घरजग्गा कारोबारमा उत्साह, कारोबार संख्या र राजश्व संकलनमा रेकर्ड
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को चैत महिनामा हाल सम्मकै उच्च घरजग्गा कारोबार भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार हालसम्मकै उच्च घरजग्गा कारोबार गरी रेकर्ड कायम गरेको हो ।
गत पुसदेखि निरन्तर उच्च सेवा प्रवाह भई घरजग्गामा नयाँ रेकर्ड कायम गर्दै आएको देशभरका मालपोत कार्यालयबाट चैत महिनामा पनि घरजग्गा कारोबारमा रेहर्ड कायम भएको छ । चालु आर्थिक वर्षको गत फागुनमा देशभरका मालपोत कार्यालयबाट २ लाख १४ हजार ४ सय ९१ सेवा प्रवाह गरी नयाँ रेकर्ड कायम गरेको थियो । सो सेवा प्रवाहलाई रकेर्ड ब्रेक गर्दै चैत महिनामा २ लाख ५६ हजार ७ सय ५० सेवा प्रवाह भएको छ ।
देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी उक्त कारोबार भएको विभागको जनाएको छ ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले गत पुसदेखि देशभरका मालपोत कार्यालबाट घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गर्नुका साथै राजश्व संकलन पनि उल्लेखनीय भएको बताए । उनका अनुसार देशभरका मालपोत कार्यालयले सर्वसाधारणको सहजता, छिटो र छरितो सेवा प्रवाह गर्नको लागि प्रविधिको प्रयोग गरेसँगै दैनिक ३ सयसम्मको सेवा प्रवाह भएकाले कारोबार बढेको हो ।
‘विगतको दिनमा दैनिक १ सय मात्रै सेवा प्रवाह हुन्थ्यो भने अहिले दैनिक करिब प्रत्येक कार्यालयबाट २ सयदेखि ३ सयसम्म सेवा प्रवाह हुन्छ । त्यसैले देशभरका मालपोतका कार्यालयबाट तीब्र सेवा प्रवाह भइरहेको छ,’ उनले भने ।
त्यसैगरी विभागले अझ मालपोत कार्यालयबाट सेवा प्रवाहमा सहज र व्यवस्थित गर्नका लागि २५ वटाभन्दा बढी कार्यालयमा भू–सेवा केन्द्र लागू गरिसकेको छ भने बाँकी अन्य देशभरमा उक्त सेवा सञ्चालनमा विभागले तीब्रता दिइरहेको उनको भनाइ छ । यसले गर्दा पनि केही सहज भएको उनको विश्वास छ ।देशभर १२६ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये १०८ कार्यालयमा अनलाइन प्रणाली सञ्चालन भइरहेको छ ।
त्यस्तै, अनलाइन प्रणाली लागू नभएका बाँकी १८ वटा कार्यालयको कारोबार यसमा समावेश गरिएको छैन । तर, उक्त १८ वटा कार्यालयको पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउनेक कार्य अन्तिम चरणमा पुगेको महानिर्देशक पौडेलले बताए ।
८७ हजार घरजग्गा किनबेच
देशभरका मालपोत कार्यालयबाट चैत महिनामा ८७ हजार १ सय ८७ लिखित पारित हुँदा ६ हजार ४ सय ६५ नामसारी, ६ हजार ४ सय ५३ संशोधन, ७४ हजार ८ सय ७५ रोक्का र ४१ हजार ९ सय ५८ फुकुवा गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै विभागको तथ्याङ्क अनुसार ६८ वटा अपार्टमेन्टको लिखित पारित, ४२ जग्गा दर्ता, २ हजार ३९ दाखिला खारेज गरेको छ ।
फागुन महिनामा देशभरका मालपोत तथा भूमिसुधार कार्यलयबाट ७६ हजार ४ सय ९१ घरजग्गा किनबेच भएको थियो । सो घरजग्गाको कारोबारलाई रकेर्ड ब्रेक गर्दै चैत मनिामा ८७ हजार १ सय ८७ वटा घरजग्गाको किनबेच भएको छ ।
जसमा सबैभन्दा अगाडि भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा–सुनसरीले सबैभन्दा बढी घरजग्गाको किनबेच गरेको छ । इनरुवा, सुनसरीले मात्रै चैत महिनामा ४ हजार ५ सय २६ घरजग्गाको किनबेच गरेको छ । मालपोत कार्यालय बेलावारी–मोरङले ४ हजार १ सय ७०, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर–झापाले ३ हजार ४ सय ९९, नेपालगञ्ज–बाँकेले २९ सय ९७ घरजग्गाको किनबेच भएको छ ।
उपत्यकामा मात्रै १२ हजारबढी घरजग्गा किनबेच
देशभर चैत महिनामा ८७ हजार बढी घरजग्गा किनबेच हुँदा उपत्यकामा मात्रै १२ हजार २ सय ८७ स्थानको घरजग्गाको किनबेच भएको छ । विभागको तथ्याङ्क अनुसार चैत महिनामा मात्रै मालपोत कार्यालय भक्तपुरबाट २ हजार ८ सय १६ घरजग्गाको लिखित पारित भएको छ । त्यसैगरी लगनखेलबाट २७ सय ५१, कलंकीबाट २२ सय ६६, चावहिलबाट १३ सय १०, साँखुबाट १३ सय २८, मनमैजुबाट ९ सय ५, डिल्लीबजारबाट ४ सय ४४ र टोखाबाट ४ सय ६७ घरजग्गाको किनबेच भएको छ ।
