सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी



देशको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले हालैमात्र इन्टरनेट व्यवसायमा हात हालेको छ । सिजी नेटले १२० एमबिपिएस स्पिडको इन्टरनेट मासिक ९९९ रुपैयाँमै दिइरहेको छ, जुन निकै धेरै सस्तो हो । सिजी नेटको चर्चा सामाजिक सञ्जालमा पनि निकै देखिन्छ । ड्रिम प्रोेजेक्टको रुपमा रहेको टेलिकम लाइसेन्स सरकारले नदिएपछि आइएसपीमार्फत् इन्टरनेट सेवाको व्यवसाय कसरी चलाउने योजना बनाएको छ ? र, व्यवसायमा परेको कोरोना महामारीको असरलगायतका विषयमा केन्द्रित रहेर चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीसँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

ड्रिम प्रोेजेक्टका रुपमा रहेको टेलिकम सेवाको लाइसेन्स नपाएपछि इन्टरनेट सेवामा आइएसपीबाट व्यवसाय शुरु गर्नु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हाम्रो देशमा सूचना प्रविधिको शुल्क महंगो छ । डाटामा, भ्वाइस कल र एसएमएसको शुल्क दक्षिण एशियामै सबैभन्दा महंगो छ । हामी इन्टरनेट पहुँचमा अझै पछाडि छौं । अहिले पनि डाटाको पहुँच ७० प्रतिशतमा पुगेको छैन भने आइएसपीको पहुँच ५० प्रतिशत पनि पुगेको छैन ।

कोभिडले गर्दा लकडाउन भएपछि हामी घरमा बसेका छौं । र, डाटाको माग बढेको देखिएको हो । पछिल्लो डेढ वर्षमा इन्टरनेटको माग निकै बढेको देखिएको छ ।

हामीले शुरुमा टेलिकम कम्पनी हो । तर त्यसका लागि लाइसेन्स पाएका छैनौं । तर पनि हामी निकै गम्भीर भएर यो व्यवसायमा आउने ध्येयका साथ इन्टरनेट सेवामा हात हालेका हौं । यो टेलिकमका लागि ब्याकबोन हो । भोलि सहज भएर हामीले टेलिकमको लाइसेन्स पाएमा व्यवसाय बढाउन सक्छौं ।

जहाँसम्म सिजी नेटको कुरा छ, सिजी नेट शुरु गरेपछि यतिधेरै प्रतिक्रिया आउँछ भनेर सोचेको पनि थिएनौं । मलाई धेरै साथीभाईहरुले सोध्ने गर्छन् । कसरी यस्तो सस्तो दिन सक्नु भएको छ भनेर । मसँग उहाँहरुका लागि सहज उत्तर छ, त्यो हो, ‘हामीले सस्तो दिएका होइनौं, तपाईंहरुले पहिलेदेखि नै महंगो शुल्क तिरिरहनु भएको छ ।’

सिजी नेटको उद्देश्य सस्तो शुल्कमा गुणस्तरीय सेवा नै हो । यसमा हामी प्रतिबद्ध छौं । हामीले जे जति ग्राहकमाझ प्रतिबद्धता जनाएका छौं, त्यो हामी पूरा गर्छौ । हामीले उच्च गतिको इन्टरनेट सेवा सस्तो शुल्कमा दिन्छौं र त्यो पूरा गरेरै छाड्छौं । अहिले हामीले काठमाडौंको गल्लीगल्लीमा नेटवर्क बिस्तार गरिरहेका छौं । हाम्रो लक्ष्य एक वर्षभित्र काठमाडौं उपत्यकामात्रै नभएर देशका प्रमुख स्थानमा इन्टरनेट सेवा बिस्तार गर्ने हो ।

हामी ग्राहकलाई दीर्घकालीन रुपमा सेवा दिन आएका हौं । हामी यहाँ प्रतिष्पर्धा गर्ने भन्दा पनि ‘लिड’ गर्न आएका हौं । आजको दिनमा सिजी नेट नयाँ प्रविधि लिएर आएको छ । पुरानो प्रविधिमा लागत बढी हुन्छ ।

अहिले ललितपुरका सीमित क्षेत्रमा मात्रै सिजी इन्टरनेटको सेवा छ । सेवा बिस्तार गर्ने योजना कसरी बनाउनु भएको छ ?

शुरुवात हामीले ललितपुरबाट गर्यौं । हामीलाई असार १ गतेदेखि लकडाउन केही खुकुलो हुन्छ भन्ने हाम्रो अनुमान थियो । यसका लागि हाम्रो टीम तयारी अवस्थामा थियो । तर, लकडाउनले केही चुनौती थपियो । हाम्रो पहिलो योजना ३ देखि ४ महिनाभित्रमा काठमाडौंमा सेवा बिस्तार गरी त्यसपछि देशका अन्य क्षेत्रमा जाने हो । अहिले हामीले अर्को वर्षसम्म देशभर सिजी इन्टरनेटको सेवा बिस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।

तपाईंले अहिले नै महंगो इन्टरनेट छ भनिरहनु भएको छ । तर, अहिले सञ्चालनमा रहेका आइएसपीको व्यवसाय हेर्दा २/३ वटालाई छाड्ने हो भने अधिकांश कम्पनीको व्यवसाय उत्साहजनक छैन । यस्तो अवस्थामा सिजीले अफर गरेको ‘सस्तो प्याकेज’मा व्यवसाय कसरी टिकाउन सकिन्छ ?

