एनआइसी एशियाको एग्रेसनमा राष्ट्र बैंकले ब्रेक लगायो, भन्यो- अब व्यवसाय नबढाउनू



काठमाडौं । नेपाल राष्ट्र बैंकले पूँजीकोष अनुपात नपुगेको भन्दै एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगायो ।

एनआइसी एशयिाले जुन आकारको व्यवसाय गरिरहेको छ त्यसलाई मेन्टेन गर्ने गरी सेयरधनीले पैसा नहालेको भन्दै राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगाएको हो ।

सेयरधनीले कम पैसा हाल्ने तर बैंकले बढी बिजनेश गर्ने भयो भने त्यो बैंकमा जोखिम हुन्छ भन्ने नियामकीय दृष्टिकोण हुन्छ । अहिले एनआइसी एशियाको हकमा पनि यही भएको हो ।

बैंक आम सर्वसाधारणको पैसाले चल्ने बिजनेश हो । सेयरधनीले हालेको पैसा त अत्यन्तै थोरै हुन्छ ।

राष्ट्र बैंकले बैंकहरुले लिएको जोखिममा सम्बन्धित बैंकका लगानीकर्ताहरुले लगाउनुपर्ने पूँजी पनि तोकिदिएको हुन्छ । यस्तो पूँजीको अनुपात अहिले ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । २ प्रतिशत बफर क्यापिटल राख्नुपर्ने व्यवस्था चाहीँ कोभिडका कारण राष्ट्र बैंकले थगित गरेको छ । होइन भने बैंकहरुलाई थप चाप पर्ने थियो ।

राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई दिएको सन्देश के हो भने- ‘तिम्रो आकार धेरै ठूलो भइसक्यो, अब व्यवसाय बढाउने थप काम नगर्नू । भइरहेको व्यापारलाई जोगाउँदै अघि बढ्नू ।’

११ प्रतिशत पूँजीकोष अनुपात पुर्याउनका लागि बैंकहरुले प्राथमिक पूँजी र पुरक पूँजी जोडेर पुर्याउनुपर्छ । ११ प्रतिशतको पूँजीकोष अनुपातमा साढे ८ प्रतिशत प्राथमिक पूँजीबाट पुर्याउनुपर्ने हुन्छ । प्राथमिक पूँजीमा चुक्ता पूँजी, रिजर्भ, रिर्टन अन अर्निङ जोडिएको हुन्छ । पुरक पूँजीमा ऋणपत्रलाई जोड्न पाइन्छ ।

एनआइसी एशिया बैंकको पूँजीकोष अनुपात १२.४३ प्रतिशत छ । राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात ऋणपत्रका कारण पुर्याउन सके पनि प्राथमिक पूँजीबाट हुनुपर्ने साढे ८ प्रतिशत एनआइसी एशियाले पुर्याउन नसकेपछि लाभांश बाँड्न रोक लगाइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

हामी सेयरधनीहरु पुँजी थप्न तयार छौं, हामी सिर्जनसिल भएर राज्यका नीति नियम मानेर अघि बढ्छौं भन्दा किन नदिने ? बैंक भइसकेपछि निक्षेप राख्न आउनेलाई तपाईंको निक्षेप राख्दिन भन्नू भएन, त्यस्तै ऋण माग्न आउनेलाई पनि दिन्नौं भन्न भएन,’ एनआइसी एशियाका एक सञ्चालकले भने, ‘गाउँ–गाउँसम्म पुगेर १०र२० लाख ऋण दिँदै वित्तीय पहुँच विस्तार गर्ने हाम्रो अभियानमा नियामकले अलि ठूलो छाती बनाएर सोचिदिनु पर्यो । यसरी कन्जरभेटिभ भएर रोक्ने हो भने सिर्जनसिल मान्छेलाई अन्याय हुन्छ ।’?

‘कुनै पनि बैंक तथा वित्त कम्पनीका सेयरधनीहरुले आफ्नो पुँजी पनि हालेका हुन्छन्, बैंकले आफ्नो वासलातको आकार ठूलो बउनाउँदै जाँदा लगानीकर्ताहरुको स्वामित्व र अपनत्व घट्दै जाँदा सम्बन्धित संस्थामा मात्रै नभई समग्र वित्तीय प्रणालीमै समस्या आउने डर हुन्छ, त्यस्तो अवस्था आउन नदिन राष्ट्र बैंकले केही नियामकीय व्यवस्थाहरु गरेको हुन्छ, जुन बैंकहरुले अक्षरस पालना गर्नुपर्छ, अहिले एनआइसी एशिया बैंकले नियामकीय व्यवस्थाको पालना नगरेको हुँदा उसलाई लाभांश वितरण गर्न रोक लगाइएको हो,’ प्रवक्ता डा. भट्टले क्लिकमाण्डूसँग भने ।

