धितोपत्र बोर्डलाई नेप्सेको चुनौतिः अधिकार नभएको क्षेत्रमा हात हाल्यो, विज्ञप्ति निकाल्नु गल्ती



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा भएको लगानी जोखिम भएको विज्ञप्ति गल्ती गरेको बताएका छन् ।

धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा भएको सेयर लगानी जोखिममा रहेको ती कम्पनीको मूल्य बढ्नुको पछाडि कर्नरिङ तथा इन्साइडर ट्रेडिङलाई प्रमुख आधार मानेको छ ।

धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)

नेप्सेका सीइओ साउदले धितोपत्र बोर्डले यसरी कम्पनीको नाम तोक्न नमिल्ने बताए ।

‘नियामक निकायले गल्ती गर्नेलाई कारवाही गर्ने हो एकैपटक ५१ वटा कम्पनीको सेयर मूल्य ठीक छैन भन्ने होइन,’ साउदले क्लिकमाण्डूसँग भने ।

लगानीकर्तालाई कुन कम्पनीको सेयर किन्ने र बेच्ने अधिकार उसको आफ्नो भएको उनको भनाइ छ ।

‘इन्साइडर ट्रेडिङ गरेको भए कारवाही गर्ने हो, धितोपत्र बोर्डले आफ्नो अधिकारमा नभएको विषयमात्र बोलेको छ,’ साउदले थपे ।

कुन कम्पनीको सेयर किन्ने ? धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सोध्नू

धितोपत्र बोर्डले चाहेको बेला इन्साइडरदेखि लिएर कर्नरिङसम्मको सबै तथ्यांक हेर्न सक्ने भएपनि अधिकार नै नभएको विषय बोलेको देखिएको टिप्पणी साउदको छ ।

‘बोर्डले कसले कर्नरिङ गर्यो, कसले इन्साइडर ट्रेडिङ गर्यो भनेर केसवाइज हेरेर दोषीलाई कारबाही गर्नसक्छ,’ उनले भने, ‘तर, त्यसतर्फ अनुसन्धान नै नगरी यति कम्पनीको सेयरमा लगानी गर्नु जोखिममा छ भन्न मिल्दैन ।’

मंगलबार मात्रै बोर्डले ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको र ती कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरु जोखिममा भएको विज्ञप्ति निकालेको थियो ।


पुष्प दुलाल