असोजमा ब्याज बढाउने सनराइजले २० अर्ब र सानिमाले १२ अर्ब निक्षेप बढाए, एनआइसीको घट्यो



काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाए । जसको प्रभावस्वरुप नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएको छ ।

ब्याजदर बढाएर निक्षेप तान्ने काम भने असोज महिनादेखि नै शुरु भइसकेको थियो । असोज महिनामा सबैभन्दा बढी ब्याजदर बढाउने बैंकहरुमा सनराइज, सानिमा र मेगा बैंक थिए । तीनवटा बैंकले कात्तिक महिनामा भने ब्याजदर घटाएका छन् ।

असोज महिनामा ब्याजदर बढाउने बैंकको निक्षेप बढेको देखिएको छ । भदौ मसान्तसम्म वाणिज्य बैंकमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंको विदा शुरु हुने अघिल्लो दिन असोज २५ गतेसम्म वाणिज्य बैंकमा ४२ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप थियो ।

असोज मसान्तमा वाणिज्य बैंकको निक्षेप त्यही हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । यस्तै कर्जा भदौ मसान्तमा ३८ खर्ब ७१ अर्ब रुपैयाँ थियो । असोज २५ मा ३९ खर्ब ८५ अर्ब रुपैयाँ थियो । २५ दिनमा बैंकहरुमा ५८ अर्ब रुपैयाँले निक्षेप तथा कर्जा १ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ ।

‘असोज महिनामा जुन बैंकले ब्याजदर बढाए, त्यही बैंकको निक्षेप बढ्यो, अब कात्तिक महिनामा ब्याजदर बढाउने बैंकको निक्षेप बढ्नेछ, यसरी ब्याजदर बढाउने बैंकको मात्र निक्षेप बढेपछि अरु बैंकले ब्याजदर बढाउनुपर्ने बाध्यता हुन्छ,’ एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने ।

सनराइज बैंक
सनराइज बैंकको भदौ मसान्तमा कुल निक्षेप संकलन १ खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमा स्वदेशी मुद्रामा १ खर्ब १० अर्ब तथा विदेशी मुद्रामा २ अर्ब १६ करोड रुपैयाँ थियो । कर्जा भने १ खर्ब ७ अर्ब रुपैयाँ थियो । १ खर्ब ४ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा र विदशी मुद्रामा ३ अर्ब २० करोड रुपैयाँ कर्जा थियो । भदौ मसान्तमा सनराइजको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.८६ प्रतिशत थियो ।

असोज महिनामा सबैभन्दा बढी ब्याजदर बढाएको सनराइज बैंकले थियो । सनराइजले बैंकले १० प्रतिशतभन्दा बढी ब्याजदरमा निक्षेप तानेको थियो । असोज महिनामा २० अर्ब रुपैयाँ निक्षेप सनराइज बैंकको बढेको अनुमान बैंकरहरुको छ ।

क्लिकमाण्डूलाई प्राप्त असोज २२ गतेसम्मको वाणिज्य बैंकको निक्षेप तथा कर्जाको विवरण अनुसार सनराइज बैंकको निक्षेप १ खर्ब ३० अर्ब रुपैयाँ छ । जसमा स्वदेशी मुद्रामा १ खर्ब २८ अर्ब रुपैयाँ तथा स्वदेशी मुद्रामा २ अर्ब १६ करोड रुपैयाँ निक्षेप रहेको छ । कर्जातर्फ १ खर्ब १४ अर्ब रुपैयाँ छ । जसमा १ खर्ब १० अर्ब स्वदेशी मुद्रामा ३ अर्ब ९३ करोड रुपैयाँ विदेशी मुद्रामा छ । निक्षेप बढाएपछि सनराइजको कर्जा निक्षेप अनुपात ८२ प्रतिशतमा झरेको छ ।

