आफ्नै निर्देशन उल्लंघन हुँदा पनि राष्ट्र बैंक चुपचापः मंसिरमा ब्याजदर अझै माथि जाने



काठमाडौं । राष्ट्र बैंकको फितलो नियमनको फाइदा उठाउँदै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणको चरम अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलताको अभाव देखिएको बाहनामा गत भदौदेखि नै बैंकहरुबीच ब्याजदर वृद्धिको होड चलेको थियो ।

अहिले विशेषगरी मुद्दति निक्षेपको ब्याजदर ११.६७ प्रतिशतसम्म पुगेको छ । यसले सोमबारको सेयर बजारमा समेत ठूलो नकारात्मक असर देखाएको छ । कर्जाको ब्याजदर बढेर धेरैमाथि पुग्ने अनुमानमा घट्दै गएको बजारमा सेयरको कारोबार मापक नेप्से सोमबार पनि उच्च दरमा अर्थात् ७० अंकले घटेको थियो । मंगलबार पनि नेप्से भारी अंकले घटेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत बिडिङको ब्याजदरलाई ३ महिनासम्म परिवर्तन गर्न पाइँदैन । कात्तिकका लागि प्रकाशित बैंकहरुको ब्याजदरअनुसार केही बैंकले राष्ट्र बैंकको यो निर्देशनलाई समेत लत्याएका छन् । यसले बैंकिङ क्षेत्रमा अराजकता निम्त्याउने भन्दै नेपाल बैंकर्स एसोशिएसनका पदाधिकारीहरु सोमबार राष्ट्र बैंक पुगेर उच्च अधिकारीहरु समक्ष हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

तर, केही समययता हरेक क्षेत्रबाट आलोचना खेपिरहेको राष्ट्र बैंकले रुची कम देखाएको वार्तामा सहभागी एक सदस्यले जानकारी दिए । ती अधिकारीका अनुसार बैंकहरु ब्याजदर तोक्न स्वतन्त्र भएपनि अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो भने राष्ट्र बैंकले रोक्नुपर्छ ।

अघिल्लो महिना निक्षेप कम भएर डलरलाई नक्कलीरुपमा निक्षेप गणना गरी कर्जा निक्षेप अनुपात कायम गरेको एनआइसी एशियाले संस्थागत मुद्दतिमा ब्याजदर परिवर्तन गरेको छैन । तर, यो बैंकले बचत तथा व्यक्तिगत मुद्दतिको दर क्रमशः ८ र ११ माथि पुर्याएको छ भने हिमालयन बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याज ११.६७ प्रतिशत पु¥याएको छ, जुन सबैभन्दा बढी हो ।

हिमालयन बैंकमा कर्मचारी सञ्चयकोषका प्रतिनिधि पनि सञ्चालक भएको र उक्त संस्थाको करिव १५ अर्ब रुपैयाँको बिडिङ यसैहप्ता भएकाले उक्त ठूलो परिमाणको रकमका लागि हिमालयन बैंकले उच्च ब्याजदर निर्धारण गरेको अनुमान गरिएको छ । हिमालयन बैंकले संस्थागत मुद्दतिको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गरेको छ भने कर्जा निक्षेप अनुपात पनि केन्द्रीय बैंकको निर्देशनभन्दा निकै माथि पुर्याएको छ ।

`
सिद्धार्थ, बीओके, लक्ष्मी, हिमालयन, कुमारीलगायतका बैंकले असोजमा पनि संस्थागत बिडिङका लागि ब्याजदर बढाएका थिए । र, कात्तिकमा पनि यस्तो ब्याजदर बढाएका छन् । अहिले बैंकहरुले चलाखीपूर्ण तरिकाले बिडिङ र नन् बिडिङ भनी ब्याजदर अफर गरिरहेका छन् । संस्थागत निक्षेप अन्तर्गत नन् बिडिङ भनिए पनि कोटेसन माग गरेर उच्च ब्याजदर प्रस्ताव गर्नेलाई दिने गरिएको छ । यो पनि प्रतिस्पर्धाको अर्को रुप हो । यसलाई नन् बिडिङ वा लिने दिने बीचको सहमतिका आधारमा निर्धारण गरिएको ब्याजदर भन्न मिल्दैन ।

