नविल बैंक सँधै बेटर छ, गलत प्राक्टिस गर्दैन: नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

क्लिकमान्डु २०७७ चैत ८ गते ११:५६ मा प्रकाशित

उपेन्द्र पौडेल बैंकिङ क्षेत्रमा परिचित नाम हो । सन् १९८६ मा तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर शुरु गरेका पौडेलले एनमबि फाइनान्सलाई एनएमबि बैंक बनाए । सन् २०१७ मा एनएमबि बैंकको सीइओबाट बाहिरिएका पौडेल अहिले नबिल बैंकको संचालक समितिको अध्यक्ष छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको जागिरे जीवन बिताएका पौडेलसँग बैंकका विभिन्न विभाग हुँदै प्रमुख कार्यकारी अधिकृतको अनुभव छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् उनी । बैंकिङ क्षेत्रमा देखिएको अहिलेको समस्या तथा नविलको आगामी रणनीतिका विषयमा केन्द्रित रहेर अध्यक्ष पौडेलसँग क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानीः

नेपालमा कोरोनाका प्रभाव देखिएको एक वर्ष पूरा भयो । यो अवधिमा सरकारले लामो समय पूर्णकालीन तथा आंशिक लकडाउन पनि गर्यो । नेपालको वित्तीय क्षेत्रले कोरोनाको महासंकटको सामना कसरी गरिरहेको छ ?

कोभिड १९ अनुमान नै गर्न नसकिने संकट हो । नेपालको होस् या विश्वको अर्थ व्यवस्थाका लागि हास् यो निकै ठूलो संकट हो । नेपालको कुरा गर्ने हो भने हामीले धेरै खाले संकट भोग्दै अघि बढेको इतिहास छ । माओवादी शशस्त्र द्धन्द्ध त्यो बेला ठूलो संकट थियो । मलाई अहिले पनि याद छ होटल चलाउन हामीले ऋण दिएका थियौं । होटल शुरु हुनासाथ माओवादी आन्दोलनका कारण पर्यटन ओरालो लाग्यो । होटल संचालकले होटलको आम्दानीबाट ऋण तिर्न सकेनन् । अन्य स्रोतबाट बैंकको ऋण तिरे । हामीले त्यो संकटलाई पनि व्यवस्थापन गरेर अघिबढ्यौं ।

त्यसपछि २०७२ सालको भूकम्पको संकट थियो । भूकम्प गएपनि सबै कुरा अन्योलमा थियो । धेरै कारोबार बन्द भए । त्यो बेला आर्थिक बृद्धि करिब शून्यमा पुगेको थियो । त्यसपछि भारतले नाकाबन्दी लगायो । त्यो बेला धेरै डर थियो । एकातिर भूकम्पले दिएको संकट, अर्कोतिर भारतले लगाएको नाकाबन्दी । हामीले त्यो संकटलाई पनि पार लगायौं । यीनीहरु भन्दा कोभिड १९ को संकट ठूलो हो । कोभिड १९ नेपालमा भित्रिएको एकवर्ष भइसकेको छ । यो बीचमा निकै ठूलो समस्या देखियो । अहिले केही क्षेत्र बाहेक सबै न्यू नर्मलमा गएको अवस्था छ ।

कोरोना प्रभावितलाई राष्ट्र बैंकले २०७८ असार मसान्तसम्मका लागि सहुलियत दिएको छ । प्रभावित क्षेत्रहरु पुनः राम्रोसँग चल्न सकेनन् भने राष्ट्र बैंकको सहुलियत अवधि सकिएपछि बैंकिङ क्षेत्रमा असर देखिन सक्छ । त्यसैले अहिले नै हामी ढुक्क भएर बस्ने अवस्था छैन ।

बैंकहरुको पुस मसान्तको रिपोर्ट हेर्दा हामीले यो अवस्थाबाट पार लगाउछौं भन्ने लाग्छ । कोभिड १९ नियन्त्रण गर्न लगाएको लकडाउनले आर्थिक गतिविधि पुरै ठप्प भए । खाद्यान्य बाहेक अन्य धेरै कामहरु प्रविधिमार्फत् भए । हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो ब्याकबोन भनेको पर्यटन र रेमिटेन्स हो । रेमिटेन्समा खासै असर परेन भने पर्यटनमा ठूलो असर देखियो । अर्को अनौपचारिक क्षेत्र पूर्णरुपमा ठप्प भयो । अनौपचारिक क्षेत्रले ५० प्रतिशत रोजगारी दिएको छ भनिन्छ । यसको असर अर्थन्त्रमा पर्ने नै भयो ।

अहिले देखिएको न्यू नर्मल हेर्दा बैंकिङ क्षेत्रले कोभिड १९ को संकटबाट पार पाएको हो ?

बैंकिङ क्षेत्रले कोरोनाको संकट पार पाएको छैन । अर्को वर्ष यसको असर देखिन्छ । बैंकले लगानी गरेका व्यवसायमा परेको असर नै बैंकिङ क्षेत्रमा परेको असर हो । अर्थतन्त्र चलायमान हुनका लागि माग बढ्नुपर्छ । अहिले माघ घटेको छ । जसकारण उपभोग पनि घटेको छ । जसले बिजनेशको क्षमतामा असर परेको छ । कोरोना प्रभावितलाई राष्ट्र बैंकले २०७८ असार मसान्तसम्मका लागि सहुलियत दिएको छ । प्रभावित क्षेत्रहरु पुनः राम्रोसँग चल्न सकेनन् भने राष्ट्र बैंकको सहुलियत अवधि सकिएपछि बैंकिङ क्षेत्रमा असर देखिन सक्छ । त्यसैले अहिले नै हामी ढुक्क भएर बस्ने अवस्था छैन ।

विदेशमा बैंकहरुले लोन लस ठूलो रकम छुट्याएका छन् । हामीभन्दा उनीहरु विकसित अर्थतन्त्र हुन् । हाम्रो अर्थतन्त्र ऋणात्मक जानबाट भने करिब जोगिएको छ । हामी वास्तविक संकटमा पुगेकै छैनौं । तर, हामीलाई ब्याक टु नर्मलमा आउन समय लाग्दैन । हरेक कुरालाई स्वीकार गरेर अघिबढ्ने हाम्रो बानी छ । अरु देशभन्दा हामीलाई कम असर पर्नसक्छ ।

गत असारदेखि फागुन मसान्तसम्म्को बैंकहरुको कर्जा प्रवाहको स्थिति हेर्दा कोरोनाको असर खासै देखिँदैन नि ?

अहिले बैैंकहरुले जुन ग्रोथ गरेका छन् । यो डरलाग्दो किसिमको देखिएको छ । यो प्राकृतिक देखिएको छैन । जु बेला अर्थतन्त्र संकटमा छ, त्यो बेला कर्जाको यो किसिमको बृद्धिदर कसरी भयो भनेर हामीले गंभीर सोच्नुपर्ने देखिन्छ । यो रकम कुन क्षेत्रमा गएको छ ? नचाहिने खालको काममा ऋणको रकम गएको छ कि छैन ? भनेर सिरियस्ली हेर्न जरुरी भइसकेको छ ।

नविल बैंकको कुरा गर्दा पनि असार मसान्तदेखि अहिलेसम्म आउँदा निक्षेप ९ अर्बले र कर्जा ३३ अर्बले बढेको छ । यो चाहीँ नर्मल हो कि एब्नर्मल ?

नविल बैंकको ग्रोथ हाम्रो रणनीतिअनुसार नै भएको हो । हाम्रो जुन कुरा पहिला भएको थिएन । त्यही अनुसार बढेको छ । हामी ५९ वटा शाखाबाट ११९ वटा शाखामा पुग्यौं । यो शाखा विस्तारको रिजल्ट अघिल्लो वर्षसम्म आएको थिएन । यो वर्ष देखिएको हो ।

ब्याजदरमा व्यवसायीले पर्याप्त लाभ पाएका छन् । बैंकले हिँजोका दिनमा १२ प्रतिशत ब्याजदरमा दिएको कर्जा अहिले ८ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । ४ प्रतिशत बिन्दुले ब्याजदर घट्यो भनेर कुनै व्यवसायीले आफुले उत्पादन गर्ने सामानको मूल्य घटाएको छैन ।

बैंकहरुले प्रवाह गरेको कर्जाको प्रभाव देशको आर्थिक बृद्धिमा देखिनुपर्छ । तर, यो आर्थिक बृद्धिदर खासै नहुने देखिन्छ । भनेपछि ऋणमा शंका गर्ने ठाउँ छ होइन ?

