तेल किन्न हामीसँग पैसा छैन: आयल निगम




काठमाडौं । नेपाल आयल निगमले तेल किन्नका लागि निगमसँग पैसा नभएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आफ्नो सञ्चिति मुनाफा रित्तिएपछि तेल किन्नका लागि पर्याप्त रकम नभएको जनाएको हो ।

निगमले अबका दिनमा तेल किन्नका लागि ऋण लिनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ ।

निगमसँग सञ्चित बचत शून्यका अवस्थामा पुगेकोले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति देखिएको जनाएको छ ।

‘तेलको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, निगमले मूल्य समायोजन गरेपनि मासिक ४ अर्ब घाटा हुने देखाउँदै आगामी ३ महिनासम्मको लागिदेशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न न्यूनतम १२ अर्ब रुपैयाँको आवश्यकता रहेको जनाएको छ ।

निगमले पुस मसान्त्सम्मको ६ महिनाको अवधिमा निगमले १९ अर्ब २६ करोड रुपैयाँ घाटा व्यहोरेको छ । साथै, जनवरी १६ मा प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा थप २ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु