नबिल बैंकको क्यूआर कोड सेवाधुम्बाराही तरकारी बजारमा



काठमाडौं । नबिल बैंकले काठमाडौंको धुमबाराहीस्थित तरकारी तथा फलफुल बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार नगदरहित भुक्तानीलाई बिस्तार गर्ने ध्येयका साथ क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले एक केजी गाजर खरिद गरी उक्त प्रणालीको शुरुवात गरेका हुन् ।

कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले क्यूआर कोड भुक्तानीले डिजिटल प्रविधिमा आवद्धता बढाउने मात्र नभएर एटिएम कार्डको प्रयोगबाट विदेशिने रकम समेत रोकिने बताए ।

‘नगद भुक्तानीका लागि ग्राहकले एटिएममार्फत् पैसा झिक्छन्, त्यसबाट रकम झिक्दा विदेशी नेटवर्क प्रयोग हुने भएकाले प्रत्येक कारोबारको शुल्क तिर्दा सो वापत रकम बाहिरिन्छ,’ उनले भने, ‘दैनिक नगदको कारोबार हुने यस्ता तरकारी बजारमा क्यूआर कोड भुक्तानी सञ्चालन हुँदा एटिएमको प्रयोग घट्दै गएर विदेशिने रकम स्वदेशमा नै बस्छ ।’

नबिल बैंकले शुरु गरेको क्यूआर कोड भुक्तानी कार्यक्रमले ग्राहकलाई बैंकिङ प्रणाली र डिजिटल प्रविधिमा आवद्ध हुन सहयोग हुने उनको विश्वास छ ।

सो बजारमा उपभोक्ताले खरिद गरेको तरकारी फलफूलको भुक्तानी आफ्नोे मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत् सजिलै गर्न सक्नेछन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले क्यूआर कोड भुक्तानीले नगदरहित कारोबार प्रवर्द्धन  तथा साक्षरता बिस्तार गर्ने बताए । साथै, बैंकले क्यूआर कोडमार्फत् साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उनको भनाइ छ ।

यस बाहेका अन्य स्थानहरुमा समेत बैंकले सरकार र राष्ट्र बैंकको निर्देशन अनुरूप प्रविधिको बिस्तार गर्नेतर्फ केन्द्रित हुँदै साना तथा मझौला उद्यमी र व्यवसायीलाई आवश्यक पर्ने कर्जा सहुलियत ब्याजदरमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

तरकारी बजारमा २०० होलसेल र खुद्रा तरकारी तथा फलफुल पसल छन् । बैंकले हाल ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ ।

बाँकी पसलहरुमा क्यूआर कोड भुक्रानी प्रणाली क्रमशः लागू गरिने बजार सञ्चालक चित्र लोप्चनले जानकारी दिए । बैंकले शुरु गरेको नगदरहित भुक्तानी सेवाले व्यवसायी तथा उपभोक्तालाई नगदको सुरक्षा गर्न र भुक्तानीमा सहजिकरण भएको उनले बताए ।


पुष्प दुलाल