हाम्रो अर्थतन्त्र चलायमान बनाएको रेमिटेन्स, सर्भिस र टुरिजमले चलेको हो । अहिले बाहिरका पर्यटक आउने कुरा भएन । अहिले आन्तरिक पर्यटनले धानेको अवस्था छ । विदेशी पर्यटक नआउँदा उपभोग घटेको छ । ट्रान्सपोर्ट क्षेत्रमा त्यही किसिमको असर छ । अर्थतन्त्रको गतिविधि कम भएको बेला कर्जाको माग अत्याधिक छ । त्यो पैसा कहाँ गयो ? यो भने सोच्नुपर्ने विषय हो । अनुत्पादक क्षेत्रमा पैसा गएको देखिन्छ । आज कुनै व्यवसाय सामान्य चलेको छ । उसले बैंकबाट ऋण लिएर घरजग्गा र सेयर बजारमा हालेको छ । पछिल्लो समय बढेको ऋण जग्गा र सेयर बजारमा गएको सहजै अनुमान गर्न सकिन्छ ।

अनुत्पादक क्षेत्रमा कर्जा गएको छ भन्नुभयो । बैंकहरु किन संयमित हुन सकेनन् ?

यो प्रत्यक्षरुपमा सेयर बजार र घरजग्गामा गएको छैन । अप्रत्यक्षरुपमा गएको हो । बैंकको ब्याजदर सस्तो भयो । विगतमा पनि ब्याजदर सस्तो भएको बेला बढी लगानी घरजग्गा र सेयर बजारमा जाने र त्यो बजार बढ्ने गरेको छ । तर, हाम्रो अर्थतन्त्र अरुभन्दा भने फरक हो । हामीले कोभिड १९ को संकट पार लगायौं भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।

कोभिड १९ को संकटबाट वित्तीय क्षेत्रले सिकेको पाठ के हो ?

हामीले धेरै ठूलो पाठ सिकेका छौं । हामीले सोचेजस्तो जे कुरा पनि भइहाल्छ भन्ने हुने रहेनछ । अर्को आत्मविश्वास बढेको छ । बैंकिङ क्षेत्रलाई लागत घटाउनका लागि डिजिटलमा जानुपर्छ भन्ने सोचको विकास भएको छ । संचालन लागत घटाउन अब डिजिटलमा लगानी बढाउनुपर्ने छ । काम गर्ने शैलीमा परिवर्तन आएको छ । घरमा बसेर काम गर्न सकिने रहेछ भन्ने सिकिएको छ । कतिपय कर्मचारीलाई घरमा बसेर काम गर्ने वातावरण बनाउन सकिने रहेछ । यो कुरा पनि सोच्नुपर्ने हुन्छ । कोभिडपछिको वातावरणमा दीगो विकासलाई अगाडि बढाउने कुरा हामीलाई धेरै मद्दत पुग्नसक्छ । हामी पहिला आफू बन्नुपर्ने भन्ने थियो । अब अर्थतन्त्रका सबै कुराहरु बन्नुपर्ने रहेछ ।

आफूले गरेको कामलाई राम्रोसँग अध्ययन गरेर बस्नुपर्यो । व्यवसायमा हरेक खाले प्लान सोच्नुपर्ने हुन्छ । हामी वास्तविकरुपमा न्यू नर्मलमा गएपछि धेरै खाले सम्भावना खुल्ने छ । पर्यटनमा धेरै ठूलो बृद्धि हुने छ । त्यसपछि औद्योगिक प्रतिष्ठानहरुको लागत घटाउन डिजिटल प्रणालीले मद्दत पुग्ने छ । त्यसका लागि आजदेखि तयार भएर बस्नुपर्यो । सबैभन्दा ठूलो डिजिटलमा क्रान्ति नै आउने छ ।

प्रसंग बदलौं, चर्को ब्याज असूलेर बैंकहरु साहू-महाजनजस्तै बने भनेर व्यवसायीहरुले आरोप लगाइरहेका छन् । बैंकहरुले व्यवसायीलाई सहयोग नगरेकै हुन् ?

