एनबीले २६ वर्ष र सिभिल बैंकले १० वर्षमा गरेको बिजनेश एनआइसी एशियाले साढे ५ महिनामा गर्यो



काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले २०५१ साल जेठ २३ गतेदेखि बैंकिङ कारोबार शुरु गर्यो ।

विदेशी संयुक्त लगानीको एनबी बैंकले नेपालमा बैंकिङ कारोबार शुरु गरेको २६ वर्ष भयो । यो अवधिमा एनबीले ७१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो तथ्यांक यही पुस १७ गतेसम्मको हो ।

०७७ असार मसान्तको तुलनामा पुस १७ गतेसम्म आइपुग्दा एनबी बैंकको निक्षेप १ अर्ब ६० करोड रुपैयाँले घटेको छ भने कर्जा जम्मा ३० करोड रुपैयाँमात्रै बढाएको छ ।

‘पछिल्लो समय कर्जाको माग नआएपछि हामी निक्षेप बढाउनतिर नलागेकै हौं,’ एनबी बैंकका सीइको ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने ।

त्यस्तै, २०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकले अहिलेसम्म ७१ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालू आर्थिक वर्षको साढे ५ महिना (साउनदेखि पुस १७ गतेसम्म)मा ११ अर्ब ८० रुपैयाँ निक्षेप र ११ अर्ब १४ करोड रुपैयाँ कर्जा बढाएको छ ।

एनबी र सिभल बैंकको व्यवसाय विस्तार प्रतिस्पर्धी बजारमा सन्तोषजनक देखिँदैन । किनभने यी दुई बैंकले स्थापनाकालदेखि अहिलेसम्म विस्तार गरेको व्यवसाय बराबर अर्को एक वाणिज्य बैंकले पछिल्लो साढे ५ महिनामा बढाएको छ ।

त्यो हो, एनआइसी एशिया बैंक । एनआइसी एशियाले चालु आर्थिक वर्षको साउनदेखि पुस १७ गतेसम्ममा ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब १६ करोड रुपैयाँले कर्जा बढाएको छ ।

स्थापनादेखि हालसम्म एनआइसी एशिया बैंकले २ खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल