सुदुरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड



काठमाडौं । सुदरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार रुपैयाँ अर्थात् ३५.१ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार अर्थात् ५८.२ प्रतिशत र अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख अर्थात् ५.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् १ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी स्रोतमध्ये राजस्व परिचालनबाट १ अर्ब ८ करोड ३ लाख २२ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम ७ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यसैगरी संघीय रोयल्टी बाँडफाँट भइ प्राप्त हुने ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड ४० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब ६८ करोड ३० लाख ६१ हजार रुपैयाँ।

सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १९ करोड ३३ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब २२ करोड ९४ लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमन गरिएको ६१ करोड ३५ लाख र विकास साझेदारहरुबाट बजेट प्रणाालीमार्फत परिचालन हुने सहायता रकम २ करोड ४६ लाख १० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

आर्थिक वृद्धिदर ३.६ प्रतिशत

बजेटमा सुदुरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको थियो । आव २०७६/७७ मा कुल ग्राहस्थ उत्पादन वृद्धिदर ०.४४ प्रतिशत र आव २०७५/७६ मा ६.५ प्रतिशत थियो ।

जसमध्ये चालु आवमा प्रदेशको कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३६.१ प्रतिशत, उद्योग क्षेत्रको योगदान १३.२ प्रतिशत र सबैभन्दा बढी सेवा क्षेत्रको ५०.७ प्रतिशत रहने अनुमान गरिएको छ ।


क्लिकमान्डु