घरजग्गा कारोबार गर्नेमा इनरुवा अगाडि
विभागले सर्वाजनिक गरेको तथ्याङ्क अनुसार घरजग्गा कारोबारमा सँधै अगाडि इनरुवा मालपोत कार्यालय रहेको छ । चालु आवको चैत महिनामा सुनसरीको इनरुवा भूमि सुधार तथा मालपोत कार्यालयले १० हजार ७ सय ८ घरजग्गाको कारोबार गरेको छ ।
कार्यालयले चैतमा मात्रै ४ हजार ५ सय २६ लिखित पारित, २ सय २ घरजग्गाको नामसारी, ३२ सय ३७ को रोक्का र १९ सय २७ घरजग्गाको फुकुवा गरेको छ । त्यसैगरी, भद्रपुर झापाले १० हजार ३४ को सेवा प्रवाह गरेकोमा ३४ सय ९९ लिखित पारित, २ सय ९२ संशोधन, ३२ सय ३७ रोक्का र २१ सय १५ फुकुवा गरेको छ ।
साथै, अन्य मालपोत कार्यालयमा बेलाबारी–मोरङले ९ हजार ४ सय ९१ सेवा प्रवाह गर्दा ४ हजार १ सय ७० घरजग्गाको लिखित पारित भएको छ भने १ सय ९४ जनाले नामसारी गरेको छ । साथै, उक्त मालपोत कार्यालयबाट २७ सय २३ को रोक्का र २ हजार ५७ को फुकुवा गरेको छ । त्यस्तै, नेपालगञ्ज–बाँके, भक्तपुर, लगनखेल, चितवन, कास्कीलगायतका जिल्लाहरू रहेको छ ।
यस्तै, उपत्यकामा अधिकतम कारोबार गरेकोमा लगनखेल मालपोत कार्यालय रहेको छ । लगनखेल मालपोत कार्यालयले एक महिनामा ७ हजार २४ घरजग्गाको सेवा प्रवाह गर्दा २७ सय ५१ लिखित पारित, १७५ नामसारी, २ सय ३० संशोधन, १९ सय २५ रोक्का र १३ सय ६७ फुकुवा गरेको छ ।
त्यस्तै भक्तपुरले चैत महिनामा ६ हजार ९ सय २३ घरजग्गाको कारोबार गरेको २८ सय १६ लिखित पारित, १ सय २८ नामसारी, २ सय ७७ संशोधन र १२ सय ११ फुकुवा गरेको छ । त्यस्तै, उपत्यकामा काठमाडौंस्थित रहेको कलंकी, चावहिल, मनमैजुले र साँखु मालपोत कार्यालयबाट पनि उल्लेखनीय सेवा प्रवाह भएको छ ।
राजश्व संकलनमा नयाँ रेकर्ड
विभागको तथ्याङ्क अनुसार देशभरका मालपोत कार्यालयबाट हालसम्मकै उच्च राजश्व संकलन गरेको छ । फागुन महिनामा ७ अर्ब ५ करोड ९ लाख रुपैयाँ राजश्व संकलन गरेर नयाँ रेकर्ड कायम गरेको विभागले चैतमा ८ अर्ब ५९ करोड ९१ लाख ७९ हजार राजश्व संकलन गरेर रेकर्ड ब्रेक गरेको छ ।
विभागले देशभरका भूमि सुधार तथा मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरेवापत साडे ८ अर्ब बढी राजश्व रकम संकलन गरेको हो ।
जसमा सेवाकर वापत ५२ करोड २० लाख ४७ हजार, बागमतिबाट २५ करोड ८५ लाख ८७ हजार, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब ८४ करोड ५९ लाख, छुटबाट ७० करोड १३ लाख ७६ हजार र पूजीँगत लाभ करबाट २ अर्ब १७ करोड ९८ लाख ७५ हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट ५ करोड ४५ लाख १२ हजार राजश्व संकलन गरेको छ ।
लगनखेलबाट मात्रै ७७ करोड राजश्व संकलन
विगतको दिनमा पनि सबैभन्दा बढी राजश्व संकलन गर्दै आएको लगनखेलले चैतमा ७७ करोड ९५ लाख ९८ हजार राजश्व संकलन गरेको छ । फागुनमा सो कार्यालयबाट ६१ करोड राजश्व संकलन गरेको थियो ।
लगनखेल मालपोत कार्यालयले सेवाकरवापत २ करोड ५६ लाख १८ हजार, बागमतीबाट ५ करोड ९६ लाख, रजिष्ट्रेसन दस्तुर ५२ करोड २७ लाख ७७ हजारलगायत अन्य विभिन्न कारोबारबाट उक्त राजश्व संकलन गर्न सफल भएको छ ।
त्यसैगरी काठमाडौं कलंकी मालपोत कार्यालयबाट ५४ करोड ३० लाख १७ हजार, डिल्लीबजार कार्यालयबाट ५४ करोड १७ लाख ९० हजार, चावहिल कार्यालयबाट ५२ करोड ४९ लाख ३८ हजार, भक्तपुर कार्यालयबाट ४६ करोड ९५ लाख राजश्व संकलन गरेको छ ।
उपत्यकाबाहिर चितवन अगाडि
गत फागुनमा उपत्यकाबाहिरका राजश्व संकलनमा चितवन अगाडि रहेकोमा चितवनले चैतमा पनि बढी राजश्व संकलन गरेको छ ।
चितवनले मालपोत कार्यालयबाट चैत महिनामा २५ करोड ३० लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी कास्की मालपोत कार्यालयले २४ करोड ७६ लाख इनरुवा–सुनसरीले १८ करोड ५३ लाख र पर्सा मालपोत कार्यालयले १८ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।