हामी ग्राहकलाई दीर्घकालीन रुपमा सेवा दिन आएका हौं । हामी यहाँ प्रतिष्पर्धा गर्ने भन्दा पनि ‘लिड’ गर्न आएका हौं । अहिले सञ्चालनमा रहेका आइएसपी कम्पनीहरुले पुरानो प्रविधि प्रयोग गरिरहेका छन् । भारतमा भोडाफोन तथा एयरटेलजस्तो कम्पनीलाई जियो आएपछि असहज भएको थियो । टेलिकम सेवा प्रदायक कम्पनीहरु मर्ज भए । उनीहरुले जिओजस्तो कम्पनीसँग किन प्रतिस्पर्धा गर्न सकेनन् त ?

जिओ नयाँ कम्पनी मात्रै होइन, त्यसले नयाँ प्रविधि पनि लिएर आएको थियो । त्यसो हुँदा लिगेसी भएका कम्पनीले नयाँ कम्पनीसँग टिक्न नसक्ने स्थिती देखियो । जसले गर्दा भारतमा नयाँ टेलिकम कम्पनीहरु नयाँ प्रविधिमा जान बाध्य भए ।

आजको दिनमा सिजी नेट नयाँ प्रविधि लिएर आएको छ । पुरानो प्रविधिमा लागत बढी हुन्छ । एउटा उदाहरण दिन चाहन्छु, एयरलाइन्स उद्योगमा किङफिसरलाई लिन सकिन्छ । किङफिसरजस्तो कम्पनी किन चल्न सकेन त ? किङफिसरले डेकन एयरलाइन्स किन्यो । यो पुरानो प्रविधिमा चलेको एयरलाइन्स थियो । जसले गर्दा किङफिसर चल्न सकेन । जबकी, इन्डिगो एयरलाइन्स त चलेको छ । व्यवसायिक मोडल नमिलेपछि कम्पनीहरु चल्न सक्दैन ।

हाम्रो उद्देश्य पहिले सस्तो दिने र लोभ्याउने र पछि रेट बढाउने भन्ने कदापि होइन । बरु अहिले भइरहेको शुल्कलाई पनि कसरी हुन्छ कम गर्नेतर्फ नै ध्यान दिनेछौं । आज तपाईंले सयवटा स्याउ किन्नु भएको छ । मैले हजारवटा किनेको छु भने तपाईं र मेरो रेट उस्तै हुँदैन । अन्य आइएसपी सेवा प्रदायकले सिजी नेटको तुलनामा १० गुणा वा २० गुणा ठूलो होला । तर अहिले उनीहरुको रेट सस्तो हुनुपर्नेमा हामीभन्दा ५० प्रतिशत महंगो छ । ग्राहक संख्या बढ्दै गएपछि हामीले त्यसको लाभ ग्राहकलाई नै दिने हो ।

सिजी नेटले कुन प्रविधि प्रयोग गर्छ ?

हामीले अहिले ‘फाइभ जी’ प्रविधि प्रयोग गर्दैछौं । यसले उच्चगतिमा इन्टरनेट सेवा दिन्छ । यो कोर नेटवर्क अरुभन्दा फरक छ । आजभन्दा ५ वर्ष अगाडि कुनै डिभाइस सर्भ गर्नका लागि पेनड्राइभ वा हार्डड्राइभ चाहिने स्थिति थियो । अहिले प्रविधिले यो नचाहिने बनाएको छ । जुन क्लाउडबाट सजिलै गर्न सकिन्छ । प्रविधिका विकासले गर्दा सजिलो भएको छ । पुरानो तरिकाहरु परिवर्तन हुँदै जान्छ ।

अहिले इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटसँगै टेलिभिजन समेतको कम्बो प्याकेज ल्याइरहेका छन् । सिजी नेटले सिंगल प्याकेजले कसरी ग्राहक आकर्षित गर्न सक्ला ?

हाम्रो योजनामा इन्टरनेट सेवासँगै आइपिटिभीको पनि योजना छ । चौधरी ग्रुपले अरुले जे गर्छन् त्यो गर्दैन् । हामीले आइपिटिभी ल्यायौं भने ग्राहकलाई थप सुविधा पनि दिने छौं । ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको सेवा ल्याउँछौं ।

आज अन्य सेवा प्रदायक कम्पनीले ३० एमबिपिएसको इन्टरनेट सेवा १२ सयदेखि १५ सयसम्ममा दिँदा अरुले त्यही पछ्याएका छन् । तर हाम्रो उद्देश्य त्यो होइन, हामीले बजारलाई पूर्णरुपमा परिवर्तन गर्न खोजेका हौं ।

भनेपछि सिजीले सँधैभरी सस्तो प्याकेज ग्राहकलाई उपलब्ध गराउन सक्छ त ? मुख्य विषय त आइएसपीहरुको ‘अफट्र सेल्स सर्भिस’मा सबैभन्दा ठूलो गुनासो छ । यस्ता समस्या समाधानका लागि सिजी नेटको कस्तो रणनीति हुन्छ ?

