असोजमा निक्षेपमा सनराइज र कर्जामा ग्लोबल आइएमई बैंक फस्ट, कुन बैंकको के भयो ?



काठमाडौं । असोज महिनामा एनआईसी एशिया बैंकको निक्षेप ३ अर्ब रुपैयाँले घट्दा सनराइज बैंकले २० अर्ब रुपैयाँले बढाउन सफल भएको छ । असोज महिनामा मात्र बैंकहरुको निक्षेप ९७ अर्बले बढ्दा कर्जा १ खर्ब २६ अर्ब रुपैयाँले बढेको छ ।

असोज महिनामा सबैभन्दा धेरै निक्षेप बढाउनेमा सनराइज बैंक छ । सनराइज बैंकले १९ अर्ब ६ करोड निक्षेप बढाएर निक्षेपको आकार १ खर्ब ३२ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, धेरै निक्षेप बढाउने दोस्रो स्थानमा सानिमा बैंक छ । सानिमा बैंकले १० अर्ब ६७ करोडले बढाएर १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप पुर्याएको छ ।

विगतमा निक्षेप बढाउने बैंकमा सँधै अगाडि हुने एनआईसी एशिया बैंक असोज महिनामा भने निक्षेप घटेको छ । बैंकको असोज महिनामा ३ अर्ब ४६ करोड रुपैयाँले निक्षेप घटेर ३ खर्ब ११ अर्ब रुपैयाँमा खुम्चिएको छ । तर अन्तिम साताको तीन दिनमा ७ अर्बले निक्षेप बढाएर क्लोजिङ ब्यालेन्ससिटमा केही सुधार गर्न सफल भएको छ । असोज महिनामा निक्षेप घटेपनि सबैभन्दा बढी निक्षेप हुने बैंकमा एनआईसी एशियानै छ ।

असोज २२ गते बैंकहरूको निक्षेप संकलन

त्यस्तै कर्जातर्फ असोज महिनामा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले बढाएको छ । बैंकले ११ अर्ब ४९ करोड रुपैयाँले कर्जा बढाएको हो । असोज मसान्तसम्ममा बैंकले २ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा दिएको छ । कर्जामा यो बैंक दोस्रो स्थानमा छ ।

असोज महिनामा सबैभन्दा बढी कर्जा बढाउने दोस्रो स्थानमा भने सनराइज बैंक छ । बैंकले यस अवधिमा ११ अर्ब ६ करोडले कर्जा बढाएको छ । असोज मसान्तसम्म बैंकले १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा दिएको छ ।

निक्षेप घटेपनि उक्त अवधिमा कृषि विकास बैंक कर्जा बढाउनेमा तेस्रो स्थानमा छ । बैंकको निक्षेप १ अर्ब ८९ करोडले घटेपनि कर्जा भने १० अर्ब १ करोड रुपैयाँले बढेको छ ।


कमलकुमार बस्नेत