धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरीत सुविधा लिएको खुलासा



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरित सुविधा लिएको खुलेको छ । २०७६ साल पुसमा बोर्ड अध्यक्ष भएका ढुंगानाको प्रस्तावमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले तलब सुविधा बढाएका थिए ।

बोर्ड अध्यक्ष ढुंगानाले अध्यक्ष हुनासाथ आफ्नो तलब सुविधा बढाउने प्रस्ताव गरेका थिए । जसअनुसार नेपाल धितोपत्र कर्मचारी सेवासत्र नियमावली २०६८ लाई मन्त्रीस्तरबाट संशोधन गर्दै तलब सुविधा बढाएका हुन् ।

ढुंगानाले आफ्नो मासिक तलब ८९ हजार २४४ रुपैयाँ बनाएको पाइएको छ । ढुंगानाको तलब बढाउने सहमति भने खतिवडाले दिएका थिए ।

यस्तै खतिवडाले मन्त्रीस्तरको निर्णयबाट कार्यक्षेत्र भत्ता ५० प्रतिशत पुर्याउने काम गरिदिएका थिए । यस्तै अध्यक्ष ढुंगानाको लागि ५ महिनाको तलब बराबरको रकम सावधिक बीमा गर्ने निर्णय नियमावलीले गरेको छ ।

नियमावली स्विकृतिको निर्णय मन्त्रीपरिषद्ले गर्नुपर्ने भएपनि ढुंगानाको सुविधा बढाउने निर्णय भने अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरबाट गरेका थिए ।

सर्वोच्च अदालतले मन्त्री एक्लैले गर्ने निर्णयलाई मान्यता नदिए पनि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले तत्कालीन अर्थमन्त्री खतिवडाबाट आफ्नो तलबभत्ता बढाएका छन् । जुन नियमविपरित छ ।

यस्तो छ सर्वोच्चको आदेश

गोल्डेन सेयरले तनाव

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना सेयर खरिदको विषयमा विवादमा परेका छन् । आइपीकोको निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता उनकी छोरी रेविका ढुंगानाको नाममा खरिद गरेको समाचार सार्वजनिक भएपछि उनी विवादमा मुछिएका हुन् ।

सर्वोत्तम सिमेन्टसँग ढुंगानाले गोल्डेन सेयर लिएको आरोप लागेको छ । यदि उनले गोल्डेन सेयर लिएको प्रमाणित भए त्यो ठूलो भ्रष्टाचार हुनेछ । गोल्डेन सेयर नलिइ सेयर किनेकै भए पनि उनीमाथि गंभीर नैतिक प्रश्न उठ्ने छ ।

उक्त सेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष ढुंगानालाई बिहीबारमात्रै ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइसकेको छ ।


पुष्प दुलाल