कार्यविधि नबन्दा चोभार सुख्खा बन्दरगाह सञ्चालन अन्योलमा



काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्योल देखिएको छ ।
विश्व बैंकको डेढ अर्ब बढी ऋणमा निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा अन्योल देखिएको हो ।

सरकारले पहिलो पटक काठमाडौंमा अत्याधुनिक सुख्खा बन्दरगाहको रुपमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य गत साउनमै सम्पन्न गरेको थियो । समितिले यसअघि कार्यविधि कार्यान्वयनमा आए दशैं अगाडिनै सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

तर, निर्माण सम्पन्न भएको ४ महिना वितिसक्दा सञ्चालनका लागि कुनै सुरसार देखिएको छैन । समितिले बन्दरगाहको सम्पूर्ण कार्य सम्पन्न गर्दासमेत अन्य सराकारवाला निकायबाट कुनै निर्णय नआउँदा सञ्चालन हुन नसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

उनकाअनुसार समितिले गर्नुपर्ने सम्पूर्ण भौतिक कार्य सम्पन्न गरिसकेको छ । विशेषगरी भन्सार चाँचपासका लागि बनाइएको हो । त्यसमा, भन्सार विभागले कार्यविधि बनाएर कार्यान्वयनमा आएपछि सञ्चालनमा आउनेछ ।

‘भन्सार विभागले कार्यविधिलगायत कसरी अगाडि जाने भनेर नियम बनाइराखेका छौं भन्दै आएका छन्,’ उनले क्लिकमाण्डूसँग भने । समितिले बन्दरगाह सञ्चालनमा क्वारेन्टिनलगायत भन्सारको व्यवस्थापनका लागि निर्णय कुरिरहेको उनको भनाइ छ ।

सञ्चालनबारे कुनै छलफल भएको छैनः भन्सार विभाग
कार्यविधि कहिले बन्छ र कार्यान्वयनमा भई सञ्चालनमा ल्याउँला भन्दै समिति कुरिरहेका छन् । तर, भन्सार विभागमा भने हालसम्म कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

विभागले कार्यविधिमा कार्य गरिरहेको बताएता पनि कहिले बन्छ र कहिले कार्यान्वयनमा आउँछ भन्नेबारे कुनै जानकारी नरहेको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए ।

उनकाअनुसार सञ्चालनलाई व्यवस्थित बनाउनका लागि कार्यविधि बनाउने कार्य अगाडि बढाएको छ । तर, यही महिना र यति मितिबाट सञ्चालनमा ल्याउनेबारे कुनै छलफल भएको छैन ।

‘नयाँ निर्माण भएको संरचनाको उपयोगका विषयमा कार्यविधिमा व्यवसायीलाई के सुविधा दिएर ल्याउने र कसरी व्यवस्थित गर्नेबारे भने छलफल भइरहेको छ,’ उनले भने ।

काठमाडौंमा कन्टेनर भित्रिने भएपछि त्यसको व्यवस्थापन कसले गर्ने, कोसँग छ र कसलाई जिम्मेवारी दिँदा सहज वातावारण सिर्जना हुन्छ भन्नेबारेमा अध्ययन गरिरहेको उनले बताए ।

उक्त क्षेत्रमा क्वारेन्टिन सुरक्षा, क्वारेन्टिन, गोदामको व्यवस्थापनलगायत अन्य सम्पूर्ण कार्यको व्यवस्था हुनुपर्छ ।

जसमा सरकारका विभिन्न निकाय जोडिएका छन् । त्यसैले भन्सार विभागको तर्फबाट कार्य भइरहेको उनको दाबी छ ।