एनआइसी एशिया बैंकको प्राथमिक पूँजीबाट पुर्याउनपर्ने पूँजीकोष ८.१ प्रतिशतमात्र रहेको छ । ८.५ प्रतिशत हुनुपर्ने पूँजीकोष ८.१ प्रतिशत भएपछि राष्ट्र बैंकले लाभांश बाँड्न रोकेको हो ।

बैंकले अब लाभांश वितरण नगरी साधारणसभा गर्नेछ । र, अर्को वर्ष पनि राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात कायम गरेपछि मात्रै लाभांश दिन पाउने छ ।

अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले तोके अनुसारको पूँजीकोष अनुपात कायम नगर्ने बैंकलाई लाभांश बाँड्न नदिने बताएको थियो । तर, एनआइसी एशियाले तोकेको पूँजीकोष अनुपात नपुर्याए पनि लाभांश बाँड्न पाएको थियो । तर, यो पटक भने राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न दिएन । राष्ट्र बैंकले हरेक महिना नै तोकिएको पूँजीकोष अनुपात नपुगेमा लाभांश बाँड्न नदिने नीति लिएको छ ।

राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई दिएको सन्देश के हो भने- ‘तिम्रो आकार धेरै ठूलो भइसक्यो, अब व्यवसाय बढाउने थप काम नगर्नू । भइरहेको व्यापारलाई जोगाउँदै अघि बढ्नू ।’

आक्रामक रणनीतिले दर्जन सूचकमा नम्बर वान

पछिल्लो ५ वर्षयता एनआइसी एशिया बैंकले आक्रामक व्यवसाय विस्तार गर्ने रणनीतिका साथ अघिबढ्यो । आक्रामक हुने रणनीतिका कारण बैंक उच्च अंकको व्यवसाय वृद्धि गर्दै धेरै सूचकहरुमा पहिलो नम्बरमा पर्न सफल पनि भएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंक एक दर्जन मूख्य सूचकहरुमा पहिलो नम्बरमा परेको छ । कन्जरभेटिभ शैलीमा अघि बढिरहेको बैंकिङमा एनआइसी एशियाले रोजेको एग्रेसनको मोडालिटीले नेपालको वित्तीय प्रणालीमा ठूलो तरंग ल्यायो ।

एनआइसी एशियाको आक्रामकताले वित्तीय प्रणालीमा जोखिम निम्त्याउन सक्ने भन्दै बैंकरदेखि अन्य जानकारहरुले चिन्ता व्यक्त गर्थे । तर, एनआइसी एशिया ‘साम-दाम-दण्ड-भेद’ को नीति अपनाएर व्यवयास विस्तारमै केन्द्रित भयो ।

आक्रामक तरिकाले शाखा विस्तार गर्यो । अरु बैंक जान नमानेका ठाउँमा भटाभट शाखा खोल्न थाल्यो । आम सर्वसाधारणको निक्षेप आकर्षित गर्न सयौं स्किमहरु ल्यायो । सबैभन्दा पहिला ब्याज बढाउनेमा एनआइसी एशिया नै हुन्थ्यो । निक्षेपसँगै कर्जा पनि बढायो ।

आक्रामक शैली अपनाएको बैंकको प्रगति देख्दा निकै लोभलाग्दो छ ।

उदाहारणका लागि नेपाल बंगलादेश बैंकले २७ वर्षमा र सिभिल बैंकले ११ वर्षमा गर्न नसकेको बिजनेश गर्न नसकेको बिजनेश एनआइसी एशियाले कोरोनाको समयमै पनि ५ महिनामै गरिदियो ।

आर्थिक वर्ष २०७२/७३ को पुस मसान्तमा एनआइसी एशिया बैंकले ५८ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को पुसमा ७९ अर्ब ७ करोड निक्षेप संकलन गरी ६६ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । यो अवधिमा चुक्ता पुँजी ३ अर्ब ६९ करोडबाट बढाएर ५ अर्ब ८१ करोड पुर्यायो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को पुसमा निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब २ अर्ब रुपैयाँ पुर्यायो । आर्थिक वर्ष २०७५/७६ को पुसमा निक्षेप १ खर्ब ७५ अर्ब ७६ करोड र कर्जा १ खर्ब ४९ अर्ब ३० करोड पुर्यायो । ०७६ पुससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी बढेर ८ अर्ब ८३ करोड पुग्यो ।

आर्थिक वर्ष २०७७/७८ को पुसमा बैंकले २ खर्ब ६८ अर्ब निक्षेप र २ खर्ब २१ अर्ब कर्जा पुर्यायो । ०७८ असार मसान्तमा बैंकले ३ खर्ब बढी निक्षेप संकलन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तमा बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९४ करोड पुगिसकेको छ भने कर्जा २ खर्ब ६१ अर्ब ९२ करोड रुपैयाँ कर्जा पुगेको छ । ०७८ पुस मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

एनआइसी एशियाले पुँजी थप्छु भन्दा पनि किन मानेन राष्ट्र बैंक ?

