जीडीपीको आकार नजिक बजारपुँजीकरण, खर्बपति क्लबमा थपिए निफ्रा र ग्लोबल आइएमई बैंक
काठमाडौं । सेयर बजारमा बजारपुँजीकरण मुलुकको कुल गार्हस्थ उत्पादनको नजिक पुगेको छ । ३७ खर्ब रुपैयाँ रहेको कुल गार्हस्थ उत्पादन (जीडीपी)को नजिक अर्थात् बजारपुँजीकरण बिहीबार ३६ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । हाल जीडीपी ३७ खर्ब ६७ अर्ब छ ।
नेप्सेका अनुसार यो साता २ वटा कम्पनीको बजारपुँजीकरण १ खर्ब माथि पुगेको छ । यो साता ग्लोवल आइएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजारपुँजीकरण १ खर्बभन्दा माथि पुगको हो ।
आइपीओ जारी गरेपछि दोस्रो बजारमा आइतबारदेखि कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ दिनमै बजारपुँजीकरण १ खर्ब माथि पुर्याएको हो ।
हाल बजारपुँजीकरणका हिसाबले सबैभन्दा अगाडि नेपाल दूरसञ्चार कम्पनी छ । जसको बजारपुँजीकरण २ खर्ब ३२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी नबिल बैंकको बजारपुँजीकरण १ खर्ब ८४ अर्ब २७ करोड ३७ लाख ६५ हजार ३२८ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बजारपुँजीकरण १ खर्ब ६३ अर्ब ५१ करोड १३ लाख २७ हजार ७८४ रुपैयाँ पुगेको छ ।
त्यसैगरी अन्य कम्पनीमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको बजारपुँजीकरण १ खर्ब ५५ अर्ब ५० करोड रुपैयाँ, नागरिक लगानीकोषको बजारपुँजीकरण १ खर्ब ४१ अर्ब १४ करोड ६७ लाख ५३ हजार ५५० रुपैयाँ, एनआइसी एसिया बैंकको बजारपुँजीकरण १ खर्ब ११ अर्ब ३६ करोड १३ लाख ७३ हजार ९२८ रुपैयाँ पुगेको छ ।
आइतबारदेखि कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजारपुँजीकरण बिहीबार मात्रै १ खर्ब पुगेको हो ।
हाल बैंकको बजारपुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने यही साता ग्लोवल आइएमइ बैंक पनि बजारपुँजीकरणका हिसाबले १ खर्बभन्दा बढी हुने कम्पनीमा सामेल भएको छ । बैंकको हालको बजारपुँजीकरण १ खर्ब ५ अर्ब १३ करोड ३९ लाख ६१ हजार ६६४ रुपैयाँ पुगेको छ ।