सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने



काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।

सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुनेगरी गत चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । आगामी साता बस्ने बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने एक सञ्चालकले जानकारी दिए ।

‘सीइओको राजीनामा आएको छ, आगामी साता बस्ने बोर्ड बैठकले स्वीकृत गर्छ,’ ती सञ्चालकले भने ।

यस विषयमा सीइओ गुरुङले प्रतिक्रिया दिन चाहेनन् ।

‘तपाईंले सुनेको हल्ला धेरै हदसम्म सही हुनसक्छ, यो भन्दा बढी अहिले भन्न मिल्दैन,’ गुरुङले भने ।

४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिएका हुन् । सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । र, त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।

विद्यावारीधी गर्नका लागि भन्दै गुरुङले राजीनामा दिएको बताए पनि अब गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सीइओ भएर जाँदैछन् ।  गुरुङ संवभत विदेशी बैंकको पहिलो नेपाली सीइओ हुनेछन् । म्ययानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली छन् ।

गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।लमजुङमा जन्मिएका गुरुङ गीत संगीत क्षेत्रमा सक्रिय छन् ।


पुष्प दुलाल