पुनर्बीमामार्फत् वर्षेनी बाहिरिन्छ अर्बौ रकम, ५ वर्षमा बाहिरियो साढे ७२ अर्ब



काठमाडौं । नेपालबाट पुनर्बीमार्फत् वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने गरेको तथ्यांकले देखाएको छ । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुनर्बीमामार्फत् नेपालबाट बाहिरिने रकम बढ्दै गएको देखिन्छ ।

नेपालमा हाल दुईवटा पुनर्बीमा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । नेपाल पुनर्बीमा पुरानो कम्पनी हो भने हिमालयन रि नयाँ कम्पनी हो । हिमालयन रिले समितिबाट हालैमात्र सञ्चालनको अनुमति पाएको कम्पनी हो ।

समितिले हालसालै स्वदेशमै सबै जोखिमको पुनर्बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । वार्षिकरुपमा पुनर्बीमाको नाममा अर्बौ रुपैयाँ विदेशिने रकमलाई रोक्नका लागि यस्तो निर्देशन दिएको समितिको भनाइ छ ।

पछिल्लो पाँच वर्षको अवधिमामात्रै पुनर्बीमार्फत् नेपालबाट ७२ अर्ब ५२ करोड ६९ लाख ९० हजार रुपैयाँ बाहिरिएको छ ।

बीमा समितिको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/७३ देखि गत आव २०७६/७७ सम्म आइपुग्दा पुनर्बीमामार्फत् सो रकम बाहिरिएको हो ।
उक्त अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीबाट पुनर्बीमामार्फत् ११ अर्ब ३३ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ ।

सो अवधिमा निर्जीवन बीमा कम्पनीबाट पुनर्बीमार्फत् ६१ अर्ब १९ करोड ५२ लाख रुपैयाँ बाहिरिएको छ ।

आव २०७२/७३ मा पुनर्बीमामार्फत् नेपालबाट ८ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ ।

यस आवमा जीवन बीमा कम्पनीबाट ७६ करोड ३४ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीबाट ७ अर्ब ५३ करोड रुपैयाँ बाहिरिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा आइपुग्दा पुनर्बीमार्फत् विदेशिने रकम बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट पुनर्बीमार्फत् १४ अर्ब ५० करोड रुपैयाँ रकम विदेशिएको तथ्यांक छ । यस आवमा जीवन बीमा कम्पनीबाट ४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको छ भने निर्जीवन बीमा कम्पनीबाट १० अर्ब ४६ करोड रुपैयाँ रकम बाहिरिएको समितिको तथ्यांक छ ।

आव २०७४/७५ मा जीवन बीमा कम्पनीबाट एक अर्ब २० करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीबाट ११ अर्ब ८९ करोड रुपैयाँ गरी कुल १३ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीहरुबाट १५ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको छ । यस आवमा जीवन बीमा कम्पनीबाट १ अर्ब ४८ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीबाट १४ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्षमा आइपुग्दा पुनर्बीमार्फत् बाहिरिने रकम बढ्को छ । गत आव २०७६/७७ मा २१ अर्ब २ करोड ४४ लाख रुपैयाँ रकम बाहिरिएको तथ्यांक छ । गत आवमा जीवन बीमा कम्पनीबाट ३ अर्ब ८३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीबाट १७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ ।

निर्जीवन बीमा कम्पनीबाट धेरै रकम बाहिरियो
समितिले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/७३ देखि गत आव २०७६/७७ सम्म जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीबाट बढी रकम बाहिरिएको देखिन्छ ।

जीवन बीमा कम्पनीको नाममा पुनर्बीमार्फत् बाहिरिने रकमको तुलनामा निर्जीवन बीमा कम्पनीबाट बाहिरिने रकम बढी देखिएको हो ।

पाँच वर्षको अवधिमा जीवन बीमा कम्पनीबाट ११ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको तथ्यांक छ । निर्जीवन बीमा कम्पनीबाट भने उक्त अवधिमा ६१ अर्ब १८ करोड ५२ लाख ११ हजार रुपैयाँ बाहिरिएको छ ।

आव २०७२/७३ मा भने जीवन बीमा कम्पनीबाट नै धेरै रकम बाहिरिएको छ । आव २०७३/७४ मा निर्जीवन बीमा कम्पनीबाट १० अर्ब रकम बाहिरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा निर्जीवन बीमा कम्पनीबाट १७ अर्ब १९ करोड रुपैयाँ विदेशिएको छ ।


बिजया बास्कोटा