चौधरी ग्रुपको पहिलो प्राथमिकता भनेकै ग्राहकको सन्तुष्टी हो । आजको दिनमा हामी घरायसी उपकरणको इलेक्ट्रोनिक्स बजारमा नम्बर १ मा छौं । यो हुनुको पछाडि हाम्रो गुणस्तरीय अफ्टर सेल्स सर्भिस नै हो ।

सिजी नेटको हकमा पनि घोषणा भए लगत्तै हजारौं कल पायौं । ग्राहकका हरेक फोन कल, हरेक म्यासेजलाई हेरेर प्रतिक्रिया दिएका छौं । हामीले ग्राहकलाई उहाँहरुको क्षेत्रमा कहिले सुविधा पुग्छ भन्नेबारेमा पनि जानकारी दिएका छौं । कस्टमर सर्भिस हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले यसमा हामीले कुनै सम्झौता गर्दैनौं ।

हाम्रो उद्देश्य पहिले सस्तो दिने र लोभ्याउने र पछि रेट बढाउने भन्ने कदापि होइन । बरु अहिले भइरहेको शुल्कलाई पनि कसरी हुन्छ कम गर्नेतर्फ नै ध्यान दिनेछौं । आज तपाईंले सयवटा स्याउ किन्नु भएको छ । मैले हजारवटा किनेको छु भने तपाईं र मेरो रेट उस्तै हुँदैन । अन्य आइएसपी सेवा प्रदायकले सिजी नेटको तुलनामा १० गुणा वा २० गुणा ठूलो होला । तर अहिले उनीहरुको रेट सस्तो हुनुपर्नेमा हामीभन्दा ५० प्रतिशत महंगो छ । ग्राहक संख्या बढ्दै गएपछि हामीले त्यसको लाभ ग्राहकलाई नै दिने हो ।

सिजी नेटले १२० एमबिपिएसको एउटा मात्रै प्याकेज ल्याएको छ । अरु कम्पनीको हेर्नु भयो भने कैयन प्याकेज छन् । तपाईंलाई प्याकेजका नाममा पैसा कहाँ गइरहेको छ भन्ने थाहा पनि पाउनु हुन्न । धेरै प्याकेजले गर्दा ग्राहक नै कन्फ्युज हुने अवस्था छ । हामीले यसलाई निकै सहज बनाउन लागेका छौं ।

सस्तो कुरा गुणस्तरको हुँदैन भन्ने पनि मान्यता छ । तपाईंरुले सस्तो र गुणस्तरीय सेवा ग्राहकलाई दिनुहुन्छ भन्ने आधार के हो ?

चौधरी ग्रुपले सञ्चालन गरेका अरु व्यवसायमा हेर्दा मात्रै पनि एउटा आधार थाहा हुन्छ । हामी हाम्रा कुनै पनि प्रडक्टमा गुणस्तरमा सम्झौता गरेका छैनौं । र, सिजी नेटमा पनि गर्दैनौं । आजका दिनमा सिजीको सबैभन्दा ठूलो आधार नै विश्वसनीयता हो । हाम्रो डाटा सेन्टर छ, त्यसबाट हामीहरुले मनिटरिङ गर्छांै । हरेक समयमा ग्राहकलाई सेवा दिन हामी प्रतिबद्ध छौं ।

अरु मुख्य विषय सिजीले सस्तोमा दियो भन्ने छ । तर हामीले सस्तोमा इन्टरनेट सेवा दिएको भने होइन । अहिले ग्राहकले अन्य कम्पनीलाई बुझाइरहेको शुल्क महंगो हो । सिजी नेटले घाटा हुने गरी प्याकेज बेचेको छैन । हाम्रो यो गैरनाफामुलक कम्पनी पनि होइन । हामीले सम्पूर्ण लागत जोडेर नाफा राखेर नै यो प्याकेज ल्याएको हो । हामीले अरुभन्दा सस्तो दिएको हो तर घाटा खाएर सस्तो दिएको होइन ।

अहिले सस्तोमा सेवा दिन्छु भन्ने तर पछि कार्टेलिङ गरेर प्रतिष्पर्धा रोक्ने प्रवृत्ति छ । सिजी यसमा त जाँदैन ?

सिजीले अहिलेसम्म ग्राहकबाट पाएको विश्वस्नीयता र पुरानो रेकर्ड हेर्दा पनि थाहा हुन्छ । हामी कार्टेलिङमा विश्वास गर्दैनौं । हामीहरु अरु क्षेत्रमा पनि छौं । इलेक्ट्रोनिक्स, फुड, ब्रुअरी, बेबरेज तथा हस्पिटालिटीलगायतका क्षेत्रमा हाम्रो लगानी छ । त्यो क्षेत्रमा सिजीले कार्टेलिङका लागि नयाँ एशोसियन कतै पनि बनाएको छैन । हामी संस्था बनाएर मूल्यलाई नियन्त्रण गर्ने कुरामा विश्वास गर्दैनौ । हामीहरु बजारलाई लिडिङ गर्ने कुरालाई विश्वास गर्छौं ।

सिजी ग्रुप इन्टरनेट व्यवसायमा आएको यसको पहुँच बढाउनका लागि हो । भोलिका दिनमा टेलिकमको लाइसेन्स पाएमा डाटाको पहुँच बढाउने हो । हाम्रो ग्रुपका अध्यक्षले नै भन्नु भएको छ । जुनदिन सिजी टेलिकमले लाइसेन्स पाउछ हामीहरुले भ्वाइस र एसएमएसको शुल्क लिने छैनौं र डाटाको शुल्क ५० प्रतिशतले घटाउने छौं ।

आजका दिनमा अझै पनि दुई मुख्य टेलिकम सेवा प्रदायकसँग तेस्रो सेवा प्रदायकका लागि स्पेस बाँकी नै छ । हामीले सिजी टेलिकम शुरू गरेपछि भ्वाइस कल, एसएमएस निःशुल्क बनाउँछाैं । डाटा सस्तो बनाउँछाैं ।

सिजीले पहिले पनि सञ्चालनमा भइरहेको आइएसपी कम्पनी किन्न योजना बनाएको थियो । अब वित्तीयरुपमा समस्या भएका र ग्राहक र पूर्वाधार कम भएका कम्पनी किन्ने योजना के छ ?

पक्कै पनि । सन् २०१९ मा हामीले त्यो सोच बनाएका थियौं । मोबाइल सेवा प्रदायक कम्पनी खोल्ने भनेपछि यसको व्यवसायका लागि एउटा आइएसपीसँग कुरा भएको थियो ।

त्यो कम्पनी पुरानो प्रविधिबाट चलेको थियो । हामीलाई २ वर्षजति त त्यो कम्पनीको प्रविधि परिवर्तन गर्न नै समय जाने थियो । २ वर्षसम्म प्रविधि नै परिवर्तन गर्न लाग्ने कम्पनी किन किन्ने भनेर सोच परिवर्तन भयो । ग्राहकलाई पुरानो प्रविधि भएको कम्पनी किनेर बजारमा आएर हामीले नयाँ कुरा दिन सक्ने स्थिती थिएन ।

त्यसपछि चलेको भन्दा नयाँ नै कम्पनी खोल्ने बनाएर सिजी नेट ल्याउने योजना बनाएका हौं । तर, कुनै क्षेत्रमा हामीले ल्याउन खोजेको प्रविधिसँग सोच खाने कुनै कम्पनीले सेवा दिएको छ भने त्यसलाई एक्विजेशन गर्ने सोच छ । तर, अहिले यसमा कुनै छलफल भएको छैन । हाम्रो अहिलेको अर्जुनदृष्टी भनेको विश्वस्तरीय इन्टरनेट सेवा ग्राहकलाई सुलभ दरमा दिने हो ।

अहिले सञ्चालनमा रहेका २ वटा मोबाइल सेवा प्रदायक कम्पनीको व्यवसाय घट्दो क्रममा छ । अब लाइसेन्स दिएमा टेलिकम कम्पनी चलाउन सकिन्छ जस्तो लाग्छ ?

हाम्रो देशमा मुख्य २ वटा टेलिकम सेवा प्रदायक कम्पनी छन् । दुईवटा कम्पनीमा एउटा कम्पनीले प्रविधिमा केही लगानी गरेको छैन । ग्राहकलाई एकपटक उल्लु बनाउन सकिन्छ । तर पटक पटक बनाउन सकिन्न । अहिलेको स्थितीमा मोबाइल सेवामा तेस्रो प्लेयर चल्न सक्छ । एउटामा ५ हजार र अर्कोमा ५ सयजनाले काम गर्छन् । एउटाले टुजी देखि वाइम्याक्स, सीडीएमएसम्म चलाएको छ । अब फाइभ जी चल्ने बेला आएको छ । उनीहरुसँग पुरानो प्रविधिको कस्ट धेरै छ ।

जसमा उनीहरुको मार्जिन ६० प्रतिशत छ । विश्वमा कुनै पनि देशमा यति धेरै मार्जिन भएको पाइँदैन । बजारमा उनीहरु मोनोपोली सिर्जना गर्न उनीहरु सफल भएका छन् । जसको घाटा ग्राहकलाई पर्छ । ग्राहकले हरेक सेवामा महंगो शुल्क तिर्न बाध्य भइरहनु भएको अवस्था छ ।

आजका दिनमा अझै पनि दुई मुख्य टेलिकम सेवा प्रदायकसँग तेस्रो सेवा प्रदायकका लागि स्पेस बाँकी नै छ । हामीले सिजी टेलिकम शुरू गरेपछि भ्वाइस कल, एसएमएस निःशुल्क बनाउँछाैं । डाटा सस्तो बनाउँछाैं ।

यतिबेला हामीले डिजिटल नेपालको अभियान शुरु गर्ने भनेका छौ । डिजिटल नेपालमा नयाँ इकोनोमी किन ‘क्रियट’ भएको छैन ? अहिले पनि नेपालभर हरेक मानिससँग इन्टरनेट तथा डाटाको कनेक्टिभिटी छैन । डाटा शुल्क निकै महंगो छ । भारतमा ७५ प्रतिशत मान्छेले मोबाइलमा डाटा चलाउने गर्छन् । किनभने त्यहाँ डाटा सस्तो छ । जसले गर्दा भारतमा ग्रामीण क्षेत्रसम्म डिजिटलका नयाँ आइडिया विकसित भएका छन् । जसले गर्दा भारतको अर्थतन्त्रलाई ठूलो योगदान दिन सफल भएका छन् ।

हाम्रो देशमा यो हुन नसक्नुको कारण डाटाको शुल्क महंगो हुनु हो । हामीले हरेक व्यक्तिको हातमा सस्तो मूल्यमा डाटाको प्याक ल्याउन जबसम्म सक्दैनौं, त्यो नहुँदासम्म डिजिटल नेपालको अभियान कहिले पनि पूरा हुँदैन ।

प्रधानमन्त्री, अर्थमन्त्री र सबै विभागीय मन्त्रीको उपस्थितीमा लगानी सम्मेलनमा भएको सम्झौतापछि लाइसेन्स पाइन्छ भन्ने आशा थियो । तर मन्त्रालयले त्यो पनि हुन दिइएन । मन्त्रालयले लाइसेन्स दिनै चाहेन । र, अन्तिममा लगानी सम्मेलन हस्ताक्षर महोत्सव मात्रै भयो ।

 

लगानी सम्मेलनमा सिजी टेलिकमले पनि सम्झौता भएको थियो । तर आजसम्म पनि सरकारले किन अनुमति नदिएको होला ?

लगानी सम्मेलन २०७६ चैतमा भएको हो । हामी यो देशको सबैभन्दा ठूलो लगानीकर्ता हौं । तर हामीलाई सम्मेलनमा बोलाइएन । सरकारले लगानी सम्मेलनमा ३०/३२ वटा सम्झौतामा हस्ताक्षर हुन्छ भनेर पनि भन्यो । तर, अन्तिममा जम्मा ७ वटा सम्झौता भयो ।

जब लगानी सम्मेलन भने अनुसार भएन तब मात्रै अन्तिम दिनमा सिजीलाई बोलाइएको हो । लगानी सम्मेलन सफल हुन सकेन मुलुकको इज्जत बचाइदिनु पर्यो भनेर सीजीलाई बोलाइएको हो । र, अन्तिममा भएका ७ वटा सम्झौतामध्ये ६ वटामा सीजीले मात्रै हस्ताक्षर गर्यो । प्रधानमन्त्री, अर्थमन्त्री र अन्य सबै विभागीय मन्त्रीको उपस्थितिमा ६ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री, अर्थमन्त्री र सबै विभागीय मन्त्रीको उपस्थितीमा लगानी सम्मेलनमा भएको सम्झौतापछि लाइसेन्स पाइन्छ भन्ने आशा थियो । तर मन्त्रालयले त्यो पनि हुन दिइएन । मन्त्रालयले लाइसेन्स दिनै चाहेन । र, अन्तिममा लगानी सम्मेलन हस्ताक्षर महोत्सव मात्रै भयो ।

हरेक ग्राहकलाई सस्तो मूल्यमा टेलिकम सेवा उपलब्ध गराउने विषयमा हाम्रो चासो हो । यसको निर्णायक भूमिकामा नेपाल दूरसञ्चार प्राधिकरण छ । राजनीतिक दलका नेताले लाइसेन्स दिने होइन । प्राधिकरणमा यदि अहिले कुनै पनि टेलिकम कम्पनीको शुन्य बक्यौता बाँकी छ भने हाम्रो मात्रै हो ।

लाइसेन्स नदिए पनि बाँकी रकम किन उठाइरहेको ? अहिले अन्य कम्पनीले अर्बौं रुपैयाँ तिर्न बाँकी छ । फ्रिक्वेन्सी भनेको राज्यको अमूल्य स्रोत हो । पैसा नतिरिकन त्यो हडपेर बसेको अवस्था छ । त्यो कसले हेरेर बसेको छ कोही भन्न चाहन्नन् ।

भोलिका दिनमा राजनीतिक परिवर्तन भयो भने सिजीले लाइसेन्स पाउँछ जस्तो लाग्छ कि लाग्दैन ?

यसमा राजनीतिभन्दा पनि अर्कै ठूलो खेल भइरहेको भन्ने मलाई लाग्छ । सिजी आयो भने अन्यको कम्पनीको आम्दानी आधा हुने, नाफा आधा हुने, अवस्थामा कुन कम्पनीले सिजी आओस् भन्ने चाहन्छ ? स्मार्ट टेलिकमले राज्यलाई फ्रिक्वेन्सी वापतको रकम बुझाएको छैन । कम्पनी बिक्री गर्न चाहिरहेको छ । यस विषयमा तपाईंहरुको छलफल भएको छ ।

उनीहरुले बेच्ने भनेको कुरा तपाईंको कानमा पनि पुगेछ । साँचो अर्थमा टेलिकम सेवा प्रदायक र टेलिकम लाइसेन्सको दलाली गरेर बिक्री गर्नेबीचको भिन्नतामा अब तपाईं प्रष्ट हुनुपर्छ । यस्तो कम्पनी जसको नियत नै बिक्री गर्ने थियो भने हामी त्यस्तासँग कुरा गर्दैनौं । शतप्रतिशत गर्दैनौं ।

अघि पनि तपाईंले आइएसपीको प्रश्न गर्नु भयो नी । यहाँ पनि त्यस्तै हो । जुन कम्पनीको उद्देश्यले लाइसेन्स लिएर बिक्री गर्ने हो त्यसको के अर्थ ? हाम्रो पुरानो टेक्नोलोजी विन्डो ड्रेसिङका लागि अरु भेन्डरसँग क्रेडिट लिएर काम गर्नेहरुसँग बिक्री गर्ने उद्देश्यले लाइसेन्स लिनेसँग छलफल गर्न समेत उचित ठान्दैनौं । नयाँ प्रविधिसहितको सस्तो मूल्यमा टेलिकम्युनिकेसन सेवा उपलब्ध गराउनमा हाम्रो प्रष्ट नीति छ ।

पछिल्लो समय इन्टरनेटको लगानीमा ध्यान दिइरहनु भएको छ । इन्टरनेटमा कुन क्षेत्रमा लगानी गर्न खोज्नु भएको छ । यसमा कतिको लगानी गर्ने योजना छ ?

सूचना तथा प्रविधिको क्षेत्रमा हाम्रो पहिलो प्राथमिकता भनेको टेलिकम्यूनिकेसन नै हो । टेलिकमको बागडोर भनेको एफटीटीएचको नेटवर्क हो । एफटीटीएचको पेनिट्रेसन नेपालमा ३० प्रतिशत पनि पुगेको छैन । यसमा हामीले सम्भावना देखेका छौं । त्यो इकोसिस्टममा क्लाउड बेस सर्भिस, आईपी टिभी, भोलि डाटा सेन्टर होला । शतप्रतिशत यो सेवा उपलब्ध गराउन हामी योजना बनाइरहेका छौं । यो पहिलो नम्बरको कुरा भयो । दोस्रो नम्बरमा अहिले कोभिडले गर्दा ईकमर्श र डिजिटल सर्भिसेजको सुरक्षाको कुरा पनि छ । एउटा अग्रणी कम्पनीले गर्ने काम हामीले बुझेका छौ ।

सीजी इलेक्ट्रोनिक्सको नेपालमा मार्केट सेल्स ४४ प्रतिशत छ । गत वर्ष पुस/माघमा सिजी डिजिटल एप सार्वजनिक गर्यौं । एपको माध्यमबाट इलेक्ट्रिक सामन सिधै खरिद गर्न सकिन्छ । भोलि खाना, चाउचाउ, स्न्याक्स, ब्रुअरी, फाइनान्स, बीमालगायत सबै डिजिटल प्रडक्टमा हाम्रो ध्यान छ । यो हाम्रो योजनाभन्दा पनि बजारको आवश्यकताले माग गरेको वस्तु हामीले दिन खोजेका हौं ।

म नबिल बैंकको बोर्डमा पनि छु । बैंकको फोकस भनेको डिजिटल बैंकिङ हो । साधारण खातादेखि सबैमा हामीले डिजिटल खातामा फोकस गरिरहेका छौं । यो बजारले माग गरेको हो ।

अहिले मानिसले धेरै काम मोबाइलबाट गरिरहेका छन् । यसका बाबजुत अहिले पनि मोबाइल फोनबाट किन धेरै कारोबार हुँदैन । किन कि मान्छेलाई डाटा शुल्क एकदमै महँगो भएको अनुभुति हुन्छ । ईकमर्शको विकास, वृद्धि र डिजिटल नेपालको वृद्धि हो । जबसम्म इन्टरनेटको मूल्य सस्तो हुँदैन तबसम्म डिजिटल उपयोगिता बढ्न सक्दैन ।

सरकार र राष्ट्र बैंकले एउटा राम्रो लगानीकर्ता र निजी क्षेत्रमैत्री वातावरण बनाइदिए मात्रै पुग्छ । अरु हामीलाई केही चाहिएको छैन । अनुदान र सस्तो ब्याजदरमा कर्जा पनि चाहिएको छैन । निजी क्षेत्रलाई काम गर्ने वातावरण देऊ भन्ने मात्र हाम्रो चाहना हो । पारदर्शिताका साथ काम गर्ने वातावरण चाहियो । कर्मचारीतन्त्रले बाधा उत्पन्न नगरिदेओस् र राजनीतिकरण नगरियोस भन्ने हाम्रो चाहना हो ।

प्रसंग बदलौं, ठूलो व्यापारिक घरानको प्रतिनिधित्व गर्नुहुन्छ । व्यवसायमा कोरोनाको कस्तो प्रभाव छ ?

मेरो फोकस भनेको नेपाल नै हो । २० वर्षदेखि नेपालमै छु । एफएजीसी, कञ्जुमर ड्युरेवलमा ठूलो प्रभाव परेको छ । बजार बन्द भएकाले उपभोक्तसम्म उत्पादन पुर्याउन कठिन भइरहेको छ । यसले व्यवसायमा असर गरेको छ । यो क्षतिलाई न्यूनिकरण गर्न भिन्दै उत्पादन र यसको क्षेत्र बिस्तार गर्ने योजनामा छौं ।

नयाँ उत्पादन र सञ्चालनमा रहेका उत्पादनलाई टिकाएर नयाँ प्रविधिको माध्यबाट अघि बढाउन लागिपरेका छौं । ईकमर्शको प्लेटफर्म ल्याएर यसलाई अभियानका रुपमा अघि बढाउन खोजेका छौं ।
हाम्रो ग्रुपले कोभिड अघि सिमेन्ट, जलविद्युत्, सोलार क्षेत्रमा लगानी शुरु गरिसकेको छ । कोभिडको समयमा यस्तो उच्चतम पूर्वाधारमा लगानी गर्न गाह्रो भएको छ ।

लकडाउनले गर्दा कामदार निर्माण क्षेत्रमा पुगेका छैनन् । नयाँ व्यवसायको लक्ष्यपूर्ति गर्न हामीले यस्तो विषम परिस्थितिका बाबजुत पनि काम गरिरहेका छौं ।

जलविद्युत् परियोजना मार्चमा आउनुपर्ने सेप्टेम्बरमा आउला । सिमेन्ट परियोजना अगष्टमा आउनुपर्ने डिसेम्बरमा आउला । तर त्यो हुँदा पनि अरु सिमेन्ट कम्पनीलाई पनि अधिग्रहण गरेका छौं । क्षमता बढाएका छौं । अहिले कोभिडको बीचमा एफटीटीएच सार्वजनिक गर्यौ । सीजीको भिजनबाट एक प्रतिशत पनि चुकेका छौनौं । विभिन्न कारणले गर्दा टाइमलाइन थोरै सिफ्ट भएको होला । तर हामी त्यो अभियानमा शतप्रतिशतले लागीरहेका छौं ।

उद्योगीको हिसाबले हेर्दा कोभिडपछिको अर्थतन्त्र पुनरुत्थान गर्न के गर्नुपर्ला ? खासगरी सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको भूमिका के हुन्छ ?

राष्ट्र बैंकले धेरै हदसम्म राम्रो नीति ल्याएको छ । एसेम्बलिङ र पर्यटन क्षेत्रका लागि लिएको नीति राम्रो छ । कोभिडले पारेको आर्थिक क्षतिलाई न्यूनिकरण गर्न अनुदानको व्यवस्था गरेको छ । बजेटमा पनि पोस्ट कोभिडलाई कम गर्न राम्रो नीति आएको छ । भएको नीति र निर्देशनलाई कार्यान्वयन गर्न सक्यौं भने धरै राम्रो सन्देश जान्छ । तर, सरकारी बजेटमा पूँजीगतभन्दा पनि चालु खर्च धेरै देखिन्छ । सामान्यतया निजी क्षेत्रमा प्रशासन खर्च २० देखि २५ प्रतिशत मात्रै हुन्छ ।

सरकारले विकास खर्चका लागि छुट्टाएको बजेट समयमा खर्च हुँदैन । त्यो रकम खर्च भयो र सरकारले निजी क्षेत्रलाई सहजिकरण गर्यो भने हाम्रो अर्थतन्त्र पुनउत्थान हुन्छ ?

सरकारले बजेटमार्फत् जुन नीति लिएको छ त्यसलाई कार्यान्वयन गर्न सक्यौं भने केही हदसम्म निजी क्षेत्रलाई सहयोग नै हुनेछ ।

तपाईं नेपाल उद्योग परिसंघको उपाध्यक्ष हुनुहुन्छ । परिसंघले बजेटको प्रशंसा गरेको छ । मौद्रिक नीति आउने क्रममा छ । अघिल्लो वर्ष उद्योगी व्यवसायीलाई धेरै राहत दिइएको थियो । आगामी मैद्रिक नीतिले निजी क्षेत्रलाई कसरी सम्बोधन गर्न आवश्यक छ ?

