म्याग्दीमा ३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी



काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए ।

‘बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेका छौं’, उनले भने, ‘मनसुन अघिसम्म विद्युतगृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ । थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।’

आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ ।

म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ ।

३ किलोमिटर ५ सय ५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।

आउटलेटबाट विद्युतगृहसम्म ७ सय ९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।

धवलागिरि गाउँपालिका–४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए ।

‘वर्षौँअघि पिपिए गरेर जेनेरेशन लाइसेन्स लिएर बसेका आयोजना सबस्टेशन र प्रसारण लाइन निर्माण शुरु हुन थालेपछि सक्रिय भएका छन्,’ उनले भने, ‘जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका बस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा छ ।’

गाउँपालिकाले यस वर्ष पहुँचमार्गमा पर्ने खाराबाट खाम्ला जोड्ने सडक निर्माण गर्न ठेक्का लगाइसकेको छ ।

सार्वजनिक सुनुवाइमा आयोजना प्रभावित खाम्लाका रेशमबहादुर पुन, चेचुङका चक्रबहादुर घर्ती, कुलबहादुर घर्तीलगायतले वातावारणीय असर न्यूनीकरणमा ध्यान दिन, छिटो आयोजना निर्माण शुरु गर्न र स्थानीयवासीलाई रोजगारीको अवसर दिन सुझाव दिए ।

परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसुनका शंकर बस्यालले सात अर्ब १० करोड लागत अनुमान गरिएको आयोजनाको २०७८ पुसमा सुरुङ निर्माण सुरु गरी तीन वर्षमा सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत ६ करोड बढी लगानी हुने बस्यालले बताए ।

धवलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार आयोजनाले निर्माणको अनुमति पाएका छन् ।

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४।७० मेगावाट क्षमताको मुदीखोला र ५७।३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।

धवलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको दुई वर्षअघि शिलान्यास गरे पनि गति लिनसकेको छैन ।

धवलागिरि गाउँपालिकामा २३।७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजाखोला, १२.७३ मेगावाट क्षमताको अपरमुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् ।

नेपाल विद्युत् प्राधिकरणले डाँडाखेत र राहुघाटमा सबस्टेशन तथा प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको जनाएका छन् । रासस


पुष्प दुलाल