८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै



काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ ।

मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी होटल निर्माण गर्ने भएको हो ।

प्रस्तावित आयोजना भैरहवाको बुद्ध चोकदेखि ३.५ किलोमिटर पश्चिम तौलहवा रोडमा रहेको छ । सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने ५ वटा मुख्य प्रवेशद्वारमध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रुपमा स्थापित भएकाले सो क्षेत्रमा होटल निर्माण गर्ने भएको कम्पनीको भनाइ छ ।

साथै, अन्य सानो लगानीको होटलहरू धेरै रहेपनि ठूलो लगानीको होटल सञ्चालनमा नरहेको हुनाले पर्यटनविकास गर्ने उद्देश्यका साथ तारे होटल निर्माण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले कुल २ बिघा १३ कठ्ठा ४ धुर (१८ हजार १५.६३ वर्गमटिर) मा सो होटल निर्माण गर्ने जनाएको छ । कम्पनीका अनुसार उक्त क्षेत्रफलमा ३४५६ वर्गमिटर क्षेत्रफल जग्गा मात्रै होटलको भवनले ओगट्नेछ ।

त्यसैगरी, होटलको भवनको तल्लाको कुल क्षेत्रफल १२ हजार ९१७.७ वर्गमिटर हुनेछ घने खुल्ला क्षेत्र ६१ प्रतिशत र २० प्रतिशत हरियाली क्षेत्र बनाइनेछ ।

कम्पनीले उक्त होटल १२५ वटा कोठा र २ सयवटा शैय्या भएको बनाउने भएको छ । जसमा २वटा भवन हुनेछ । त्यस्तै, कम्पनीले आगामी दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले सो क्षेत्रमा ०.७ को फ्लोर एरिया रेसियो, १९ प्रतिशत होटल भवनको ओगट्न पाउने जग्गाको क्षेत्रफल र सेट ब्याक ५ मिटर भएको प्रस्तावित गरेको थियो । तर, त्यसमा क्रमशः ३.५, ४० प्रतिशत र ३ प्रतिशतको अनुमति पाएको कम्पनीले जनाएको छ ।

२ विगाह क्षेत्रफलमा २ वटा भवन निर्माण भए पनि एउटा ७ तल्लाको निर्माण हुनेछ भने अर्को एउटा भवन एक तल्लाको निर्माण हुनेछ । जसमा भवन १ ७ तल्लाको निर्माण हुनेछ ।

त्यस्तै, सो भवनमा भूमिगत तल्ला २२ सय ९७ वर्गमिटर क्षेत्रफलमा पार्किङ, फायर प्लान्ट कोठा, प्लम्बिङ् कोठा, इलेक्ट्रिक कोठाको व्यवस्था हुनेछ । दोस्रो तल्ला २३ सय ५४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । सो तल्लामा रिसेप्सन, रेष्टुराँ, डाइनिङ हल, लवी, बेन्क्वेट हल र पहिलो तल्ला १ हजार १६.७ वर्गमिटरमा क्षेत्रफलमा डाइनिङ हल, बार, मिटिङ हल–२ र बेनक्वेट हलको व्यवस्था हुनेछ ।

दोस्रो तल्लामा १२ सय ५ वर्गमिटर क्षेत्रफलमा स्विमिङ पुल, जिम एण्ड योगा हल, स्पा र बारको व्यवस्था रहेको कम्पनीले जनाएको छ । अन्य तेस्रो तल्लादेखि सातौं तल्लामा १२ सय ९ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । उक्त प्रत्येक तल्लामा २५ वटा पाहुना कोठा निर्माण हुनेछ ।

भवन २ भने १ तल्लाको निर्माण गर्ने कम्पनीले जनाएको छ । उक्त भवनमा भूमिगत तल्ला, भूई तल्ला र पहिलो तल्ला ११०२ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भएको छ । सो भवनमा पार्किङ, ब्याक अफल हाउस, इलेक्ट्रिक कोठा, रिसेप्सन, रेष्टुराँ तथा हलको व्यवस्था हुनेछ ।


क्लिकमान्डु