एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब पुग्यो, बजार हिस्सा ७ प्रतिशत



काठमाडौं । एनआइसी एशिया बैंकले १६ वर्षमा नगरेको बिजनेश ग्रोथ एक वर्षमा गरेको छ ।

एनआइसी एशिया बैंकको निक्षेप आर्थिक वर्ष २०७३/७४ मा ८३ अर्ब रुपैयाँ थियो । बैंकले स्थापनाको १६ वर्ष पुग्दा पनि त्यो बेला निक्षेपको आकार १ खर्ब पुर्याउन सकेको थिएन । बैंकले आर्थिक वर्ष २०७४/७५ मा निक्षेपको आकार १ खर्ब ८१ अर्ब पुर्याउन सफल भयो ।

२०७५/७६ मा १ खर्ब ८० अर्ब पुगेको एनआईसी एशियाको निक्षेप २०७६/७७ मा २ खर्ब १० अर्ब भयो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा ३ खर्ब पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा मात्र एनआइसी एशिया बैंकले ९० अर्ब रुपैयाँ निक्षेप बढाउन सफल भयो ।

एनआइसी एशिया बैंक जसले १६ वर्षमा ८३ अर्बको निक्षेपको आकार पुर्याएको थियो । उसले एक वर्षमा ९० अर्बको निक्षेप बढाउन सफल भएको हो । गत आर्थिक वर्षमा बैंकले गरेको व्यापार कतिपय बैंकले स्थापनाकालदेखि अहिलेसम्म गर्न सकेका थिएनन् । आक्रामक व्यवसाय विस्तारले गर्दा एनआइसी एशिया बैंकले आफ्नो बजार हिस्सा बढाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकहरुमा भएको कुल निक्षेपमा एनआइसी एशिया बैंकको हिस्सा ४.१४ प्रतिशत थियो । २०७८ साल असार मसान्तमा आइपुग्दा कुल निक्षेपमा एनआइसी एशियाको हिस्सा ७.१४ प्रतिशत पुगेको छ । एनआइसी एशिया बैंकले ५ वर्षमा बैंकहरुको निक्षेपमा आफ्नो हिस्सा ३ प्रतिशत बिन्दुले बढाउन सफल भएको छ ।

२०५५ सालमा स्थापना भएको एनआइसी बैंकले २०७० असार १६ मा तत्कालिन बैंक अफ एशियासँग मर्ज भएर एनआइसी एशिया भएको थियो । बैंकको स्थापनाकालदेखिको तथ्यांक विश्लेषण गर्दा पछिल्लो ५ वर्षमा व्यापार तीव्ररुपले अगाडि बढाएको देखिन्छ ।

स्थापनाकालको सन् १९९८/९९ मा बैंकको निक्षेप ४३ करोड थियो । एनआइसीसँगै स्थापना भएका बैंकहरुले निक्षेपको आकार १ खर्ब पुर्याउन अझै सकेका छैनन् । केहीले बल्ल १ खर्ब पुर्याएपनि एनआईसी एशिया बैंकले ३ खर्बमा निक्षेपको आकार पुर्याउन सफल भएको हो ।

३५८ शाखा र करिब ४ हजार कर्मचारी

एनआइसी एशिया बैंकको परिचय लामो समयसम्म आक्रामक ढंगले नहिँड्ने एक किसिमले भन्दा परम्परागत शैलीको थियो । ४ वटा शाखा ५५० वटा कर्मचारी बैंकको १९९८/९९ को समयमा थियो । बैंकले एक दशकसम्म आफ्नो परिचयमा बैंकको शाखा संख्या १० भन्दा कम नै राखेर चलाएको थियो । बैंकले १६ वर्षसम्म हरेक वर्ष ५ देखि १० वटामात्र शाखा थप्ने र सो अनुसारको कर्मचारीको संख्या थप्ने नीति लिएको थियो ।

आर्थिक वर्ष २०७१/७२ सम्म बैंकको शाखा संख्या १०० पनि कटेको थिएन भने कर्मचारीको संख्या १ हजारभन्दा कम थियो । आर्थिक वर्ष २०७२/७३ पछि बैंकले आक्रामक ढंगले शाखा खोल्ने लियो । त्योसँगै बैंकमा कर्मचारीको संख्यासमेत बृद्धि भयो भने व्यापार समेत बढ्दै गयो । अहिले बैंकको शाखा संख्या ३५८ पुगेको छ भने कर्मचारी संख्या ३ हजार ७९२ पुगेको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी शाखा हुने भएको बैंकमा एनआइसी एशिया पर्छ । अरु बैंकलाई मर्ज गर्दा पनि एनआइसी एशिया बैंकको बराबरको शाखा पुर्याउनका लागि कठिन हुने देखिन्छ ।

४० लाख घाटादेखि ३ अर्बको नाफासम्म

बैंक शुरुको वर्ष ४० लाख घाटा थियो । सन् १९९८/९९ मा बैंकले ४० लाख नोक्सानी भोगेको थियो । बैंकले कारोबार बढाउदै लगेसँगै नाफासमेत बढेको छ । एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा गर्नेमा एनआइसी एशिया बैंक रहेको थियो । बैंकले आर्थिक वर्ष २०७२/७३ देखि नाफा १ अर्ब कटाउन सफल भएको हो । बैंकलाई १ अर्ब नाफा गर्नका लागि अरु व्यवसायका सूचक बढाउन लागेजस्तै समय लागेको थियो । त्यसपछि भने अरु व्यवसाय सूचक बढेपछि बैंकको नाफासमेत हरेक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ ।

ऋण बढी भएपनि एनपीए कम

एनआइसी एशियाको निक्षेप र ऋण अरु बैंकको भन्दा बढी छ । विगतमा व्यवसायमा आक्रामक ढंगल उत्रेका बैंकहरुको समस्या एनपीए हुने गरेको थियो । अर्थात् ऋण बढ्दै गए पनि ऋण नउठ्ने समस्या । जुन एनआइसी एशियामा देखिएको छैन । स्थापनाकालदेखिको तथ्यांक केलाउने हो भने शुरुका ५ वर्ष बैंकको एनपीए १ प्रतिशतभन्दा बढी थियो । अझै एउटा वर्ष ५.२८ प्रतिशतसम्म बैंकको एनपीए पुगेको थियो । बैंकको एनपीए शुरुका ५ वर्ष बाहेक अहिलेसम्म १ प्रतिशतभन्दा तल छ । अझ ०.५ प्रतिशतभन्दा नै तल बैंकको एनपीए रहेको छ । अहिले बैंकको एनपीए ०.२४ प्रतिशत छ । वाणिज्य बैंकहरुमा एनपीए कम हुनेमा एनआइसी एशिया बैंकसमेत पर्छ ।

यस्तो छ इपीएस र आरओई

बैंकको प्रतिसेयर आम्दानी (इपीएस) र पूँजीमा प्रतिफल (आरओई) हेर्दा सेयरधनीको हिसाबले राम्रो देखिन्छ । स्थापनाकालदेखि अहिलेसम्मको तथ्यांक हेर्दा बैंकको इपीएस र आरओई शुरुको वर्ष ऋणात्मक थियो । बैंकले शुरुको वर्षको नाफा नगरेको कारण इपीएस आरओई ऋणात्मक थियो ।

त्यसपछिका वर्षमा भने इपीएस र आरओई हरेक वर्ष बढ्दै गएको देखिन्छ । बैंकको कुनैबेला आरओई २८ प्रतिशतसम्म पुगेको थियो भने इपीएस ४७ रुपैयाँसम्म पुगेको थियो । पूँजीको भार थपिएपछि इपीएस र आरओई घटेपनि धेरैजसो बैंकको तुलनामा राम्रो नै रहेको देखिन्छ ।

पछिल्लो ५ वर्षको इपीएस र आरओइलाई विश्लेषण गर्दा बैंकको कुनै वर्ष बढेको र कुनैवर्ष घटेको देखिन्छ । उदाहरणका लागि २०७४/७५ मा बैंकको आरओई १२.०९ र इपीएस १६.६२ रुपैयाँ थियो । आर्थिक वर्ष २०७५/७६ मा आरओई २२ र इपीएस ३४.२२ पुगेको थियो । कोभिडको कारण आर्थिक वर्ष २०७६/७७ मा १९.२६ आरओई र इपीएस ३१.८९ रुपैयाँ थियो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा आरओई र इपीएस क्रमशः १७.०९ र २८.१८ रहेको छ ।


क्लिकमान्डु