४ वर्षमा साढे ४ गुणाले बढ्यो एसीको आयात, विद्युतको अनियमित आपूर्तिले समस्या



काठमाडौं । शुक्रबार भएकाले बजार सुनसान हुनुपर्ने हो । सूर्य अस्ताउनै लागेकाले अँध्यारो देखिनु पर्थ्यो । तर, १९६८ साल बैशाख २३ गते बेलुका साढे ६ बजे काठमाडौंको केन्द्र टुँडिलेखमा झिलमिल बत्ति बल्यो । त्यसदिन, नेपालको इतिहासमा पहिलो पटक विजुली बलेको हो ।

राजा पृथ्वी वीरविक्रम शाहले स्वीच थिच्दै बत्ति बाले । फर्पिङमा चन्द्रज्योति इलेक्ट्रिक पावर स्टेशनबाट ५०० किलोवाट विजुली निकालेर नेपालमा पनि जलविद्युत् आयोजना निर्माणको शुरुवात भएको थियो ।

नेपालमा विजुली बल्नुभन्दा ३० वर्ष पहिलै पानीबाट उर्जा उत्पादन हुने तथ्य प्रमाणित भएको थियो । अमेरिकामा विस १९३८ सालमा पहिलोपटक जलविद्युत आयोजना निर्माण गरिएको थियो । त्यसपछि संसारभर इलेक्ट्रोनिक सामान बनाउन अनुसन्धान शुरु भयो । कैयौं उपकरणहरु आविष्कार भए । अझै पनि नयाँ-नयाँ उपकरण बन्ने क्रम रोकिएको छैन ।

नेपालले जलविद्युत् आयोजना बनाउनुभन्दा ९ वर्ष पहिले एसीको आविष्कार भइसकेको थियो । विस १९५९ सालमा अमेरिकामा बनेको एसी नेपालमा कहिले भित्रियो यकिन छैन । तर, पछिल्लो समय संसारभर अविष्कार भएका नयाँ-नयाँ इलेक्ट्रोनिक उत्पादन नेपाली बजारमा पाइन्छन् ।

आजभन्दा ११९ वर्ष पहिले अविष्कार भएको एसीको प्रयोग नेपाली बजारमा बढ्दो छ । टेलिभिजनमा देखिने विज्ञापनले नेपालमा मात्र नभई संसारमै एसीको प्रयोग बढ्दो क्रममा रहेको देखाउँछ ।

केही वर्षअघिसम्म टेलिभिजनमा पंखाको विज्ञापन हुन्थ्यो । एसीको विज्ञापन फाट्टफुट्ट देखिन्थ्यो । तर, पछिल्लो समय भने अवस्था फेरिएको छ । टेलिभिजनमा एसीको विज्ञापनको संख्या बढ्दा पंखाको विज्ञापन घट्दो क्रममा छ ।

एसीको विज्ञापन मात्र बढेको होइन, भन्सार विभागको तथ्यांकले नेपालमा एसीको आयात पनि बढेको देखाउँछ ।

पछिल्लो चार वर्षमा ३ लाख ३३ हजार ५०९ वटा एसी आयात भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ६२ हजार ४३६ एसी आयात भएकोमा आव २०७५/७६ मा ९० हजार ६२ एसी आयात भएका थिए ।

केही वर्षअघिसम्म काठमाडौं उपत्यकाका केही सरकारी कार्यालयमामात्रै एसीको प्रयोग हुन्थ्यो । पछिल्लो समय भने सरकारी कार्यालय मात्र नभएर घर-घरमा पनि एसी जोड्ने क्रम बढ्दो छ । लोडसेडिङ अन्त्य भएपछि एसी आयात बढेको भन्सार विभागको तथ्यांकले देखाउछ ।

यस्तै एसीको मूल्यमा आएको गिरावटले पनि मानिसहरु एसीतर्फ आकर्षित बन्दै गएका हुन् । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो साढे ४ वर्षमा एसीको आयात ४ गुणाले बढेको छ । यस्तै एसी आयात गर्दा १० अर्ब ९३ करोड रुपैयाँ पनि बाहिरिएको छ ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय विजुली दिन नसकेपछि घरमा एसी जडान गरेका उपभोक्ताले आफूले गरेको खर्चबाट सुविधा लिन सकेका छैनन् ।

विद्युत् प्राधिकरणले नियमित विद्युत् आपुर्ति गर्न सके एसीको उपयोगसँगै विद्युतको पनि खपत बढ्ने देखिन्छ ।


शरद ओझा