नेपाल र भारतबीच व्यापार सहजीकरण र लगानी विस्तारबारे परिसंघ र भारतीय दूतावासबीच छलफल
काठमाडौं । नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी बिस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच आज परिसंघको कार्यालय थापाथलीमा छलफल भएको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई सम्बोधन गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ ।
नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरु आवद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको बताए । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो ।
नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानु पर्ने धारणा परिसंघले राखेको छ ।
नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकाले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकाले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नु पर्ने तर्क परिसंघको छ ।
दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकाले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताउनु भयो । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने बताए ।
नेपालमा भारतीय लगानी बिस्तार गर्नका लागि दुतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे ।
लगानीको वातावरण तयार गर्नका लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ ।
उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटी, गार्मेण्ट, शिक्षा, औषधि उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।
नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट भारतलगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र बीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।