ्रम सिर्जना गर्न गरिएका हुन् ।

आइसीएफसी फाइनान्समा भएको पैसा माछापुच्छ्रे बैंकमा भएको मेरो तलबी खाताबाट ट्रान्सफर गरेको रकम हो । माछापुच्छ्रेमा भन्दा आइसीएफसी फाइनान्समा ०.५ प्रतिशत बढी ब्याजदर पाएपछि मैले पैसा ट्रान्सफर गरेको हो । त्यसबाहेक मैले ५ रुपैयाँ पनि नगद आइसीएफसी फाइनान्समा जम्मा गरेको छैन । अहिले यो विषय अदालतमा पुगेको अवस्थामा मैले सबै प्रमाणहरु अदालतमै बुझाउने छु ।

अहिले त मविरुद्ध लाग्नेहरु धेरै भए । आजका दिनमा मेराविरुद्ध ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको र भित्रि कारोबारको विषयमा मात्रै कुरा उठेको हो । तर, भित्री कारोबार पनि होइन । मेरो छोरीले किनेको सेयरलाई भित्रि कारोबारको नाम दिएर भ्रम सिर्जना काम भइरहेको छ ।

छोरीका नाममा आफैंले सेयर किनेको जाँचबुझ आयोगको निश्कर्ष

बुक बिल्डिङ प्रणालीमार्फत् सर्बोत्तम सिमेन्टले सार्वजनिक सेयर निष्काश (आइपीओ) जारी गर्ने प्रक्रियामा थियो । सर्बोत्तम सिमेन्टले सर्वसाधारणलाई प्रतिकित्ता ७५० रुपैयाँका दरले आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि गरेको थियो । तर, सर्वसाधारणलाई प्रतिकित्ता ७५० रुपैयाँमा लिने घोषणा गरेको सर्बोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले १० हजार कित्ता सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले किनेकी थिइन् ।

रेबिकाले सेयर किनेपछि सर्बोत्तमले बोनस सेयर दिएको थियो । अहिले रेबिकासँग सर्बोत्तमको ११ हजार ९१२ कित्ता सेयर छ ।

छोरीका नाममा सेयर किनेको फेला परेपछि बोर्ड अध्यक्ष ढुंगानाकी विवादमा परेका थिए ।

साधारणसभाबाट निर्णय भई ७५० रुपैयाँका दरले बिक्री गर्न खोजिएको सेयर सेयरधनी शिखा अग्रवालबाट रेविकाले २५० रुपैयाँका दरले भित्रीरुपमा किनेको भेटिएपछि जाँचबुझ समितिले त्यसमाथि गम्भीरतापूर्वक छानविन गरेको थियो ।

आयोगसँगको बयानमा शिखा अग्रवालले आफूले राजिखुसीमा सेयर बेचेको बताए पनि आयोगले उनको जवाफ चित्तबुझ्दो नभएको जनाएको छ ।

सर्वोत्तमलाई बुकबिल्डिङ विधिबाट शेयर बिक्रीको नीतिगत एवं अन्य सहयोगका लागि ढुंगानाले सहजीकरण गरेका थिए । धितोपत्र बोर्डले २२ साउन २०७७ मा बुकबिल्डिङ विधिबाट सेयर निष्काशन अनुमति दियो भने ०७७ माघ ६ गते सम्पन्न सर्बोत्तमको विशेष साधारणसभाले ७५० रुपैयाँ मूल्य कायम गरेको थियो । त्यसको केही दिनपछि अर्थात् ११ माघदेखि १४ माघसम्ममा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, मधुजा ढुंगाना र रोशन ढुंगानाका नाममा पनि थप ५/५ हजार कित्ता सेयर किनेको भेटिएको छ । उनीहरु भिष्मराजका नातेदार हुनसक्ने भन्दै समितिले थप छानबिन गर्न सिफारिस गरेको छ ।

‘धितोपत्र सम्बन्धीभित्री सूचनाको दुरुपयोग गरी फाइदा लिने काम गरेको र आफ्नै सहोदर छोरीले उक्त क्रममा संलग्न हुनुले बोर्ड अध्यक्षले आफ्नो पदीय गरिमा र सूचनाको गोपनीयता कायम गर्न सकेको देखिएन,’ जाँचबुझ आयोगको प्रतिवेदनमा भनिएको छ ।

शुरुमा ढुंगानाले छोरीले सेयर किनेको विषय आफूले थाहा नपाएको दाबी गरे पनि अलिपछि भने आफ्नो इन्भेष्टमेन्ट बैंकको खाताबाट छोरीको लक्ष्मी बैंकको खातामा चेकका माध्यमबाट १५ लाख रुपैयाँ जम्मा गरिदिएको स्वीकार गरेका थिए ।

‘मेरो छोरी विवाहित हो, मलाई नसोधी किन्न पाउछे,’ आयोगसँगको बयानमा उनले बयानमा भनेका छन्, ‘कारोबार भएको रहेछ भने पनि छोरीले नेपालको कानूनअनुसार किन्न पाउँछ ।’

तर, अमेरिकामा रहेकी छोरीको खाताबाट कसरी शिखा अग्रवालको खातामा रकम जम्मा भयो ? अहिलेसम्म खुल्न सकेको छैन ।

‘विवाहितरअविवाहित जस्तो भएपनि आफ्नो बाबु नियामक निकायको कार्यकारी प्रमुख रहेको अवस्थामा निजको छोरीले विवादित रुपमा सेयर खरिद गर्नु शंकास्पद हो’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ, अतः छोरीको नाममा स्वयं ढुंगानाले खरिद गरेको अनुमान गर्न सकिन्छ ।’

ढुंगानाको अनियमितताबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।


क्लिकमाण्डू