गोर्खा ब्रुअरीले जर्ती बढी कटाएर १ अर्ब राजस्व छल्यो, उठाउन महालेखा परीक्षकको निर्देशन



काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा ठूला करदाता कार्यालय अन्तर्गतको बियर उत्पादक कम्पनीले जर्ती बढी कटाएर कल छलेको उल्लेख छ ।

प्रतिवेदनमा नाम नभएपनि ठूला करदाता कार्यालय अन्तर्गतको बियर उत्पादक कम्पनीले २ प्रतिशतसम्म जर्ती दाबी गर्न पाउने नियम विपरित कम्पनीले १ प्रतिशत बिन्दुले बढी लिएको उल्लेख छ ।

गोर्खा ब्रुअरीले टुबर्ग,काल्सबर्ग तथा गोर्खा ब्राण्डमा बियर उत्पादन गर्छ । बियर बजारमा करिब ५० प्रतिशत हिस्सा गोर्खाको छ ।

गोर्खा ब्रुअरीले नियम विपरित ५९ लाख ७६ हजार लिटिर बियरमा बढी जर्ती दाबी गरेर अन्तःशुल्क तिरेको थिएन । ब्रुअरीले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म १ प्रतिशत बिन्दुले बढी लिएर ९२ करोड रुपैयाँ कर छली गरेको देखिएको हो ।

कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तःशुल्कको रकम नतिर्न उच्च अदालत पोखरामा मुद्दा दायर गरेका थियो । उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा फैसला गरेपनि सर्बोच्च अदालतले सो फैसला उल्टाएको थियो । सर्बोच्चले उच्च अदालतका न्यायधीशहरुले नियम विपरित फैसला गरेको ठहर गरेको थियो ।


क्लिकमान्डु