गत असोजमा कतिपय बैंकहरुले प्रकाशित दरभन्दा बढी दिएर पनि संस्थागत निक्षेप लिएका थिए । र, त्यसमा पनि राष्ट्र बैंकले कुनै कारबाही नगरेको एक बैंकरले जानकारी दिए । राष्ट्र बैंकले ब्याजदर जति पनि बढाउन दिने र अस्वस्थ प्रतिस्पर्धा समेत हुन दिने हो भने मंसिरमा बैंकहरु आफ्नो निक्षेप बचाउन अहिलेको भन्दा बढी ब्याजदर प्रस्ताव गर्न उत्रिनेछन् । किनकी, निक्षेपको स्रोत अन्यत्र नभएकोले अहिलेको ब्याजदर वृद्धिले एउटा बैंकको परिपक्व भएको निक्षेप अर्को बैंकमा सार्ने कामलाई मात्र सहयोग गर्नेछ । अर्थतन्त्रका लागत बढाएर मुद्रास्फीतिमा वृद्धि गर्ने र आर्थिक गतिविधिहरुमा संकुचन ल्याउने काम मात्र गर्नेछ ।

यतिमात्र होइन, आफ्नो निर्देशन विपरीत कर्जा निक्षेप अनुपात कायम गर्न नसक्ने बैंकहरुलाई पनि राष्ट्र बैंकले कार्बाही गरेको छैन । राष्ट्र बैंक स्रोतका अनुसार नेपाल एसबीआई बैंकको कर्जा निक्षेप अनुपात ७६ बाट बढेर ९४ पुगेको छ भने एनआईबीको ९६ बाट ९५ मा झरेको छ ।

हिमालयन बैंकको कर्जा निक्षेप अनुपात ९० बाट बढेर ९३ पुगेको छ । त्यस्तै कुमारी बैंकको ८९ बाट ९२ पुगेको छ भने सिभिल बैंकको ८६.९५ बाट बढेर ९०.२६ पुगेको छ । एनसीसी बैंकको ९१ बाट बढेर ९१.३४ पुगेको छ भने बीओकेको पनि ९२ बाट बढेको छ । राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार यस्तो अनुपात निर्देशन जारी गर्नुपूर्वको अवस्थाबाट ९० भन्दा बढी हुन हुँदैन । यदि कसैको ९० माथि रहेको छ भने आगामी असारभित्र ९० मुनि ल्याइसक्नुपर्नेछ ।

यसको मतलव अहिले ९० मुनि छ अथवा ९० माथि छ भने पनि बढाउन पाइने भन्ने होइन । घटाउँदै ल्याएर ९० प्रतिशत मुनि कायम गर्नुपर्ने हुन्छ । यसरी आफ्नै निर्देशन उल्लंघन भैरहँदा पनि राष्ट्र बैंक आश्चर्यजनक ढंगले मौनता साँधेर बसिरहेको छ । राष्ट्र बैंकका अधिकारीहरु बैंकहरुको ब्याजदर वृद्धिलाई शुक्ष्म निगरानी गरिरहेकको बताउँछन् ।

‘वाणिज्य बैंकले ब्याजदरको विषयमा अस्वस्थ प्रतिष्पर्धा गरिरहेको जस्तो देखिएको छ । हामीले संयम हुन भनिरहँदा पनि संयम हुन नसकेको हो कि जस्तो हाम्रो बुझाइ छ । ब्याजदर बढाउँदा एउटा बैंकमा भएको निक्षेप अर्को बैंकमा जाने मात्रै हो,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘बजारमा भइरहेको गतिविधिलाई नजिकबाट हेरिरहेका छौं । तर ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले कामहरु पनि गरिरहेको छ । अब अध्ययनपछि प्राप्त हुने निष्कर्षबाट के गर्नुपर्छ त्यो उपाय अबलम्बन गर्छौ ।’


क्लिकमान्डु