आज एउटा दक्षिण एसियाली कम्पनीले नेपालमा उत्पादन उद्योग किन स्थापना गर्दैन ? बंगलादेशले अहिले तीव्र गतिमा आर्थिक विकास गरिरहेको छ । भारतमा कुनै उद्योग स्थापना गर्न खोजियो भने त्यहाँका कुनै पनि प्रदेशले १० वर्ष कर छुट, अनुदान, जग्गा, यातायात, कच्चा पदार्थलगायत धेरै कुरा सहुलियत उपलब्ध गराइरहेको छ । नेपालमा यस्तो सुविधा नभएकाले विदेशी तथा स्वदेशी कम्पनी आकर्षित हुन नसकेका हुन् ।

सरकार र राष्ट्र बैंकले एउटा राम्रो लगानीकर्ता र निजी क्षेत्रमैत्री वातावरण बनाइदिए मात्रै पुग्छ । अरु हामीलाई केही चाहिएको छैन । अनुदान र सस्तो ब्याजदरमा कर्जा पनि चाहिएको छैन । निजी क्षेत्रलाई काम गर्ने वातावरण देऊ भन्ने मात्र हाम्रो चाहना हो । पारदर्शिताका साथ काम गर्ने वातावरण चाहियो । कर्मचारीतन्त्रले बाधा उत्पन्न नगरिदेओस् र राजनीतिकरण नगरियोस भन्ने हाम्रो चाहना हो । हामीलाई राम्रो वातावरण मात्र चाहिन्छ । एउटा सानो उदारण भन्छु, मेरो एकजना साथी छ । एक वर्षअघि उसले बेलायतबाट पढाइ सकेर कर्पोरेट लयरका रुपमा व्यवसाय शुरु गर्छु भनेर नेपाल आएको थियो । कम्पनी दर्ता र कागजी झन्झट देखेर अहिले उ कुन बेला उडान खुल्छ र जान्छु भनेर बसेको छ ।

यदि नेपालमा लगानीको राम्रो वातावरण भएको भए । सिजीको टेलिकम्युनिकेसन व्यवसाय ५ वर्ष अघि नै शुरु भइसकेको हुन्थ्यो । लगानी सम्मेलनका ७ मध्ये ६ वटा सम्झौता सिजीले गरेको थियो । त्यसको निर्णय अहिलेसम्म किन नगरेको ? वातावरण भनेको यही हो ? मलाई लाग्छ । नेपालभित्र धेरै नवउद्यमी छन् । तर, उहाँहरुलाई प्रोत्साहन गर्ने सरकारको नीति नै छैन । तर, हामीलाई व्यवसाय सञ्चालनका लागि विभिन्न कागजी र कानूनी झन्झट सजिलो बनाइदिए पुग्छ ।

कोभिडअघि सिजी ग्रुपले सम्राट सिमेन्टको सेयर किनेको थियो । अहिले इन्टरनेट सेवा शुरु गर्नु भएको छ । सिजीले कुन-कुन नयाँ क्षेत्रमा लगानी बिस्तार गर्न खोजिरहेको छ ?

सीजी ग्रुपले इनर्जी र पूर्वाधारमा लगानी बिस्तार गर्न खोजेको छ । त्यसमा एउटा भर्टिकल छ । जसमा पावर, सोलार, हाइड्रो, लजिस्टिक, बिल्डिङ म्याटेरियल सिमेन्ट पनि पर्छ । इनर्जी र पूर्वाधारको विकास पछिल्लो ५ वर्षमा हाम्रा लागि नै महत्वपूर्ण छ । साथै आइटी एण्ड कम्यूनिकेसनमा पनि ५ वर्षमा निकै महत्वपूर्ण हुन्छ । फाइनान्स सर्भिस वृद्धि र बिस्तार पनि महत्वपूर्ण छ । अहिले भइरहेको व्यवसायलाई आफै वृद्धि गर्दै जाने छौं । सेक्टरका हिसाबले यी तीन क्षेत्र निकै महत्वपूर्ण हुन्छ ।

र, अन्त्यमा सिजीको पयार्य बनेको र विश्वका कैयन देशमा निकै लोकप्रिय भएको ‘वाइवाइ चाउचाउ’को आईपीओ कहिले आउला ?

कुनै बच्चा जन्माउन त्यसपछि हुर्काउन आमाबुबाले नै गर्ने हो । बच्चा ठूलो भएर कलेजको पढाइ सकाएर विवाह गर्न पनि आमाबुबालाई नै सोध्नुपर्छ । यो हाम्रो ग्रुपका अध्यक्षको भिजन हो । जुनदिन हाम्रो कम्पनी तयार हुन्छ र जुन दिन उहाँलाई आवश्यक लाग्छ । त्यो दिन आइपीओ आउँछ । यसमा अध्यक्षले नै निर्णय गर्नुहुन्छ । यसमा मैले केही भन्न सक्दैन ।


पुष्प दुलाल