तिव्र गतिमा फैलदै नयाँ कोरोना भाइरस, यात्रामा प्रतिबन्ध लगाइदै, नेपाल समेत उच्च जोखिममा



काठमाडौं । संसारभर नै नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ । १ वर्ष पहिले चीनको उहानबाट शुरु भएको कोरोना भाइरसका कारण संसारभर नै मानवीय जीवन र अथृतन्त्र नै सखाप पारिरहेको बेला अर्को खालको भाइरस देखा परेको हो ।

पूरानै भाइरसको खोप तथा उपचार प्रणालीमा नयाँ खालको विकास गर्न समय लागिरहेको बेला नयाँ भाइरसले थप समस्या निम्त्याउने आशंका पैदा भएको छ । छिटो सर्ने खालको सो भाइरसका कारण संसारभर नै थप समस्या पैदा हुने अवस्था देखा परेको छ ।

कोरोना भाइरसले मानवीय सम्पर्कपछि नयाँ खालको जीन विकास गरेको बताइन्छ । बिबिसीका अनुसार नयाँ भाइरसका कारण जापानमा पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ।

अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड १९ को नयाँ प्रकार बेलायत बाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ।

स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ ।

अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए।

जापानमा सबैभन्दा पहिले बेलायतबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो। त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ। यस्तै जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ ।

फ्रान्समा १९ डिसेम्बरमा बेलायतबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले यूकेसँग सीमा बन्द गरेको थियो । तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवार युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो।

प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन यूकेको केन्टमा दिन बिताएका थिए। यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो।

यसैबीच कैयौँ युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन्। त्यस्तो काम आइतवारबाट पूरै युरोपेली सङ्घमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो। जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै जेष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो।

हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप पाउने व्यक्ति एकजना चिकित्सक भएको जनाएको छ स्लोभाकियाले समेत खोप दिने काम सुरु गरेको जनाएको छ।

युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी मनाउँदै त्यसलाई आफूहरूको एकताको मार्मिक क्षणु बताएकी छन्। वैज्ञानिकहरूले यूकेको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताउँछन्।

विज्ञहरूका अनुसार नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए तापनि त्यो सङ्क्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहीँ छैन। नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो।

केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ। स्पेनमा कम्तिमा ७ जनामा भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ। यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ । प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ। विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्। बिबिसीबाट


पुष्प दुलाल