नेप्सेका सीइओ साउदको अनैतिक धन्धा: लिलामीको सेयर भरेको भेटियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ ।

क्लिकमाण्डूलाई प्राप्त कागजअनुसार नेप्सेका सीइओ साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको लिलामीमा भाग लिएका थिए ।

सिभिल लघुवित्तले जारी गरेको हकप्रद सेयर बिक्री नभएपछि गतवर्ष असोजमा लिलाम बढाबढ गरेर हकप्रद सेयर बिक्री गरेको थियो ।

सिभिल लघुवित्तको ११ हजार ६०८ कित्ता संस्थापकतर्फ र ८९ हजार ४५० कित्ता साधारणतर्फको हकप्रद बिक्री नभएपछि लिलामी खुल्ला गरेको थियो ।

नेप्से सीइओलाई आइपीओ भर्न छुट छ । तर, लिलामीको सेयर लिलाम बढाबढमा हुने भए पनि नेप्सेको सीइओले शक्तिको दुरुपयोग गरेर आफूलाई पार्न सक्ने सम्भावना बढी हुन्छ । त्यो हुँदा धितोपत्र बोर्डको नेतृत्व तथा नेप्सेको नेतृत्वमा बस्नेले हकप्रदको लिलामीको प्रक्रियामा सहभागी हुँदा नैतिक प्रश्न उठ्छ ।

नेप्से सीइओ साउदले ५०० कित्ता सेयर प्रतिकित्ता ६४५ रुपैयाँको दरले किन्नको लागि लिलामी प्रक्रियामा सहभागी भएका थिए ।

सेयर बजारका जानकार विश्लेषक मुक्ति अर्याल नियामक निकाय र नेप्सेको सीइओको भूमिकामा बस्ने व्यक्तिले बिक्री नभएको हकप्रदको लिलामी प्रक्रियामा सहभागी हुन नमिल्ने बताउँछन् ।

‘लिलामीमा नियामक निकायका प्रमुख र नेप्सेका सीइओ सहभागि नहुँदा राम्रो हुन्छ, विदेशमा यस्तो अभ्यास हुँदैन,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

‘लिलामीमा नियामक निकायका प्रमुख र नेप्सेका सीइओ जस्ता ब्यक्तिहरुले सहभागि नहुँदा ठिक हुन्छ। यस्तो गतिविधीमा सहभागी हुँदा नियमन निकाय र ति अधिकारीको चासो बाझिन्छ। सोहि कारण विदेशमा यस्तो अभ्यास हुँदैन। हामीकहॉ पनि यस्तो हुनुहुदैन,’ अर्यालले भने ।

नेप्से सीइओ साउदले बुक बिल्डिङबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमति शुसीलाकुमारी बोहराको नाममा १० हजार कित्ता किनेका थिए । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा सेयर किनेका थिए ।

साउद र ढुंगानाले सर्वोत्तमको सेयर खरिद गरेको विषय अहिले हट केक बनेको छ । अर्थ मन्त्रालयले दुबै जनालाई स्पष्टिकरण सोधिसकेको छ ।


पुष्प दुलाल