करिब साढे ६ किलो सुनसहित २ भारतीय पक्राउ



काठमाडौं । ६ किलो २८९ ग्राम सुनसहित पक्राउ परेका २ जना भारतीय नागरिकसहित ५ जनालाई राजश्व अनुसन्धान विभागले २ अर्ब ४३ करोड रुपैयाँ बिगो मागदावीसहित शुक्रबार उच्च अदालत हेटौडामा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले चेकजाँचको क्रममा हेटौडा उपमहानगरपालिका रातोमाटे स्थित चेकपोष्टबाट बिना बील–बिजक लुकाई छिपाई बसमा लैजादै गरेको ६ किलो २८९ ग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको थियो।

अवैध सुनसहित पक्राउ पर्नेमा भारत कर्नाटक राज्यका अब्दुल मजिद अनेकल, रोशन पटेल भिनिने लुखमानुल हकिम र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रालिका सञ्चालक राजेश गुरुङ्ग रहेका छन । त्यस्तै काठमाडौंका सन्जिव श्रेष्ठ र शंकर घिमिरे पनि पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिहरुले पटक–पटक सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको भेटिएको विभागले जनाएको छ।

भारतीय नागरिकहरु अब्दुल मजिद अनेकल र रोशन पटेलविरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

त्यस्तै, यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्न प्रालिका संचालक राजेश गुरुङ्गलाइ ४ करोड ३० लाख ७९ हजार ४ सय रूपैयाँ, भैरब स्टोर्सका संचालक सञ्जिव श्रेष्ठलाइ ४ करोड ५६ लाख ६ हजार ८ सय रुपैयाँ र काठमाडौं महानगरपालिका २ बस्ने शंकर घिमिरेलाई ४ लाख २९ हजार ५ सय जरिवाना माग दावीसहित मुद्दा दायर गरिएको हो ।


क्लिकमान्डु