गोर्खा ब्रुअरीले डेढ अर्ब रुपैयाँ कर छल्यो, कर नतिर्न फरक-फरक अदालतमा मुद्दा



काठमाडौं । नेपाली बियर बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरीले विगत ५ वर्षदेखि कर छलेको छ । ब्रुअरीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने कर कार्यालयले गरेको अनुसन्धानले देखाएको छ ।

गोर्खा ब्युअरीको उद्योग नवलपुर जिल्लामा छ । सो उद्योग भरतपुर कर कार्यालय अन्तर्गत दर्ता छ ।

कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को कर परिक्षण गरेर ८८ करोड १० लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

बियर उत्पादन गर्ने उद्योगलाई २ प्रतिशतसम्म यसको उत्पादनदेखि वितरण प्रक्रियामा टुट्ने फुट्ने भएकोले जर्ती कटाउन पाउने व्यवस्था गरिएको छ ।

तर, गोर्खा बुअरीले ३ प्रतिशत जर्ती कटाएको भन्दै कर कार्यालयले गोर्खा ब्रुअरीलाई जेठ ९ गते कर लगाउने भनेर मुद्दा दायर गरेको थियो ।

५ वर्षदेखि अन्तशुल्कमा विवादमा रहेको गोर्खा बु्रअरीले फरक फरक अदालतमा मुद्दा दायर गरेपछि कर अधिकारीहरुले कर कानूनको विपरितको काम भएको बताएका छन् ।

अन्त शुल्क ऐन र नियमावलीमा २ प्रतिशतसम्म जर्ती कटाउने व्यवस्था अन्तर्गत कर मिनाह गर्न सक्ने व्यवस्था रहेकोमा सोभन्दा बढी कम्पनीले दाबी गरेको भन्दै दुई आर्थिक वर्षको कर ८८ करोड १० लाख रुपैयाँ तिनुपर्ने पत्र पठाएको छ ।

एकैदिन आर्थिक वर्ष २०७३/७४ मा ५२ करोड १६ लाख र २०७४/७५ मा ३५ करोड ९४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

कर कार्यालयको पत्र पाएपछि गोर्खा ब्रुअरीले भने उच्च अदालत पोखरामा मुद्दा दायर गर्यो ।

गोर्खा ब्रुअरी भरतपुर कर कार्यालय अन्तर्गत दर्ता छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने उद्योग नवलपुरमा रहेको छ । नवलपुर प्रदेश ४ नम्बरमा पर्ने भन्दै कम्पनीले कर कार्यालयको पत्रलाई आधार मानेर कर निर्धारण प्रक्रिया रोक्न माग गर्दै उच्च अदालतमा निवेदन दियो ।

जबकी कर कानून विपरित गोर्खा ब्रुअरी उच्च अदालत पोखरामा मुद्दा दायर गर्न गएको हो ।

उच्च अदालत पोखराले असार २ सम्म केही नगर्नु भनेर अन्तरकालिन अन्तरिम आदेश दियो । असार ३ गते मुद्दाको सुनुवाई भएपछि अदालतले असार ११ गतेसम्म केही नगर्नु भनेर फैसला गर्यो ।

असार ११ गते उच्च अदालत पोखराका न्यायधीशद्वय जिवनहरि अधिकारी र नरबहादुर शाहीको सयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्दै कर निर्धारण नगर्न फैसला सुनाए ।

कर कार्यालयलेले भने यो विषयमा आन्तरिक राजस्व विभागसँग समेत परामर्श गरेको छ । आदेशको विरोधमा सर्बोच्च अदालतमा भ्याकेट हाल्ने तयारी कार्यालयको छ ।

कार्यालयका प्रमुख सुभ रिजालले आदेश अहिलेसम्म अदालतबाट कार्यालयमा आइनपुगेको बताए । लिखितरुपमा आएपछि कसरी अघि बढ्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

गोर्खा बु्रअरीको अन्तशुल्कको विवाद नयाँ भने होइन । अहिले पनि राजस्व न्यायधीकरण र सर्बोच्च अदालतमा ३ वटा आर्थिक वर्षमा कर कार्यालय निर्धारण गरेको अन्तशुल्कको मुद्दा विचाराधीन रहेको छ ।

आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ को मुद्दा राजस्व न्याधिकरणमा विचाराधिन रहेको छ । जसमा कर कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा ७ करोड १८ लाख र २०७१/७२ मा १५ करोड ६१ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा निर्धारण भएको २९ करोड १६ लाख रुपैयाँ कर निर्धारण विरुद्द सर्बोच्च अदालत गएको थियो । सर्बाच्चका तत्कालिन प्रधानन्यायधीश गोपाल पराजुलीको इजालशले कर असूली प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।

५ वर्षदेखि अन्तशुल्कमा विवादमा रहेको गोर्खा बु्रअरीले फरक फरक अदालतमा मुद्दा दायर गरेपछि कर अधिकारीहरुले कर कानूनको विपरितको काम भएको बताएका छन् ।

गोर्खा ब्रुुअरीको सन् १९८९ मा नेपालको खेतान ग्रुप र काल्सबर्गको साझेदारीमा बियर उत्पादन गर्न खोलिएको कम्पनी हो । सन् २०१० मा काल्सबर्ग गु्रपले यसको बहमुत सेयर खेतान ग्रुपबाट खरिद गरेको थियो ।

गोर्खा ब्रुअरीले नेपालमा टुबोर्ग, गोर्खा तथा काल्सबर्ग ब्राण्डमा बियर र सोमरसबी उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाली बियर बजारमा ७० प्रतिशत हिस्सा ओगटेको दाबी गर्छ ।

यस विषयमा पटक-पटक कुरा गर्न खोज्दा कम्पनीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले कुनैपनि रेस्पोनस गरेनन् ।

कर कार्यालयले गोर्खा ब्रुअरीलाई पठाएको पत्र


पुष्प दुलाल