५० मा किनेको पेट्रोल ११० रुपैयाँमा बेच्दा पनि निगम घाटामा, लिटरमा ५४ रुपैयाँ त कर मात्रै



काठमाडौं । भारतबाट ५०.२५ रुपैयाँमा किनेको पेट्रोल ११० रुपैयाँमा बेच्दा पनि नेपाल आयल निगम घाटामा गएको छ ।

पछिल्लो समय भारतीय आयल निगमले पठाएको मूल्यसूची अनुसार आयल निगमले पेट्रोल ५० रुपैयाँ २५ पैसामा खरिद गर्छ । उपभोक्तालाई प्रतिलिटर ११० रुपैयाँमा बेच्दा निगम पछिल्लो समय घाटामा गएको छ ।

पछिल्लो मूल्य अनुसार बेच्दा निगमलाई लिटरमा ५ रुपैयाँ २१ पैसा घाटा लागेको छ ।

निगमले ५० रुपैयाँ २५ पैसामा किनेपनि सरकारले लिने विभिन्न करको कारण पेट्रोलियम पदार्थको मूल्य महंगो पर्छ ।

सरकारले १ लिटर पेट्रोलमा २५ रुपैयाँ २० पैसा भन्सार शुल्क लिन्छ । त्यसपछि ०.०२५ रुपैयाँ भन्सारको सेवा शुल्कको रुपमा लाग्छ । सडक मर्मत शुल्कका नाममा ४ रुपैयाँ लिन्छ भने प्रदुषण शुल्क भनेर १ रुपैयाँ ५० पैसा लिटरमा तिर्नुपर्छ ।

त्यसबाहेक १० रुपैयाँ पूर्वाधार कर लिन्छ भने १२ रुपैयाँ ६५ पैसा मूल्य अभिबृद्धि करको रुपमा बुझाउनुपर्छ । यसरी उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रुपैयाँ ४७ पैसाँ सरकारलाई करमात्र बुझाउनुपर्छ ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका बेला करको बोझ थप्दा त्यसको फाइदा भने सर्वसाधारणले उठाउन सकेनन् ।

५२ रुपैयाँ ३९ पैसामा आयल निगमले खरिद गरेको डिजेल अहिले ९३ रुपैयाँमा बिक्री गरेको छ । जसमा सरकारले ३७ रुपैयाँ कर लिन्छ ।

उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रुपैयाँ भन्सार कर,०.०२५ रुपैयाँ भन्सार सेवा शुल्क, सडक मर्मत शुल्क वापत २ रुपैयाँ, पीएसएफ अन्तर्गत ०.९३ रुपैयाँ तिनुपर्छ । १०.६९ रुपैयाँ थप भ्याट वापत १ लिटर डिजेलमा उपभोक्ताले सरकारलाई बुझाउनुपर्छ ।

सरकारलाई बुझाउने कर तिरेपछि पेट्रोलमा उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा बुझाउनुपर्छ । ६८ पैसा थप निगमको प्रशासनिक खर्च, बीमा खर्चसहित तिनुपर्छ । १२ पैसा निगमको प्राविधिक नोक्सानीका लागि तिनुपर्छ । ह्रास खर्चवापत १ रुपैयाँ ७२ पैसा तिर्नुपर्छ । निगमले १ लिटर पेट्रोलमा आफ्नो विभिन्न खर्च वापत ४ रुपैयाँ ५७ पैसा लिन्छ ।

यसरी काठमाडौंसम्म १ लिटर पेट्रोल ल्याउनका लागि ४ रुपैयाँ ५७ पैसा खर्च हुन्छ भने पेट्रोल पम्पले ४ रुपैयाँ ३४ पैसा १ लिटरमा कमिसन अन्तर्गत लिन्छन् ।

साउदी अरबले उत्पादन कटौती गर्ने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिसकेको छ । विगतमा अत्यधिक कर लगाएको सरकारलाई अन्तर्राष्ट्रिय मूल्यअनुसार बढाउनका लागि थप चुनौती थपिने देखिएको छ ।

निगमले आगामी १५ दिनमा मात्रै ४६ करोड ६६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ । निगमलाई १५ दिनमा पेट्रोलमा १५ करोड ६४ लाख, डिजेलमा २५ करोड २३ लाख, खाना पकाउने एलपी ग्यासमा १९ करोड ३६ लाख रुपैयाँ घाटा हुने अनुमान गरेको छ ।

निगमलाई अहिले मट्टितेल र हवाई इन्धनमा भने फाइदा छ । खाना पकाउने ग्यासमा घाटा भएपनि पेट्रोल र डिजेलको फाइदाबाट कभर भए पनि अहिले पेट्रोल र डिजेलमा समेत नोक्सानी हुँदा समस्या देखिएको छ ।

भारतमा भन्दा नेपालमा सस्तो
भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतमा हरेक दिन नै उपभोक्ता मूल्य समायोजन हुनेगर्छ । भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल १ लिटरको मूल्य ८६.३४ भारतीय रुपैयाँ छ । नेपाली रुपैयाँमा हेर्दा यो भनेको १३८ रुपैयाँ ७० पैसा हो । नेपालमा काठमाडौंमा प्रतिलिटर ११० रुपैयाँ पेट्रोलको मूल्य पर्छ । अर्थात भारतको राजधानी नयाँ दिल्लीभन्दा काठमाडौंमा पेट्रोलको मूल्य २८ रुपैयाँ ७० पैसा सस्तो पर्छ ।

डिजेलको मूल्य नयाँ दिल्लीमा ७७.१३ भारतीय रुपैयाँ छ । नेपालीमा १२३ रुपैयाँ ४० पैसा हुन्छ । काठमाडौंमा ९३ रुपैयाँमा डिजेल पाइन्छ । नयाँ दिल्लीभन्दा काठमाडौंमा ३० रुपैयाँ ४० पैसा डिजेलको मूल्य सस्तो छ ।

डिजेल र पेट्रोलको मूल्य भारतमा भन्दा नेपालमा सस्तो हुँदा यहाबाट भारततर्फ चोरी निकासी हुने खतरा बढी छ ।


क्लिकमान्डु