यी हुन् सबैभन्दा बढी लाभांश दिने १० कम्पनी



काठमाडौं । तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ ? पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।

साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी मार्केटमा सर्ट टर्म काराबार गर्दा हुने प्रतिफल ।

सेयर लगानीकर्ताका लागि पहिलो रोजाईको कम्पनीले प्रत्येक वर्ष दिने लाभांश । किनभने बढी लाभांस दिने कम्पनीमा लगानी गरेर ढुक्कले बस्ने हो भने बोनस सेयरमार्फत् आफ्नो स्वामित्व र सम्पत्ति पनि बढिरहन्छ । र, वर्षेनि नगद पनि आइरहन्छ । वास्तविक प्रतिफल पनि यही हो ।

दोस्रो बजारमा कारोबार गरेर कमाउनका लागि धेरै जोखिम लिनुपर्छ ।

त्यसैले तपाईंहामी सबैले सेयर किन्नुभन्दा अघि त्यो कम्पनीको लाभांशको इतिहास र भावी संभावनाको अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।

कुनै पनि सूचिकृत कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दा हामी सबैको ध्यान नाफातिरै जान्छ । किनभने कम्पनीले जति धेरै नाफा कमायो तपाईंहामीले त्यति नै धेरै लाभांश पाउँछौं ।

आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीहरुको चर्चा गर्न गइरहेका छौं ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले अहिलेसम्म ९४ वटा संस्थाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये मुख्य १० कम्पनीमा एउटा वाणिज्य बैंक, एउटा बीमा कम्पनी ५ वटा माइक्रोफाइनान्स, दुई वटा उत्पादन तथा प्रशोधन समूहका र एउटा जलविद्युत कम्पनी रहेका छन् ।

दुई वटा कम्पनीले १०० प्रतिशत लाभांश दिने भएका छन् ।

यूनिलिभर नेपाल र हिमालयन डिस्टिलरीले १०० प्रतिशत लाभांश दिने भएका हुन् । यूनिलिभरले १०० प्रतिशत नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्टिलरीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगदसहित १०० प्रतिशत लाभांश दिने भएको छ ।

अहिलेसम्म लाभांश घोषणा भएका कम्पनीमा तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा चौथो नम्बरमा नविल बैंक रहेको छ । नविलले ३३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

धेरै लाभांश दिने टप टेन कम्पनीको सूचीमा ५ वटा माइक्रोफाइनान्स रहेका छन् ।

वोमी माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस सेयर दिएको छ ।

त्यसैगरी, छिमेक लघुवित्त विकास बैंकले ७ प्रतिशत नगद र २२ प्रतिशत बोनससहित २९ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित १.४५ प्रतिशत नगद लाभांश सहित २८.९२ प्रतिशत, समता माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांश दिने भएका छन् । समताको २० प्रतिशत बोनस र त्यसमा लाग्नेकरसहित ६.३२ प्रतिशत नगद र साना किसान विकास बैंकले दिन लागेको २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद रहेको छ ।

त्यसैगरी, बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने भएको छ ।

हालसम्म नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्म साधारणसभा घोषणा गरेको छैन । लाभांश घोषणा गरेका कम्पनीमा यूनिलिभर नेपालले यसअघि नै साधारणसभा गरिसकेको छ । बाँकी रहेका कम्पनीमा अधिकांशको साधारणसभा पुस २९ मा हुने घोषण गरिसकेका छन् ।


पुष्प दुलाल