म यो कुरा मान्न तयार छैन । केही परियोजनामा ब्याजदर ठूलो इस्यु हो । उदाहरणका लागि जलविद्युत् र सिमेन्ट उद्योग होला या होटल हो, त्यहाँ ब्याजदर ठूलो कुरा हो । अरु व्यवसायमा ब्याजदर ठूलो कुरा होइन । कृषिमा हामीले ५ प्रतिशत ब्याजदरमा ऋण दिएका छौं । तर, यसको लाभ उपभोक्तालाई भएको छ त ? किसानले १२ रुपैयाँ बेचेपनि बीचमा तयार भएको अर्को वर्गले बढी फाइदा खाइरहेको छ ।

ब्याजदरमा व्यवसायीले पर्याप्त लाभ पाएका छन् । बैंकले हिँजोका दिनमा १२ प्रतिशत ब्याजदरमा दिएको कर्जा अहिले ८ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । ४ प्रतिशत बिन्दुले ब्याजदर घट्यो भनेर कुनै व्यवसायीले आफुले उत्पादन गर्ने सामानको मूल्य घटाएको छैन । बैंकले त निक्षेपको लागत घट्नासाथ कर्जाको ब्याजदर घटाएको छ ।

नविल अहिलेसम्म लिडिङ बैंक हो । तर, मर्जरबाट ठूलोब बनेका संस्थाहरुले विस्तारै नविलको नम्बर वानको ताज खोस्दैछन् । नविल बैंकले आफ्नो विरासत जोगाइराख्न कस्तो रणनीति अबलम्बन गरेको छ ?

हाम्रो सोचाई भनेको नविल बैंकलाई बेटर बैंक बनाउने हो । यो बैंक पहिला पनि बेटर थियो । अहिले पनि छ । र, भोलि पनि बेटर नै हुनेछ । विभिन्न सूचकमा लामो समयसम्म हामी पहिलो नम्बरमा थियौं । कतिपय सूचकमा अहिले पहिलो नम्बरमा छैनौं । जुन संस्था एक र दुई नम्बरमा छन्, उनीहरु अर्ग्यानिक ग्रोथबाट होइन । मर्जर र एक्विजेशन तथा बढी आक्रामक भएर भएको हो । दुईवटै खाले संस्थाहरुसँग हामीलाई तुलना गर्नु हुँदैन । मर्जरमा नगएरै पनि हामी पहिलो नम्बरमा छौं । पहिलो नम्बरमा जानका लागि हाम्रो सोच नभएको होइन । यसका लागि मर्जर तथा एक्वायर नै उपयुक्त बिकल्प हो ।

‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

नविल बैंकले मर्जर तथा एक्विजेशनक लागि कस्ता संस्था खोजेको हो ?

सबै कुरा मिले एक महिनाभित्र एक्विजेशनको गुड न्यूज सुनाउन सक्छौ भन्ने मलाई विश्वास छ । नविल बैंकको साधारणसभाले उपयुक्त बैंक तथा वित्तीय संस्था एक्विजेशन गर्ने निर्णय गरेको हो । हामीले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्ने वा प्राप्ति गर्ने निर्णय भने गरिसकेका छैनौं । तर केही वाणिज्य बैंक र विकास बैंकसँग कुराकानी भइरहेको छ ।

बजारमा नविल बैंकसँग नाम जोड्ने अनि सेयर मूल्य बढाउने खेल देखिन्छ । यो भने डरलाग्दो विषय हो । नविल राम्रो बैंक हो, योसँग जोडिन चाहने बैंक तथा वित्तीय संस्था धेरै छन् । जसकारण पनि सामान्य कुराकानी हुन नपाउँदै हल्ला बढी हुनेगर्छ ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

