खराब कर्जा बढ्दा सेञ्चुरी बैंकको खुद नाफा ६०.८९ प्रतिशतले घट्यो
काठमाडौं । सेञ्चुरी बैंकको खुद नाफा चालु आर्थिक वर्षको ९ महिनामा ६०.८९ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
जुन चालु आवको सोही अवधिमा आइपुग्दा ५५ करोड ७६ लाख रुपैयाँले घटेर ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा वितरण योग्य नाफा भने २२ करोड २९ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ३३.१८ प्रतिशतले र कर्जा प्रवाहतर्फ २६.६८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म ८६ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब २५ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सो अवधिमा १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत आवको चैत मसान्तको तुलनामा ३३.६६ प्रतिशतले थोरै हो । गत आवको चैत मसान्तमा बैंकले २ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यसैगरी, गत आवको चैत मसान्तको तुलनामा बैंकको खराब कर्जा अनुपात ०.७७ बिन्दुले बढेको छ । गत अबको चैत मसान्तमा २.१९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा २.९६ प्रतिशत पुगेको छ ।
सो अवधिमा बैंकको बेसरेट ७.७७ प्रतिशत, स्प्रेडरेट ३.६० प्रतिशत, सीसीडी रेसीयो ७७.८९ प्रतिशत रहेको छ । साथै, चालु आवको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १ सय १७ रुपैयाँ ८१ पैसा, तरलता अनुपात २६.५५ प्रतिशत र पुँजी कोष अनुपात १२.३३ प्रतिशत रहेको छ ।