तारे होटल, अपार्टमेन्ट र हाउजिङसहितको ‘द हब लुम्बिनी’ बन्दै



काठमाडौं । धार्मिक र इतिहासिक गन्तव्य लुम्बिनीमा तारे होटल र हाउजिङ परियोजना तीब्र रुपमा बढ्दै गएको छ । विभिन्न औद्योगिक र व्यापारिक केन्द्र बन्दै गएको लुम्बिनी क्षेत्रमा निजी क्षेत्रले हाउजिङ, अपार्टमेन्ट र तारे होटलको निर्माणमा जोड दिएका छन् ।

त्यस्तै, धेरै परियोजनामा काम गरिसकेका सीइ कन्स्ट्रक्सन कम्पनीले लुम्बिनीमा ‘द हब लुम्बिनी’को निर्माण गर्ने भएको छ । व्यापारिक केन्द्रसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको लुम्बिनी प्रदेशमा सीइले विभिन्न सेवा सुविधासहित ‘द हब लुम्बिनी’ को निर्माण कार्य अगाडि बढाएको हो ।

कम्पनीले ग्रान्डी होल्डिङ्स र पर्यटन व्यवसायी योगेन्द्र शाक्यको मुख्य लगानी रहेको उक्त ‘द हब लुम्बिनी’ निर्माण कार्य तीव्र रुपमा भइरहेको जनाएको छ ।

लुम्बिनीको मायादेवी मन्दिरबाट ५ किमि र भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ किमिको दूरीमा बन्ने ‘द हब लुम्बिनीमा’ हस्पिटालिटी, हाउजिङ, अपार्टमेन्ट, होटल रेष्टुराँ र कृषिको फ्युजनसहितको सेवा सुविधा हुने कम्पनीका मार्केटिङ अफिसर सन्जिता डंगोलले बताइन् । कम्पनीले ७ विघा क्षेत्रफलमा उक्त परियोजना शुरु गरेको हो ।

सात बिघामध्ये करिब ४ बिघा क्षेत्रफलमा हाउजिङदेखि व्यावसायिक अर्गानिक फार्मिङसम्मका प्रोजेक्ट निर्माण गर्ने भएको छ । उनका अनुसार सीइले हालसम्मकै उच्च सेवा सुविधासहितको निर्माण गर्ने कार्य अगाडि बढाएको हुनाले उक्त परियोजनालाई पाइलट प्रोजेक्टको रुपमा लिइएको हो ।

कम्पनीले पछिल्लो समय पर्यटकीय हिसाबले तीव्र रुपमा विकास हुँदै गएकाले सो क्षेत्रमा तारे होटल, रेष्टुराँ, आवासीय तथा व्यापारिक भवनको व्यवस्था गर्ने भएको छ ।

कम्पनीले ‘द हब लुम्बिनी’ परियोजनामा मिक्स रो हाउजिङ, रेष्टुरेन्ट क्लस्टर, वाटरपार्क, व्यवसायीक भवन, होटल शाक्य मुनी, हाउजिङ क्लस्टर, माया अपार्टमेन्ट, सर्भिस जोन र पार्किङको व्यवस्था गर्ने भएको छ ।

‘कम्पनीले हाल हाउजिङ निर्माणको लागि प्रतिआनाको जग्गाको मूल्य १२ लाख तोकेको छ । सो १२ लाख आना रहेको जग्गामा ५ युनिट हाउजिङ बन्नेछ’ डंगोलले भनिन्, ‘त्यसमा ४ वटा हाउजिङ बिक्री भइसकेको छ भने एउटा होल्डमा रहेको छ ।’

डंगालेले जग्गाको मूल्य प्रतिआना १२ लाख आना तोकेपनि अन्य युनिट हाउजिङको भने हालसम्म टुंगो नलागेको बताइन् । सो घरहरूमा व्यावसायिक तथा आवासीय प्रयोजनका हुने भएकाले आगामी दिनमा मूल्य बढ्ने उनले जिकिर गरिन् । साथै सो क्षेत्रमा व्यापारसँगै बसोबास गर्न सकिनेछ ।

३८ युनिटको ‘माया अपार्टमेन्ट’
उक्त परियोजनामा हाउजिङसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको छ । उक्त अपार्टमेन्टको कार्य भने शुरु भइसकेको डंगोलको भनाइ छ । कम्पनीले बन्दै गरेको अपार्टमेन्टको नाम ‘माया अपार्टमेन्ट’ दिइएको छ ।

कम्पनीका अनुसार अपार्टमेन्ट पाँच तल्लाको बन्ने भएको छ । सो अपार्टमेन्टमा स्टुडियो युनिटसँगै एक, दुई र चार बेडरुको व्यवस्था हुनेछ । ‘द हब लुम्बिनी’भित्रै बन्दै गरेको माया अपार्टमेन्टमा ३८ युनिट बन्नेछ । उक्त अपार्टमेन्टहरू ४०८ वर्गफीटदेखि २१९३ वर्गफिटसम्म बिल्डअप एरियामा बन्नेछ ।

कम्पनीले स्टुडियोसहिताको अपार्टमेन्टमा कार्पेट १ बीएचके, २ बीएचके अपार्टमेन्ट र ४ बीएचके २१ सय ९३ वर्गफिट रहेको अपार्टमेन्ट अपार्टमेन्ट बनाउनेछन् ।

तारे होटल र रेष्टुराँ
कम्पनीले हाउजिङ, अपार्टमेन्टसँगै तारे होटल र रेष्टुरेन्टको सुविधा दिने भएको छ । कम्पनीले अपार्टमेन्ट र रेष्टुरेन्ट २ वर्षमा बनिसक्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार ‘द हब लुम्बिनी’ परियोजनामा ५ वटा रेष्टुराँसँगै तारे होटल सञ्चालन हुनेछ । सो होटल व्यवसायी योगेन्द्र शाक्यले निर्माण शुरु गरेका हुन् । उक्त होटलको नाम ‘होटल शाक्य मुनी’ नाम दिइएको छ ।

कम्पनीले सोही क्षेत्रमा ५ वटा रेष्टुराँका लागि जग्गा बिक्रीको काम सकिएको छ । साथै सो परियोजनामा एउटा कन्भेन्सन सेन्टर र अर्को वाटरपार्क समेत व्यवस्था गरेको छ । ७ विघामा बन्दै गरेको उक्त परियोजनामाभित्र ८ मिटरको सडक, बगैंचा, पार्किङ र वरिपरी हरियाली गार्डेनको व्यवस्था हुने कम्पनीले जनाएको छ ।


अरिष्मा मोक्तान