नबिल बैंकको निक्षेप ५ अर्बले बढ्दा एनआईसी एशियाको साढे ३ अर्बले घट्यो



काठमाडौं । पछिल्लो एकसातामा वाणिज्य बैंकहरुले १४ अर्ब ९ करोड रुपैयाँले निक्षेप बढाएर २३ अर्ब ३७ करोड कर्जा बढाएका छन् ।

चैतको पहिलो साता सबैभन्दा बढी निक्षेप बढाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप बढाएको छ । नबिल बैंकले असार मसान्तदेखि अहिलेसम्म १३ अर्ब ९३ करोड निक्षेप बढाएको छ । जसमा ४ अर्ब ८५ करोड रुपैयाँ पछिल्लो सातामा रहेको छ ।

नबिल बैंकले गतसाता निक्षेप बढाउनको लागि नबिल बैंकले मुद्दती निक्षेपमा ७.५१ प्रतिशत ब्याजदर दिन योजना सार्वजनिक गरेको थियो । नबिल बैंकको अहिले निक्षेप २ खर्ब ६ अर्ब रुपैयाँ छ भने कर्जा १ खर्ब ८६ अर्ब रहेको छ ।

नबिल पछि निक्षेप बढी बढाउनेमा कुमारी बैंक गत साता दोस्रो स्थानमा रहेको छ । कुमारी बैंकले ४ अर्ब ६५ करोड निक्षेप बढाएको थियो ।

सबैभन्दा बढी निक्षेप घट्नेमा गतसाता एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशिया बैंकको निक्षेप ३ अर्ब ६१ करोड रुपैयाँले घटेको छ । यद्यपी यो वर्षमा सबैभन्दा बढी निक्षेप र कर्जा बढाउनेमा एनआईसी एशिया पहिलो स्थानमा छ । एनआईसी एशिया बैंकले ७२ अर्ब ८५ करोड निक्षेप बढाएर २ खर्ब ८३ अर्ब पुर्याएको छ । यस्तै कर्जा असार मसान्तदेखि अहिलेसम्म ८० अर्बले बढाएर २ खर्ब ५४ अर्ब पुर्याएको छ ।

कर्जा तर्फ भने गतसाता सबैभन्दा बढी नेपाल बैंकले बढाएको छ । नेपाल बैंकले २ अर्ब ३३ करोड रुपैयाँले कर्जा बढाएको छ ।


क्लिकमान्डु