‘विभागले जनशक्ति व्यवस्थापनका लागि ओएनएम गरेर मन्त्रालय पठाइसकेको छ,’ उनले भने ।

त्यस्तै, सेवाग्राहीहरूले काठमाडौंमा बन्दरगाह भएको भए छिटो सामान ल्याउँथ्यौं भन्नेजस्ता जवाफ नआएको र यार्डहरू खचाखच भयो भन्ने गुनासो नभएकाले बिस्तारै सञ्चालनमा ल्याउने विभागको भनाइ छ ।

अहिलेसम्म यो महिना र यो मितिबाट सञ्चालनमा आउँछ भन्ने कुनै छलफल भएको छैन । साथै, सबै तयारी भयो अब तपाईहरूको तयारी के छ भन्ने खालको लिखित चिठि उपलब्ध नभएको उनले जिकिर गरे ।

‘अहिले उत्तर नाकाबाट सिमित सवारी साधन मात्रै नेपाल भित्रिएका छन् । उक्त भित्रिएका कन्टेर सोही भन्सारमा चाँचपास भइरहेकाले काठमाडौंमा आवश्यकताको हिसाबले सञ्चालनमा ल्याउनेछौं,’ उनले भने । तर, सञ्चालनबारे कुनै निकायसँग छलफल नभएको उनले जानकारी दिए ।

समितिले बन्दरगाह निर्माणका लागिक १ अर्ब ६७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । जसमा बन्दरगाह निर्माणको लागि विश्व बैंकले सहयोग दिएको थियो ।

बन्दरगाहको मुख्य संरचनाहरू बनिसकेको छ । २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण गरिसकेको छ ।

त्यसैगरी कन्टेनर यार्ड र पार्किङ यार्डसहित अन्य कार्य पनि सम्पन्न भएको समतिलिे जनाएको छ । उक्त पार्किङ यार्डमा ५ सय कन्टेर र ५ सय सवारी साधन अट्ने क्षमताका छन् ।

सञ्चालनमा आए काठमाडौंं ल्याउने मालबाहक गाडीको जाँचपासमा सहज
अहिले सम्पूर्ण काठमाडौं ल्याउने सम्पूर्ण मालबाहक गाडीहरूको जाँचपास विभिन्न नाकामा भएको भन्सार कार्यालयबाट हुँदै आएको छ । जसमा वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानीमा भन्सारसम्बन्धि सम्पूर्ण कार्य सकाएर आउनुपर्ने व्यवस्था छ ।

तर, अत्याधुनिक चोभार बन्दरगाह सञ्चालनमा आएमा काठमाडौंको लागि भित्रिएका मालबाहक गाडीहरू सिधै चोभार सुख्खा बन्दरगाहमा जाँचपास गर्न सक्नेछन् ।

चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट भित्रिएका मालबाहक गाडीहरूको चेकजाँच व्यवसायीले चाहेअनुसारको भन्सारमा गर्नपाउनेछ । साथै, उक्त बन्दरगाह सञ्चालनमा आएसँगै अन्य भन्सारमा भीडभाड कम हुने र लागत पनि कम लाग्नेछ ।

अहिले कुनै पनि मालबाहक गाडी आउँदा विभिन्न भन्सार कार्यालयमा जाँचपासको कार्य सकाएर मात्रै उपत्यका प्रवेश गर्ने व्यवस्था छ । आगामी दिनमा काठमाडौंमा प्रवेश गर्ने मालवाहक गाडीले सिधै काठमाडौं गएर भन्सारको कार्य पूरा गर्नसक्ने भएकाले सहज हुनेछ ।

यसले गर्दा विभिन्न नाकामा कुरेर बस्नुपर्ने बाध्यता घट्नेछ । साथै, काठमाडौं तराईको फास्ट ट्र्याक सञ्चालनमा आए झन छिटो र सहज हुने समितिको दाबी छ ।

समितिले आगामी दिनमा व्यापार घाटा कम गर्नको लागि पनि उक्त बन्दरगाहमार्फत् निर्यातलाई प्राथमितामा राखेर सहज बनाउने जनाएको छ ।


अरिष्मा मोक्तान