७ वटा कम्पनीको आइपीओ र हकप्रद सेयरको आवेदन रद्द



काठमाडौं । समयमा नै कागजात नबुझाउने ७ वटा कम्पनीका आइपीओ र हकप्रद सेयर रद्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले आइपीओ र हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएर स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको आवेदन रद्द गरेको हो ।

बोर्डमा आइपीओ र हकप्रदका लागि आवेदन दिनेमध्ये ३ वटा कम्पनीको आइपीओ र ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासनका लागि आवेदन रद्द भएको हो ।

आइपीओ, एफपीओ, हकप्रद, डिबेञ्चर, म्युचुअल फण्ड जस्ता सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन दिएर माग गरिएको कागजात ६ महिनासम्म पनि पेश नगर्ने कम्पनीको आवेदन पाइपलाइनबाट हटाइएको धितोपत्र बोर्डका सह–प्रवक्ता रुपेश केसीले जानकारी दिए ।

पाइपलाइनबाट हटने कम्पनीमा इमर्जिङ नेपाल, तेह्रथुप पावर कम्पनी र शुभम् पावर कम्पनी छन् । इमर्जिङ नेपालले ५ लाख कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता र शुभम् पावर कम्पनीको ५ लाख ८० हजार ५८० कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका थिए ।

बोर्डले इर्मजिङ नेपाललाई ०७६ साउन ५ गते, हिमालयन हाइड्रोपावरलाई ०७६ असोज १४ गते, तेह्रथुम पावर कम्पनीलाई ०७५ असार १२ गते र शुभम् पावरलाई ०७५ फागुन ५ गते रिभ्यु एण्ड कमेन्ट गरिसकेको थियो ।

रिभ्यु एण्ट कमेन्ट गरेपछि बोर्डले आवश्यक कागजात कम्पनीसँग माग गर्छ र त्यसमा कम्पनीले माग गरिएको कागजात पठाउनु पर्ने हुन्छ । तर यी कम्पनीहरुले त्यसमा आवश्यक ६ महिनासम्म पनि नपठाएको हुँदा पाइपलाइनबाट हटाइएको बोर्डका सह–प्रवक्ता केसीले बताए ।

कुनै पनि कम्पनीको ६ महिनामा अर्धवार्षिक वित्तीय विवरण समेत परिवर्तन हुने हुँदा बोर्डको कमेन्टमा ६ महिनासम्म पनि रिप्लाइ नगरेमा सो आवेदनलाई स्वत्ः बोर्डले पाइपलाइनबाट हटाउने व्यवस्था एक साता अघि गरिएको उनले जानकारी दिए ।

त्यस्तै राइट सेयर जारी गर्ने बोर्डको स्वीकृतिको पाइपलाइनबाट हटेका कम्पनीहरुमा हाइड्रोइलेक्ट्रिसिट इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, म्यादी पावर ग्रुप, वरुण हाइड्रो पावर र श्रीराम सुगर मिल्स छन् ।


क्लिकमान्डु