असारमा विद्युत् बिल धेरै उठेको उपभोक्ताको गुनासो, प्राधिकरण भन्छ- अघिल्ला महिनाको एड्जस्टमेन्ट



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् महशुल निकै बढी पठाएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

अघिल्ला महिनाहरुमा स्वभाविक रुपमा उठ्ने महशुल भन्दा प्राधिकरणले असारमा दोब्बर–तेब्बर महशुल तोकेर बिल पठाएपछि उपभोक्ताको गुनासो बढेको हो ।

प्राधिकरणले भने अघिल्ला महिनाहरुको विद्युत बिल असारमा एड्जस्टमेन्ट भएका कारण असारमा बढी महशुल उठको हुनसक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार निषेधाज्ञाका कारण अघिल्ला महिनाहरुमा प्राधिकरणले मिटर रिडिङ गर्न सकेको थिएन । मिटर रिड नभएपछि प्राधिकरणले उपभोक्तालाई अघिल्ला महिनाहरुमा भएको विद्युत खपतको आधारमा बिल पठाएको थियो ।

‘अघिल्ला महिनाहरुमा मिटर रिडिङ नभएर असारमा एडजस्टेमेन्ट गर्दा बढी भएको हुनसक्छ,’ प्रवक्ता तिम्सिनाले क्लिकमाण्डुसँग भने ।

निषेधाज्ञा अवधिमा मिटर रिडरहरु घर–घरमा गएर मिटर रिड गर्न सकेका थिएनन् । यसकारण अघिल्ला महिनाहरुमा विद्युत् महशुल अघिल्ला महिना र अघिल्लो वर्षको सोहि महिनाको आधारमा निर्धारण गरेको थियो ।

निषेधाज्ञा अवधिमा उपभोक्ताले आफै मिटर रिडिङ गरेर अनलाइनमार्फत बिल भुक्तानी गर्नेहरुको हकमा भने असार महिनामा बढी महशुल नगएको प्राधिकरणले जनाएको छ ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिमा बिजुलीको बिल नतिरे जरिवाना नलाग्ने व्यवस्था प्राधिकणले गरेको थियो ।


क्लिकमान्डु