सानिमा बैंक
असोजमा ब्याजदरसँगै बढाएर निक्षेप वृद्धि गरी कात्तिकमा ब्याजदर घटाउने बैंकमा सानिमा पनि पर्छ । सानिमा बैंकको भदौ मसान्तसम्ममा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो । स्वदेशी मुद्रामा १ खर्ब २५ अर्ब रुपैयाँ तथा विदेशी मुद्रामा ७ अर्ब ३५ करोड रुपैयाँ थियो । कर्जा १ खर्ब २७ अर्ब रुपैयाँ थियो । जसमा १ खर्ब २२ अर्ब रुपैयाँ स्वदेशी मुद्रा तथा विदेशी मुद्रामा ५ अर्ब २९ करोड रुपैयाँ थयो । भदौ मसान्तमा सानिमा कर्जा निक्षेप अनुपात ८८.७३ प्रतिशत थियो । १० प्रतिशतभन्दा केही बिन्दु कम ब्याजदर सानिमाले असोज मसान्तमा अफर गरेको थियो । असोज २२ गतेसम्म सानिमा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कर्जा निक्षेप अनुपात ८५.५२ प्रतिशतमा पुगेको छ ।

एनआईसी एशिया बैंक
सधै निक्षेप बढ्ने एनआईसी एशिया बैंकको निक्षेप असोज महिनामा भने घटेको छ । एनआईसी एशिया बैंकको भदौ मसान्तमा ३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप तथा कर्जा २ खर्ब ७८ अर्ब रुपैयाँ थियो । एनआईसी एशिया बैंकलाई विदेशी मुद्रामा नक्कली निक्षेप राखेको आरोप छ । जसमा स्वदेशी मुद्रामा २ खर्ब ९५ अर्ब रुपैयाँ तथा विदेशी मुद्रामा १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप थियो ।

असोज २२ गतेसम्मको तथ्यांक अनुसार एनआईसी एशियाको निक्षेप ३ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ । २ खर्ब ८५ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा छ भने विदेशी मुद्रामा १७ अर्ब रुपैयाँ छ । कर्जा भने २ खर्ब ७७ अर्ब रुपैयाँ छ । राष्ट्र बैंकले विदेशी मुद्रामा ब्याज पनि नपाइने र सीडीमा गणना गर्न नदिने भएपछि एनआईसी एशिया सबैभन्दा ठूलो दबाबमा छ । जसले गर्दा एनआईसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ११.१० प्रतिशत पुर्याएको छ ।

यी बैंकको असोज महिनामा निक्षेप बढ्यो
असोज महिनामा निक्षेप बढाउने बैंकमा सनराइज, सानिमा, मेगा बैंक छन् । यस्तै बैंक अफ काठमाण्डू, सेञ्चुरी र एभरेष्ट बैंक रहेका छन् । यस्तै ग्लोबल, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, नबिल बैंकको पनि निक्षेप बढेको छ । एनबी, नेपाल बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, एनएमबि बैंकको निक्षेपपनि बढेको छ । एसबिआई, प्रभु, प्राइम, सिदार्थ बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको पनि निक्षेप बढेको छ

निक्षेप घट्ने बैंकहरु
सो अवधिमा एनआईसी एशिया बैंकको निक्षेप सबैभन्दा धेरै घटेको छ । त्यसैगरी असोजमा धेरै निक्षेप घटेपछि एनआइसी एशिया बैंकले कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर दिने बैंक बनेको छ । निक्षेप घट्ने बैंकहरुमा कृषि विकास बैंक, सिटिजन्स, सिभिल बैंक छन् । यी बैंकले पनि कात्तिकमा लागू हुने ब्याजदर बढाएका छन् ।

‘असोज र कात्तिकमा ब्याजदर नबढाउने बैंकहरुले मंसिरमा नबढाइ सुखै छैन, किनभने ब्याजदर नबढाउने बैंकको निक्षेप ब्याजदर बढाउने बैंकहरुले तान्ने हो,’ ब्याजदर नबढाएको एक बैंकका सीइओले भने, ‘यस्तै हो भने मंसिरमा मेरो बैंकले पनि १३÷१४ प्रतिशतको स्किम निकाल्नै पर्ने बाध्यता हुन्छ ।’

यसरी ब्याजदर बढेपछि बैंकरहरुले राष्ट्र बैंकलाई हस्तक्षेप गर्नका लागि हारगुहार समेत गर्न थालेका छन् । राष्ट्र बैंकले भने अझै १÷२ साताको अवस्था हेरेर मात्रै निर्णय गर्ने प्रतिक्रिया दिएको बैंकहरुको भनाइ छ ।


क्लिकमान्डु