आन्तरिक राजस्व असुली ९५%, मूल्य अभिवृद्धिमा भेटियो लक्ष्य



काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ९५.२६ प्रतिशत आन्तरिक राजस्व उठाएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षका लागि ४ खर्ब ५० अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको असुली लक्ष्य रहेकोमा ४ खर्ब २९ अर्ब १ करोड १० लाख रुपैयाँ बराबर उठेको हो ।

गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यसवर्ष करिब ५० अर्ब बढी राजस्व संकलन भएको छ । गतवर्ष ३ खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ बराबरको आन्तरिक राजस्व संकलन भएको थियो ।

गतवर्ष मूल्यअभिवृद्धि कर र स्वास्थ्य सेवा करमा मात्रै असुली लक्ष्य भेटिएको छ ।

मूल्य अभिवृद्धितर्फ सरकारले १ खर्ब १२ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको लक्ष्य रहेकोमा १०३.८८ प्रतिशत अर्थात् १ खर्ब १६ अर्ब ३८ करोड १९ लाख रुपैयाँ बराबर असुली भएको छ ।

त्यस्तै स्वास्थ्य करतर्फ ३ अर्ब १३ करोड ९३ लाख रुपैयाँ बराबरको लक्ष्य राखिएकोमा १५९.९१ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ बराबर असुली भएको छ ।

आयकरतर्फको कर असुलीमा ९५.०७ प्रतिशत बराबर मात्रै संकलन भएको छ । गत आर्थिक वर्षका लागि सरकारले २ खर्ब १० अर्ब ९८ करोड ७२ लाख रुपैयाँ बराबरको वार्षिक असुली लक्ष्य राखिएकोमा २ खर्ब ५७ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ बराबर मात्रै संकलन भएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ ९५ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ बराबरको वार्षिक संकलन लक्ष्य राखिएकोमा ८५.१० प्रतिशत अर्थात् ८१ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ बराबर असुली भएको थियो ।

घर बहाल करतर्फ ४ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको संकलन लक्ष्य राखिएकोमा ७०.१७ प्रतिशत अर्थात २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ बराबर असुली भएको विभागले जनाएको छ ।


क्लिकमान्डु