वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई एक पटक मात्र लगाउने खोप दिन आयोगको पत्र



काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि एकै पटक लगाए हुने खोप प्रदान गर्न राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संकलन व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको छ ।

आयोगले रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न सीसीएमसीलगायत अन्य सम्बन्धित निकायहरुलाई आयोगले पत्राचार गरेको हो ।

‘वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोेखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्यवस्था गर्न तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को दोस्रो लहरको अवस्थामा पनि कतार, साउदी अरब लगायतका नेपाली आप्रवासी श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप नलगाई प्रवेशमा रोक लगाएको छ ।

साथै नेपाली श्रमिकहरुलाई तोकिएको समय अनिवार्य क्वारेण्टिन बस्नुपर्ने, पिसिआर परीक्षण गर्नुपर्ने तथा पिसिआर परीक्षण नेगेटिभ आएपनि क्वारेण्टिनमा रहनैपर्ने व्यवस्था भएका स्वास्थ्य निर्देशिका लागू गरिएको पाइएको छ । श्रम गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका सम्बन्धमा उल्लेखित व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने भएकाले सहज बनाउन अनुरोध गरेको छ ।


क्लिकमान्डु