नलि बैंकले दीर्घकालिन बैंकिङ व्यवसाय गरेको छ । अल्पकालिन बृद्धिका लागि हामी हौसिएर अघि बढ्दैनौं । पहिलो नम्बरमा आउनका लागि मात्रै नविल बैंकले कुनै बैंक तथा वित्तीय संस्थालाई भित्र्याउँदैन । नविलको फोकस पु्रडेन्ट बैंकिङ गरेका संस्थासँग हुन्छ । बैंकमा लगानीकर्ताको १० देखि १२ प्रतिशतमात्र लगानी हुन्छ । बाँकी लगानी सर्वसाधारणको हुन्छ । यो विषयमा नविल बैंक संवेदनशिल छ ।

तपाईंहरु आफुले प्रुडेन्ट बैंकिङ गर्ने भनेर अरुलाई मूल्य नदिएर भित्र्याउन खोज्दा कुरा नमिलेको भन्ने चर्चा छ नि ?

होइन । सबैले आफूलाई राम्रो भन्ने हो । नविल बैंकको अध्यक्षको हिसाबले मैले नविल बैंकको जिम्मा लिने हो । मूल्य निर्धारण ड्यु डेलिजेन्श अडिट (डीडीए) रिपोर्टले गर्ने हो । हामीले हाम्रो भ्यालु राम्रो छ भनेर भन्ने हो । अरुको अण्डर भ्यालुएशन गर्ने होइन ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

काठमाडौं महानगरपालिकाले नविलमा रहेको ठूलो आकारको रकम एकैपटक झिक्यो । नविलले यसको व्यवस्थापन कसरी गर्यो ?

हामी सर्टेन लेभलमा मार्जिन राखेर काम गर्छौं । यो खालका अप्रत्यासित कुराहरु बजारमा हुन्छन् । हामीले यस्ता किसिमका संकटलाई व्यवस्थापन गर्न सक्छौ भनेर बस्नुपर्छ । भोलि संकट आउनसक्छ भनेर ब्याकअप प्लान बनाउनुपर्छ । हामीले एकैदिन ठूलो रकम निस्कँदा पनि त्यसको सहजै व्यवस्थापन गर्यौं । सायद नविल बाहेकको अर्को बैंकलाई यसको व्यवस्थापन गर्न ठूलै संकट पर्थ्यो ।

यो पटक ब्याजदर बढाउन नविल अगाडि देखियो । नविलकै कारण अन्तरबैंक ब्याजदर ४ प्रतिशतसम्म पुग्यो । महानगरले निक्षेप निकाल्दाको संकट व्यवस्थापन गर्न ब्याजदर बढाउनु परेको हो ?

नविलले मात्र होइन अरुले पनि ब्याज बढाएका छन् । दीर्घकालमा अहिलेको ब्याजदर रहने होइन । चैत मसान्तमा सरकारलाई कर तिनुपर्ने हुँदा तरलतामा चाप पर्छ । अहिलेको जस्तो सस्तो ब्याजदर सँधै रहँदैन ।

तपाईं लामो समय बैंकको सीइओ भएरा काम गर्नुभयो । अहिले अध्यक्ष हुनुहुन्छ । के फरक हुने रहेछ ?
मलाई कहिलेकाहीँ सीइओको बाटोमा खुट्टा राख्छु कि भन्ने डर लाग्छ । अनिलजीलाई भनेको छु- मैले  कहिलेकाहीँ सीइओको जस्तो भूमिका निर्वाह गरेँ भने मलाई सचेत गराउनू है । म सकेसम्म नविल बैंकमा संचालक समितिको बैठकमा मात्रै यो बैंकमा पाइला टेक्ने हो । सीइओ भएर बसेपछि व्यवसायको कुरा बुझेको हुन्छ । पूर्वसीइओहरु सञ्चालक समितिमा रहँदा निर्णय गर्न धेरै सजिलो हुने अनुभूति गरेको छु ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स