तर, यसरी बिजनेशको आकार बढाउँदै जाँदा बैंकले पुँजी भने बढाउन सकेन । पुँजी बढाउनका लागि खासगरी २ उपाय छन् । पहिलो बैंकले कमाएको नाफाबाट बोनस सेयर वितरण गरेर वा हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउने ।

पछिल्लो समय राष्ट्र बैंकले हकप्रद सेयरका लागि अनुमति दिएको छैन । जसकारण व्यवसायको आकार बढ्दै जाँदा अहिले एनआइसी एशिया बैंकसँग पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेजति हुन नसकेको हो ।

बैंकका लगानीकर्ताहरुले पुँजी थप पुँजी हालेर थप बिजनेश गर्छौं भन्दा पनि राष्ट्र बैंकले अनुमति दिएको छैन । तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न दिएको राष्ट्र बैंकले पुँजी थपेर थप ब्यवसाय गर्छु भन्दा एनआइसी एशियालाई रोक्नुको अन्तर्य के हो ?

‘आक्रामक ढंगले अघि बढेको एनआइसी एशिया धेरै नै ठूलो भइसकेको छ, बैंकिङ बिजनेशमा अन्य क्षेत्रजस्तो धेरै आक्रामक हुनुलाई राम्रो मानिँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘टू बिग टू फेल भयो भने त्यसले समग्र प्रणालीलाई नै गंभीर असर गर्न सक्छ, त्यसैले राष्ट्र बैंकले एनआइसी एशियालाई अब आक्रामक होइन, शान्त बस भन्नलाई हकप्रद सेयर निष्काशनको अनुमति नदिएको हो ।’

‘एनआइसी एशियाले अहिले गरेको व्यवसायलाई नै निरन्तरता दिएर अगाडि बढ्न राष्ट्र बैंकले सन्देश दिएको छ, अब एनआइसीले व्यवसायमा आक्रमकता होइन निरन्तरता दिए अगाडि बढ्नुपर्छ,’ एनआइसी एशिया बैंकको तथ्यांकलाई नकिजबाट हेरिरहेका एक बैंकरले भने ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार देशको अर्थतन्त्रको र बैंकिङ प्रणालीको वृद्धिको तुलनामा एनआइसी एशियाको व्यवसाय वृद्धिदर स्वाभाविक छैन । त्यसैले पुँजी थप गर्छु भन्दा पनि राष्ट्र बैंकले अनुमति नदिएको हो ।

राष्ट्र बैंकको यो तर्कसँग एनआइसी एशियाका अधिकारीहरु सहमत छैनन् ।

‘राष्ट्र बैंकको निर्देशन हामीले मान्नै पर्ने बाध्यता हुन्छ र मान्छौं पनि’ एनआइसी एशिया बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘तर, हामी सेयरधनीहरु पुँजी थप्न तयार छौं, हामी सिर्जनसिल भएर राज्यका नीति नियम मानेर अघि बढ्छौं भन्दा किन नदिने ?’

एनआइसी एशियाले गरेको प्रगतिमा धेरैको कुदृष्टि परेको ती सञ्चालकले दावी गरे ।

‘बैंक भइसकेपछि निक्षेप राख्न आउनेलाई तपाईंको निक्षेप राख्दिन भन्नू भएन, त्यस्तै ऋण माग्न आउनेलाई पनि दिन्नौं भन्न भएन,’ उनले भने, ‘गाउँ–गाउँसम्म पुगेर १०/२० लाख ऋण दिँदै वित्तीय पहुँच विस्तार गर्ने हाम्रो अभियानमा नियामकले अलि ठूलो छाती बनाएर सोचिदिनु पर्यो । यसरी कन्जरभेटिभ भएर रोक्ने हो भने सिर्जनसिल मान्छेलाई अन्याय हुन्छ ।’

अब के गर्छ एनआइसी एशिया ?

एनआइसी एशिया बैंकलाई थप व्यवसाय गर्नका लागि राष्ट्र बैंकले तोकेको नीति बाधक भएपछि अहिले गर्नुपर्ने काम भनेको अहिलेको व्यवसायलाई निरन्रता दिने हो ।

‘एनआइसी एशियाले अहिले गरेको व्यवसायलाई नै निरन्तरता दिएर अगाडि बढ्न राष्ट्र बैंकले सन्देश दिएको छ, अब एनआइसीले व्यवसायमा आक्रमकता होइन निरन्तरता दिए अगाडि बढ्नुपर्छ,’ एनआइसी एशिया बैंकको तथ्यांकलाई नकिजबाट हेरिरहेका एक बैंकरले भने ।

राष्ट्र बैंकको संकेतपछि नै एनआइसी एशिया बैंकले आफ्नो व्यवसायलाई बढाउन छाडेको तथ्यांकबाट देखिन्छ ।


आशीष ज्ञवाली