अब लकडाउन हुँदैनः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् ।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताए ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए ।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र शुरु पनि गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

‘अब हामी आर्थिक, सामाजिक क्रियाकलापलाई शुरु र नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन,’ उनले थपे ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्दान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको उनको भनाइ छ ।

कोभिडपछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्दान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौं । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं,’ उनले भने ।

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्नेकुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

‘अहिले हामी दुई वटा कुरामा केन्द्रित हुन चाहिरहेका छौं । बजेटले राष्ट्रिय प्राथमिकतालाई ठीक ढङ्गले चिनेर आउँछ । राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठीक ढंगले निश्चित गरेर आउँछ । दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ । दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं । आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौं । बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो ।  त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ । यी दुईवटा चिजमा हामी केन्द्रित हुन्छौं ।’

कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।


क्लिकमान्डु