कोरोनामा पनि फलिफापः चिनियाँ अर्थतन्त्रमा आश्चर्यजनक वृद्धि, ७ वर्षभित्र नम्बर वान बन्दै



एजेन्सी । कोरोना कहरमा संसारका आर्थिक शक्ति सम्पन्न देशहरु नै आन्तरिक समस्यामा परेको बेला एक मात्र देश त्यस्तो रह्यो, जहाँ समस्याले थप शत्तिः पैदा गरिदियो ।

हुन त अघिल्लो वर्षको अन्त्यमा नै चीनबाट कोरोना फैलियो । कोरोनाको उत्पतिका बारेमा फरक फरक अनुमान गरिएका छन् । जे होस् चीनको उहानबाट शुरु भएको कोरोना भाइरसले संसारलाई नै तवाह बनाएको छ ।

एक वर्षको अवधिमा अमेरिका, यूरोप, बेलायत, जापान जस्ता शक्ति सम्पन्न भनिएका देशको अवस्था समेत भयावह बनाइदियो । तर, सोही देश जो कोरोना उत्पति भएको भनिएको थियो ।

सोही देश ले नै आर्थिक विकासमा राम्रै प्रगति गरेको छ । अन्य देशको अर्थतन्त्र शिथिल भएको बेला बहुराष्ट्रिय संस्थाको प्रतिवेदनलाई आधार मान्ने हो भने चीनको आर्थिक वृद्धिदर औसतमा ३ प्रतिशतको हाराहारीमा रहेको छ ।

सोही आधारमा चीनको अर्थतन्त्र सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान सार्वजनिक भएको छ ।

कोरोनाकालमा नै चीनका झण्डै १ हजार जना नयाँ अर्बपति थपिने अनुमान पनि आएको छ । निकी संसारभर नै यतिबेला स्वास्थ्य सामग्री उत्पादन, व्यापार र विस्तारमा चिनियाँ व्यापारी आक्रामक रुपमा लागेका छन् । सोही कारण अर्बपतिको संख्यामा उल्लेख्य वृद्धि हुने देखिएको छ ।

सोही आधारमा अबको ७ वर्षपछि अर्थात् सन् २०२८ मा चीन संसारको ठूलो र १ नम्बर अर्थतन्त्र भएको देशमा रुपान्तरित हुनेछ । उसले अब सहजै रुपमा अमेरिकालाई जित्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने अवस्था सिर्जना भएको छ ।

चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका विवरण सार्वजनिक भएको छ । बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो रहेको जनाइएको छ ।

सेन्टरका अनुसार कोभिड १९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ । भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ।

भारतले सन् २०१९ मा बेलायतको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड १९ का कारण फेरि पछाडि परेको छ।

भारतले सन् २०२४ मा बेलायतलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ। सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ।

चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन।

यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ।

कोरोनाका कारण अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ। त्यहाँ भाइरस जोडिएका घटनामा ३ लाख ३० हजार मानिसको ज्यान गएको छ । यस्तै १ करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा १ करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड १९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुने जनाइएको छ।

सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ। चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड १९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए।


पुष्प दुलाल