झ्याप झ्याप बिजुली काटिएपछि कुलमानलाई खोज्दै उपभोक्ता, किन भइरहेको छ यस्तो ?



काठमाडौं । ‘आजकल छोटो समयका लागि भए पनि दिनको २-३ पटक बिजुली जाने आउने गरेको छ । प्राविधिक कारण भनिएला, तर स्पष्ट व्यवस्थापकीय कमजोरी देखिन्छ । यसले गर्दा असुविधा त छ नै, विद्युतीय सामानहरू पनि छिटै विग्रने हुन्छ । सम्बन्धित निकायको ध्यान पुगोस ।’

यो भनाई हो पूर्वाधार विज्ञ सूर्यराज आचार्यको । उनले मंगलबार बिहान सामाजिक सञ्जाल टवीटरमा ट्वीट गर्दै पछिल्ला दिनमा अघोषित रुपमा भइरहेको लोडसेडिङको बारेमा आक्रोश पोखेका छन् ।

नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई कुनै पनि जानकारी नै नदिइकन अनावश्यक रुपमा बिजुली काटने गरेको छ । यो समस्या राजधानी काठमाडौंमा मात्रै नभई देशभर नै उस्तै रहेको छ ।

प्राधिकरणमा प्रभावकारी नेतृत्व नहुँदाको दुःख भने उपभोक्ताले पाउनु परेको छ । प्राधिकरणका वितरण केन्द्र प्रमुखलाई कुनै पनि स्पष्ट निर्देशन नभएको तथा चल्ते चलातेमा नेतृत्व लागेको भन्दै जनस्तरमा आक्रोश पैदा भएको छ ।

पूर्वाधार विज्ञ आचार्यको ट्वीटमा मात्रै १२ जनाले प्रतिक्रिया जनाएका छन् । उनीहरुले देशव्यापी रुपमा अघोषित लोडसेडिङ गरिएको भन्दै प्राधिकरण र ऊर्जा मन्त्रालयले ध्यान दिन नसकेको बताएका छन् । इन्भटर व्यापारी कति खुसी भएका होलान् है भन्दै उनीहरुले जिज्ञासा समेत राखेका छन् ।

कर्स नामका एक ट्वीटर प्रयोकगर्ताले प्राधिकरणले उपयुक्त स्थानमा ट्रान्सफर्मर राख्न नपाउँदा ट्रिप भएर बत्ती गएकोबताएका छन् । उनले सम्भव हुने ठाँउमा नयाँ ट्रान्सफर्मर राख्न दिन भनेका छन् ।

यस्तै सुमन न्यौपाने भन्छन् ‘ बच्चाहरुको अनलाइन क्लास हुन्छ, बत्ती काट्दै दिँदै गर्यो भने इन्टरनेट आउन १० मिनेट जति लाग्छ । इन्भटर राख्न बाध्य बनाइदैछ । उनीहरुलाई यो थाहा पाएर हो कि नपाएर हो, बत्ती झ्याप झ्याप भै राख्छ । बत्ती काटिएको क्षतिपूर्ति कतै दावी गर्ने कानून छ कि ? त्यो भए सिस्टम राम्रो हुन्थ्यो कि ?

अच्यूतप्रसाद ढुंगानाले त ‘ यो प्राविधिक कारण मात्र होइन । खराब नियत र ग्राहकहरुप्रति गरिएको घात’ भएको बताउँछन् । उनले हजारै लाखौ. हालेर जीवनमा बल्ल्बल्ल थपिएका विद्युतीय सरसामान बिग्रनुु दुःखद अवस्था भएको बताए ।

प्राविधिक कमजोरी मात्रै होइन शासकीय लापरवाही र भ्रष्टाचार समेत घालमेल भएर सप्लाईमा अवरोध भएको हुनुपर्छ भन्दै नेक्ट एंगल नामका ट्वीटर प्रयोगकर्ताले प्राधिकरणभित्र भ्रष्टाचार मौलाएको गुनासो गरेका छन् ।

उपभोक्तालाई इन्भटर खरिद गर्न बाध्य पार्ने नियतका साथ बिजुली काटिएको बताउनेहरु पनि कम्ती छैनन् । एक प्रयोगकर्ता भन्छन् ‘ मलाई त यस्तो लाग्यो, यसरी बीच बीचमा लाइन काटिदिएपछि, चाहे १ मिनेट होस । यसले उपभोक्तालाई हानी पक्क गर्छ । अनि उपभोक्ता आजित भएर इन्भटरलाई बाध्य हुन्छ । यो त नियोजित जस्तो लाग्यो, इन्भटर किन्न प्रोत्साहन गरे जस्तो ।’

