सूर्य नेपाल र अरिहन्तले मात्रै मागे डेडिकेटेड–ट्रंकलाइनको व्क्यौता भुक्तानीमा किस्ताबन्दी



काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल तिर्न नसक्ने उद्योगी–व्यवसायीलाई किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भन्दै नेपाल विद्युत् प्राधिकरणले माग गरेको आवेदनमा २ वटा उद्योगले मात्रै यस्तो सुविधा माग गरेका छन् ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार सूर्य नेपाल प्रालि र अरिहन्त पोली म्याक्सले मात्रै बक्यौता महशुल भुक्तानी गर्नका लागि किस्ताबन्दीको माग गरेका हुन् ।

‘दुई वटा उद्योगले मात्रै किस्ताबन्दीको माग गरेर निवेदन दिए । निवेदन दिएकालाई कहिलेसम्म बक्यौता भुक्तानी गर्न लगाउने भनेर प्राधिकरणले छुट्टै निर्णय गर्नेछ,’ मिम्सिनाले भने, ‘निवेदन नपरेका उद्योगहरुको बक्यौता त नियमानुसार नै असुल हुन्छ ।’

नेपाल विद्युत प्राधिकरणको संचालक समितिले गत माघ ११ गते डेडिकेटेड ट्रंकलाइनको विद्युत् महशुल किस्ताबन्दीमा उठाउने निर्णय गरेको थियो ।

किस्ताबन्दीमा बक्यौता महशुल भुक्तानी माग गरेर असार मसान्तसम्म निवेदन दिन भनेपनि दुई वटा कम्पनीबाट मात्रै प्रस्ताव आएको प्रवक्ता तिम्सिनाले बताए ।

वक्यौता उठाउने सरकारको निर्णयसँगै प्राधिकरणले उद्योगी व्यवसायीहरुलाई बिल पठाउन थालिसकेको छ । तर उद्योगी व्यवसायीहरुले भने बक्यौता महशुल नतिर्ने र सरकारले जबरजस्ती असुल गर्न खोजेमा उद्योगधन्दा बन्द गरि सरकारलाई चाबी बुझाउने चेतावनी दिन थालेका छन् ।
डेडिकेटेड र ट्रंकलाइनको २०७२ साल साउन देखि २०७७ असार मसान्तसम्मको सम्पूर्ण दस्तुरसहितको महशुल असुल गर्ने निर्णय सरकारले गरिसकेको छ ।

वक्यौताको ब्याज र जरिवानासमेत गरी करिब १५ अर्ब रुपैयाँ महशुल प्राधिकरणले उठाउन बाँकी छ ।


क्लिकमान्डु