सेयर बजारमा विद्युतीय भुक्तानीको सीमा हटाउने तयारीमा धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गरे वापत विद्युतीय भुक्तानीको सीमा हटाउने तयारी गरेको छ । हाल सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १० लाख रुपैयाँ राष्ट्र बैंकले निर्धारण गरेको छ ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै बोर्डले सेयर कारोबारमा सीमा नलाग्ने व्यवस्था गर्ने अनुरोध गरेको छ ।

बोर्डले केन्द्रीय बैंकमा माघ २९ गते पत्र पठाउँदै भनेको छ– ‘अनुमति प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत् धितोपत्र कारोबार गरेवापत धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई बिक्री गरे वापत रकम भुक्तानी गर्दा टिएमएस अनलाइन बैंकिङ उपयोग गरी भुक्तानी गर्दा १० लाख रुपैयाँको सीमाले विद्युतिय कारोबारमा समस्या आएको गुनासो प्राप्त भएको हुँदा धितोपत्र सम्बन्धी कारोबारको विद्युतिय भुक्तानीको सीमा ननाघ्ने व्यवस्था लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

गत असारमा राष्ट्र बैंकले सेयर कारोबारको मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । तर सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव सरोकारवाला निकायले दिँदै आएका छन् भने, सोही सीमालाई हटाउने तयारी धितोपत्र बोर्डले गरेको हो ।


क्लिकमान्डु