गिरिशप्रसाद पोखरेलको विचारमा झवाट्टै लोडसेडिङ शुरु गर्दा जनता आत्तैलान भनेर विस्तार विस्तार बानी पारेको होला । लोडसेडिङको बानी पार्ने टेक्निक हो यो ।

राजा नामका ट्वीटर प्रयोकगर्ताले कुलमान घिसिङ जिन्दावाद भन्नुपर्ने बेला भयो फेरी भनेका छन् ।

नगरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे समेत अघोषित लोडसेडिङको कारण हैरान भएका छन् । उनले समेत सोमबार ट्वीट मार्फत किन यस्तो भइरहेको छ भनेर प्रश्न गरेका छन् ।

जथाभावी बत्ती जान थालेपछि नागरिक आन्दोलनको अगुवाका छवि बनाएका डा. पाण्डेले नयाँ उर्जामन्त्रीका नाममा एक सूचना जारी गरेका छन् ।

आफ्नो एक ट्वीटमा उनले लेखेका छन् – बत्ती अहिले साँझ पनि गयो । नयाँ उर्जा मन्त्रीलाई सूचना । हिजो मात्रै पनि उनले एक ट्वीट गर्दै लेखेका थिएः यो अघोषित लोडसेडिङको जमाना हो । कि होइन ?

पछिल्ला दिनमा प्राधिकरणले कुनै जानकारी नै नदिई बिजुली काटने गरेको छ । कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदासम्म उपभोक्ताले यस्तो समस्या भोग्नु परेको थिएन ।

जाडो महिनामा समेत सहज रुपमा बत्ती बाल्न पाएका थिए । धेरैले त्यसलाई कुलमानको कार्यकुशलता र इमान्दारिताको पहिचानको रुपमा बुझेका थिए । गत भदौ २९ गतेदेखि प्राधिकरणको नेतृत्व तदर्थवादमा चलीरहेको छ ।

पहिलो चरणमा प्राधिकरणका डिएमडी लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइयो । त्यसपछि प्राधिकरणका अर्का डिएमडी हितेन्द्रदेव शाक्यलाई शुरुमा निमित्त र एक सातामा नै कायमकुमायम कार्यकारी निर्देशक बनाइएको छ ।

शाक्य आफू आफनो काम इमान्दार भएर गर्ने भएपनि सामूहिक रुपमा काम गर्ने स्वभाव कम भएका कारण आलोचनाको शिकार बन्दै गएको बताइन्छ ।

वितरण केन्द्र प्रमुखले समेत पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि कुनै पहल गरेका छैनन् । कुनै स्थानमा समस्या भयो भने तत्काल गएर मर्मत सम्भार गर्ने तर्फ प्राधिकरणले ध्यान नदिएको बालाजुका उपभोक्ता रामकुमार आचार्यको भनाइ छ । ‘ मेरो टोलमा कत्ती बिग्रेको ३ दिन भयो, आजसम्म प्राधिकरणका कुनै पनि कर्मचारी मर्मतका लागि आएका छैनन ’ उनले भने ।

प्राधकिरणका अनुसार गत वर्षको तुलनामा यस वर्ष बिजुलीको माग झण्डै १०० मेगावाटको हाराहारीमा बढेको पाइएको छ । हाल बिजुलीको माग बढेर १ हजार ४३० मेगावाट पुगेको छ । गत वर्षको यही समयमा बिजुलीको माग १ एक हजार ३४० मेगावाट रहेको थियो । जाडोको समयमा स्वभाविक रुपमा बिजुलीको माग बढ्छ ।

चिसो बढ्दै गएकाले बिजुलीको माग थप वृद्धि हुने अनुमान गरिएको छ । हाल प्राधिकरणका आयोजनाबाट मात्रै ५१६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै ऊर्जा उद्यमीका आयोजनाबाट ३१५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । भारतबाट झण्डै ६०० मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको छ ।

प्राधिकरणका अनुसार सोमबार मध्यमस्र्याङदी जलविद्युत् आयोजनामा प्राविधिक समस्या आउँदा देशभरको प्रणालीमा नै समस्या खडा भएको थियो ।


पुष्प दुलाल