पदबहाली गर्दै ऊर्जामन्त्री रायमाझीले भने -एमसिसी देशको हितमा छ, विवाद गर्नुको अर्थ छैन



काठमाडौं । दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका टोपबहादुर रायमाझीले एमसिसीको विषयमा मुख खोलेका छन् ।

नेपालमा एमसिसीको बारेमा पक्ष र विपक्षमा चर्को बहस भइरहेको बेला उनले उक्त परियोजना नेपालको हितमा रहेको बताएका हुन् ।

उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।

उनले भने ‘ एमसिसी नेपालको हितमा छ । यसकाबारेमा अनावश्यक टिका टिप्प्णी नगरौ । विवाद सिर्जना गरेर काम छैन । अब यसलाई कार्यान्वयनमा लैजानुपर्छ ।’

नेकपा भित्र एमसिसीलाई हेर्ने विषयमा चर्को विवाद भएपनि आयोजना अगाडि बढ्ने वा नबढ्ने भन्ने विषयमा आशंका पैदा हुँदै आएको थियो । पछिल्लो पटक सत्तारुढ नेकपा दुई टुक्रामा विभाजित भएपछि अब सो परियोजनालाई अगाडि बढाउने तयारी गरिएको संकेत समेत मन्त्री रायमाझीले गरे ।

कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन तथा झण्डै १०० किलोमिटर सडक परियोजना एमसिसी मार्फत कार्यान्वयनमा जान लागेको छ । झण्डै ६५ अर्ब बराबरको लगानी त्यसमा हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रुपमा उनले आइतबार पद बहालाी गरेका हुन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले भने ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।’

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना समेत सुनाए । सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र सिँचाइ सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे  जानकारी गराएका थिए ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा उपप्रधान एवम् ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका रायमाझी पुनः दोस्रो पटक सोही मन्त्रालय सम्हाल्न आइपुगेका छन् । अघिल्लो पटक उनले आफनो कार्यकालमा ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना ल्याएका थिए ।

सोही कार्ययोजनाका आधारमा लोडसेडिङको अन्त्य भएको थियो । सोही कार्ययोजना अनुसार नै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेका हुन् ।


पुष्प दुलाल